विकास अधिकारी
पश्चिम नवलपरासी, साउन १९ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सुरु गरेको गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०८१–८२ को एक वर्षको अवधिमा १ हजार ५ सय ७७ जना गर्भवतीले निःशुल्क भिडियो एक्सरे सेवा लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा कुल ८ सय ८२ जनाले उक्त सेवा लिएका थिए । साप्ताहिक रुपमा स्वास्थ्य संस्थामा निःशुल्क रुपमा सुरु गरिएको अल्ट्रासाउन्ड सेवा ग्रामिण भेगका महिलाका लागि निकै लाभदायी बनेको छ । नगरपालिकाले घरदैलो भिडियो एक्सरे कार्यक्रम अन्तर्गत नगरभित्रका ८ वटा स्वास्थ्य संस्थाबाट गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्दैआएको छ ।
परासी तथा भैरहवासम्म भिडियो एक्स—रे का लागि जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै सरकारी स्वास्थ्य संस्थाबाट सेवा पाएपछि स्थानीय खुशी भएका छन् । रामग्राम नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले परासी तथा बुटवल भैरहवा जानु नपर्दा समयको पनि बचत भएको र नियमित स्वास्थ्य जाँच नगर्ने महिलाहरु पनि जाँचको दायरामा आएको जानकारी दिनुभयो ।
नगरपालिकाले ग्रामीण भेगमा नियमित गर्भ जाँच नगराउने समस्यालाई मध्यनजर गर्दै उक्त सेवा सुरु गरेको जनाएको छ । नगर प्रमुख धनपत यादवले भन्नुभयो, “विशेषगरी गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच नगराउने समस्या थियो, अहिले गाउँमै भिडियो एक्सरे सेवा पाएपछि आर्थिक तथा पहुँचको आधारमा धेरै सहज भएको छ ।”
सुत्केरी महिलालाई घरमै पुगेर आमा र बच्चा दुवैको प्रोटोकलअनुसार जाँच तथा परामर्श, कुपोषित बालबालिका खोजपडताल, विद्यालय स्वास्थ्य शिक्षा, कुष्ठरोगी तथा क्षयरोगी विरामीको खोजपडताल कार्यक्रम सञ्चालन गर्दैआएको छ ।