• १८ साउन २०८२, आइतबार

घोराहीमा चार सय ८१ जनालाई निःशुल्क रगत

blog

रक्त सञ्चार केन्द्र घोराहीमा सङ्कलन गरिएको रगत । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, साउन १८ गते । रक्त सञ्चार केन्द्रबाट घोराही उपमहानगरपालिका निवासी चार सय ८१ जनाले निःशुल्क रगत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८१–८२ मा चार सय ८१ जना घोराही नगरवासीले एक हजार एक सय १५ पिन्ट रगत निःशुल्क प्राप्त गरेका हुन् ।

घोराही उपमहानगरपालिकाको निःशुल्क रूपमा नागरिकलाई रगत उपलव्ध गराउने कार्यक्रमअन्तर्गत साउनमा ३७ महिला र १३ पुरुष गरेर ५० जनाले एक सय १२ पिन्ट, भदौमा २५ महिला र १२ पुरुष गरेर ३७ जनाले ७८ पिन्ट रगत प्राप्त गरेका छन् । 

त्यस्तै, असोजमा १९ महिला र आठ पुरुष गरेर २७ जनाले ६३ पिन्ट कात्तिकमा ३२ महिला र १६ पुरुष गरेर ४८ जनाले एक सय २३ पिन्ट, मङ्सिरमा ३० महिला र १८ पुरुष गरेर ४८ जनाले एक सय २९ पिन्ट, पुसमा २१ महिला र १६ पुरुष गरेर ३७ जनाले ८० पिन्ट, माघमा १९ महिला र १७ पुरुष ३६ जनाले ८६ पिन्ट, फागुनमा २९ महिला र १३ पुरुष गरेर ४२ जनाले ९९ पिन्ट निःशुल्क रूपमा रगत प्राप्त गरेको रक्त सञ्चार केन्द्र दाङले जनाएको छ । 

यसैगरी गत चैतमा २६ महिला र २८ पुरुष गरेर ५४ जनाले एक सय १७ पिन्ट, वैशाखमा २० महिला र २१ पुरुष गरेर ४१ जनाले एक सय १० पिन्ट, जेठमा १५ महिला र १७ पुरुष गरेर ३२ जनाले ६२ पिन्ट, असारमा १६ महिला र १३ पुरुष गरेर २९ जनाले ५६ पिन्ट रगत निःशुल्क रूपमा प्राप्त गरेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले जानकारी दिनुभयो । 

प्रमुख न्यौपानेका अनुसार वडा कार्यालयबाट प्राप्त गरेको सिफारिसका आधारमा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रूपमा रक्त सञ्चार केन्द्रबाट उपलव्ध गराउने गरेको बताउनुभयो । 

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराएको सङ्ख्याका आधारमा घोराही उपमहानगरपालिकाले प्रतियुनिट एक हजार रुपियाँका दरले रक्त सञ्चार केन्द्रलाई रुपियाँ उपलब्ध गराउने गरेको छ । घोराहीमा आव २०८०–८१ मा चार सय चार जनाले नौ सय २३ पिन्ट निःशुल्क रूपमा रगत लिनुभएको थियो । 

आव २०८०–८१ बाट सुरु भएको कार्यक्रम प्रभावकारी बन्दैगएको भन्दै प्रमुख न्यौपानेले बताउनुभयो । त्यसैगरी आर्थिक वर्ष २०८१–८२ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सामाजिक सेवा एकाइमार्फत् चार सय ५८ पिन्ट (युनिट) रगत निःशुल्क रूपमा बिरामीले प्राप्त गरेका छन् ।  रक्त सञ्चार केन्द्रबाट रगत लिँदा प्रतिपिन्ट एक हजार रुपियाँ तिर्नुपर्ने व्यवस्था छ ।