छविलाल पाण्डे
बुटवल, साउन १८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मान गरिएको छ ।
रोट्रयाक क्लब अफ तिनाउ सिटी बुटवलले दशौँ पदस्थापन कार्यक्रमको अवसरमा शनिबार साँझ सोमपाललाई एक लाख रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो ।
सम्मानपछि क्रिकेट खेलाडी सोमपालले यस प्रकारको सम्मानले खेलाडीलाई अझ मिहिनेत गर्न प्रेरित गर्ने बताउनुभयो । क्लबले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शक्ति गौचन, राष्ट्रिय खेलाडी कुशल मल्ल, सुशान्त भारी, कुशल भुर्तेल र करन केसीलाई सम्मान गरिसकेको छ ।
रोट्रयाक क्लब अफ तिनाउ सिटीका अध्यक्ष विमल ज्ञवालीले खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले हरेक वर्ष एक जना खेलाडीलाई सम्मान गर्दै आएको बताउनुभयो । उहाँले खेलाडी सम्मान कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताउनुभयो ।