बुटवल समाचारदाता
बुटवल, साउन १९ गते । लुम्बिनी प्रदेश सरकारले एक वर्षमा १६५ किलोमिटर सडक कालोपत्रे गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ३४ किलोमिटर सडक ढलान गर्नुका साथै १६७ किलोमिटर ग्राभेल र १२३ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न गरेको छ । प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकार बनेकोे एक वर्षको उपलब्धिमा सो कुराको दाबी गरिएको छ ।
यो अवधिमा ३५ वटा पक्की पुल र १७ वटा झोलुङ्गे पुल बनेको दाबी गरिएको छ । यी पूर्वाधारबाट प्रदेशका करिब ३० लाख जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुगेको छ । त्यसै गरी १६ हजारभन्दा बढीले बर्सैभरि रोजगारी पाएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश सडक सञ्जाल गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको बताउनुभएको छ । जसमा १५ वटा लोकमार्ग र ५८२ वटा प्रादेशिक सडक समेटिएका छन् । प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
प्रदेश सरकारको उपलब्धि विवरणमा रामपुर–कपुरकोट सडकलाई प्राथमिकतामा राखेर प्रदेश गौरवको आयोजनाका रूपमा कार्यान्वयनमा अघि बढाइएको उल्लेख छ । सडक स्तरोन्नति र संरचना निर्माणमा समेत सरकारले महत्वपूर्ण प्रगति हासिल गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई देशकै नमुना अस्पताल बनाउने लक्ष्यका साथ एक हजार दुई सय शय्याको अस्पताल निर्माण तीव्र गतिमा अघि बढिरहेको दाबी गरिएको छ । उक्त अस्पतालको हालसम्म २७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ भने अस्पताल पाँच वर्षभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ । करिब छ अर्ब १८ करोड रुपियाँ लागतमा २०८५ सालको पुससम्म निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढेको छ । मुख्यमन्त्री आचार्यले शिलान्यासपछि एक वर्षको अवधिमा भौतिक प्रगति २७ प्रतिशत पुगेको र यो उत्साहजनक रहेको बताउनुभएको छ ।
त्यसै गरी प्रदेश सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै बाँकेमा प्राविधिक विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै प्रदेश सरकारको यो एक वर्षको महत्वपूर्ण कामका रूपमा रहेको दाबी गरेको छ ।
लुम्बिनी प्रदेशलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने उद्देश्यसहित लुम्बिनी प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याइएको हो । त्यसै गरी प्रदेश सरकारले मुख्यमन्त्री ड्यासबोर्ड सफ्टवेयर प्रणाली निर्माण गरिसकेको छ भने प्रदेशका किसानको मोबाइल एप किसान एपमार्फत प्रमुख हाटबजारको दैनिक मूल्यसूची प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाएको छ ।