• १९ असार २०८१, बुधबार

‘एक दिन मनाएर हुँदैन सङ्गीत दिवस’

blog

काठमाडौँ, असार ८ गते । गायन, वादन र नृत्यको त्रिसंयोग सङ्गीतलार्ई मानिन्छ । वर्षभरिका ३६५ दिनमध्येको सबैभन्दा लामो दिन जुन २१ तारिखमा विश्वभर एकसाथ मनाउने दिनका रूपमा ‘विश्व सङ्गीत दिवस’लाई लिइन्छ । सोही दिन मङ्गलबार सङ्गीतप्रेमीले विभिन्न कार्यक्रम गरी विश्व सङ्गीत दिवस मनाएका छन् । 

“सङ्गीत दिवस एक दिन मनाएर हुँदैन यो त हरेक दिन मनाउनुपर्छ । सङ्गीतलाई जीवनको अङ्गका रूपमा हेर्नुपर्छ,” गायिका सुवानी मोक्तानले लोप हुन लागेको गीतसङ्गीत तथा वाद्यवादकको संरक्षण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “सङ्गीतको संरक्षणका साथै कलाकारलाई पनि उचित सम्मान गर्नुपर्छ । सङ्गीतलाई एक शब्द वा एक वाक्यमा बयान गर्न सकिँदैन ।” उहाँले सङ्गीत भनेको महासागर हो र जसको गहिराइमा सबै समेटिएको बताउनुभयो ।

गायक तथा सङ्गीतकार रामकृष्ण दुवाल सङ्गीतको शक्ति अतुलनीय भएको महसुुुस हुन्छ । उहाँले भन्नुभयो, “सङ्गीतले मानिसलाई धरधरी रुवाउन सक्छ । पेट मिचुन्जेल हँसाउन सक्छ । एक तमासले आ–आफ्नो काममा सक्रिय पाँच इन्द्रियलाई समेत चलायमान बनाउन सक्छ ।


” उहाँले सङ्गीत शक्तिको वर्णन गरिसाध्य नभएको बताउँदै सङ्गीतले बालकदेखि वृद्धासम्म, सामान्य व्यक्तिदेखि उच्च ओहदाका व्यक्तिसम्म सबैलाई समेटिएको बताउनुभयो । दुवाल सङ्गीत सबैका लागि लोकप्रिय विधा भएकाले यसलाई नबिगार्न अहिलेका युवा पुस्तालाई आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्गीत सिकेर जानेर गाउँदा राम्रो हुन्छ, सुर, ताल, लयलाई बिगारेर गीत सिर्जना गर्नु उचित हुँदैन । 

राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान)का महाप्रबन्धक अशोक प्यासी राईले नेपाली राष्ट्रिय सङ्गीतको दिगो विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परम्परागत नेपाली मौलिक सङ्गीतको पहिचान एवं प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले लोप हुन लागेको सङ्गीत तथा वाद्यवादकको पनि सङ्घले संरक्षण गरिरहेको जानकारी दिनुभयो । 

सङ्गीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता सङ्गीत सिक्दै गरेका र व्यावसायिक सङ्गीतकारलाई एकै ठाउँमा ल्याउन र सङ्गीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका विभिन्न एक सय १० भन्दा बढी देशमा सङ्गीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ । 

अमेरिकी नागरिक जोन कोहल्गीले गरेको विश्व सङ्गीत दिवसको परिकल्पनालाई फ्रेन्च नागरिक सङ्गीतकार तथा नृत्य निर्देशक मोरिसा ल्केरनले अथक प्रयासपछि साकार गरेको इतिहासमा उल्लेख छ । नेपालमा २०५५ सालपछि सङ्गीत दिवस मनाउन थालिएको हो । फ्रेन्च कल्चर सेन्टरको सहयोगमा सांस्कृतिक संस्थानले काठमाडौँमा पहिलोपटक विश्व सङ्गीत दिवस मनाउन शुभारम्भ गरेको हो । 

Author

यलु जोशी-शिवा तामाङ