नवीनराज कुइँकेल
लमजुङ, साउन १९ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ भएर बग्ने ङादी खोलामा आएको बाढीले निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा करोडौं रुपियाँको क्षति पुगेको छ ।
आइतबार दिनभर आएको भीषण वर्षासँगैको बाढीले आयोजनाका संरचनाहरू भत्काउनुको साथै मेसिनरी औजार र निर्माण सामग्रीहरु बगाएको छ । निर्माणको करिब ७७ प्रतिशत काम सम्पन्न भएको आयोजनामा बाढीले क्षति पुर्याउँदा उत्पादनको समय पछि धकेलिने भएको छ । आयोजना प्रबन्धक विमल ढकालका अनुसार बाढीले करिब ८० करोड बराबरको क्षति पुगेको छ ।
बाढीले हेडबक्स, पावरहाउस, पहुँचमार्ग, क्रसर उद्योगलगायतमा क्षति पुर्याएको छ । हेडबक्सका चार वटा मिक्चर, तीन वटf एक्साभेटर, तीन हजार पाँच सय बोरा सिमेन्ट, ७० टन डण्डी, डिजल जेनेरेटर, कम्प्रेसर मेसिन र क्रसर उद्योगमा बाढीले पूर्णरूपमा क्षति पुर्याएको छ । यसैगरी हेडबक्स पुग्ने २० किलोमिटर पहुँच मार्गमा १५ ठाउँमा पहिरोले क्षति पुर्याएकाे छ भने पेनस्टक पाइप र भर्टिकल पेनस्टक एरियामा ठुलो पहिरो गएको आयोजना प्रबन्धक ढकालले बताउनुभयो ।
उहाँका अनुसार बाढीले पावरहाउस क्षेत्रमा स्टोर गरिएको सात हजार बोरा सिमेन्ट र एकसय ५० टन डण्डी बगाएको छ भने पहुँचमार्ग पूर्ण रुपमा क्षति भएको छ । पावर हाउस क्षेत्रबाट टेमरक मेसिन, डिजल जेनेरेटर तीन वटा, कम्प्रेसर मेसिन दुई वटा, स्टोर भवन तीन वटा पूर्णरूपमा क्षति भएको छ । बाढीले दुईवटा बलेरो जीप, एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको ढकालले बताउनुभयो । बाढीले पैदल हिँड्नका लागि बनाएको पुल र वर्कसप पनि बगाएको छ । “सबै गरेर करिब ८० करोड बराबरको क्षति भएको अनुमान गरेका छौं”, ढकालले भन्नुभयो, “बाढीपहिरोले आयोजनाको निर्माणकार्य ठप्प भएको छ ।”
आयोजना हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालिले संयुक्त रूपमा निर्माण गरिरहेका छन् । आयोजना सम्पन्न गर्न ७ अर्ब रुपियाँ लागत अनुमान गरिएको थियो । आयोजनामा एनएमबी बैँकको अगुवाईमा ६ वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपियाँ (७५ प्रतिशत) ऋण लगानी र १ अर्ब ७५ करोड रुपियाँ (२५ प्रतिशत) स्वपुँजी लगानी छ ।
आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट घन्टा (२३ करोड ५७ लाख ६० हजार युनिट) विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थलदेखि ११ किलोमिटर टाढाको १३२ केभी टारीकुना खुदी सब स्टेसनमा जोडिने छ । सब स्टेसनसम्मको लाइन कम्पनी आफैंले निर्माण गर्ने जनाएको छ ।