गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १८ गते । थारू आयोगको सदस्य शान्ति मोदी थारूले कार्यबाहक अध्यक्ष सुबोधसिंह थारूलाई कार्यकक्षमै आधा घण्टा थुन्नुभएको छ । बिदा मिलान तथा हाजिरी गर्ने विषयमा विवाद भएपछि कार्यकक्षमा ताला लगाएको सदस्य मोदीले बताउनुभयो ।
आफू पारिवारिक कामले केही समय बाहिर रहेको र आउँदा बिदा स्वीकृतिका लागि आग्रह गर्दा कार्यबाहक अध्यक्षले बिदा स्वीकृत नगर्नु भएपछि कार्यकक्षमा ताला लगाएको उहाँले प्रष्टीकरण दिनुभयो । वैशाख महिनादेखि आयोगका बैठक बस्न नसकेको, कामको जिम्मेवारी नदिएपछि फुर्सदको समयमा आफू घरायसी कामले केही दिन उपत्यका बाहिर गएको उहाँको भनाइ छ ।
आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारूले आयोगका सदस्य शान्ति मोदी थारूले आयोगलाई जानकारी नै नगराई एक महिनासम्म अनुपस्थित रहनुभएको र सोबारे सोधपुछ गर्दा आयोगमा आएर आफूलाई कार्यकक्षमा थुन्नुभएको बताउनुभयो । कार्यबाहक अध्यक्षको हैसियतले अनुपस्थित रहेको बारेमा सोधपुछ गर्ने अधिकार आफूलाई रहेको उहाँको भनाइ छ ।
बिना जानकारी आयोगमा लामो समय अनुपस्थित हुने र कार्यालयमा आएर हाजिर गर्न खोज्नुभएपछि आफू त्यसमा तयार नभएको कार्यबाहक अध्यक्ष थारूले बताउनुभयो । सो विषयमा छलफल गरेर समस्याको समाधान गर्न सकिने भए पनि मोदी थारू छलफलमा आउन तयार नहुनुभएको उहाँले बताउनुभयो ।
“कार्यकक्षमा मलाई आधा घण्टा थुन्नुभयो, पछि प्रहरीले पक्राउ गर्ने प्रयास गरेपछि उहाँ आफैँ आएर ताला खोल्नुभयो” कार्यबाहक अध्यक्ष थारूले बताउनुभयो । आयोगको सदस्यजस्तो जिम्मेवार सदस्यले यसरी अराजकता गर्न नसुहाउने उहाँले बताउनुभयो ।
अनामनगरस्थित थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको कार्यकाल सकिएपछि अहिले सुबोधसिंह थारू कार्यबाहक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । आयोगमा अध्यक्ष बाहेक चार जना सदस्य रहनुभएको छ ।