काठमाडौँ, साउन ९ गते । विद्युतीय बस सञ्चालन गरिरहेका कम्पनीले दोहोरो तेहरो आम्दानी गरिरहेका छन् । बस सञ्चालनबाहेक चार्जिङ स्टेसन र विद्युतीय सवारीका पार्ट्स बिक्री तथा ग्यारेज सञ्चालन गरेर उनीहरूले दोहोरो तेहरो आम्दानी गरेका हुन् । विद्युतीय सवारी थप हुने क्रम बढेपछि वर्कसपदेखि चार्जिङ स्टेसनसम्मका व्यवस्थापन कम्पनी आफैँले गरेर आम्दानीका स्रोत बढाइरहेका छन् ।
व्यवसायका क्रममा १६ वटा विद्युतीय बस र २२ वटा विद्युतीय माइक्रो सञ्चालन गर्दै आएको सुन्दर यातायातले चार्जिङ स्टेसन, मोटरपार्टस बिक्री र वर्कसप आफैँ सञ्चालन गर्दै आएको छ । आफ्ना गाडी चार्ज गरेपछि चार्जिङको सेवा पनि दिँदै आएको छ । दैनिक दुई सय सवारी चार्जिङका लागि आउने गरेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।
थापाले भन्नुभयो, “चीनमा बनेका कुनै पनि विद्युतीय सवारीका सबै पाटर्स हामीसँग उपलब्ध छन् । सुन्दर ट्रेडर्सले वर्कसप चलाएको छ । काठमाडौँमा मर्मतका लागि कुनै समस्या छैन । सोरुमले पनि पाटर्स र मर्मतको सेवा दिइरहेका हुन्छन् । विद्युतीय गाडी किन्न महँगो हो, सञ्चालन गर्न त सजिलो छ ।” वातावरणमैत्री, ध्वनि प्रदूषण नहुने र सरकारले पनि प्रोत्साहन गरेकाले अधिकांशको ध्यान विद्युतीय सवारीमा गएको उहाँले बताउनुभयो । थापाका अनुसार साना विद्युतीय सवारी प्रतियुनिट १५ रुपियाँका दरले पाँचदेखि सात सय रुपियाँसम्ममा पूर्ण चार्ज हुन्छन् । ३२ सिटसम्मका ठुला सवारी १३ देखि १५ सय रुपियाँमा पूर्ण चार्ज हुन्छन् । इन्धनबाट चल्ने सवारीले करिब पाँच हजार पाँच सयको इन्धन खर्च गर्दा चार्जिङमा १५ सय लाग्ने थापाको भनाइ छ ।
४० वटा विद्युतीय बस सञ्चालन गर्दै आएको साझा यातायातले पनि चार्जिङ स्टेसनदेखिका मर्मतसम्भारका काम आफूहरूले नै गर्दै आएको छ तर साझाले पार्किङ स्थल नहुँदा अन्य कम्पनीका सवारीलाई चार्जको सुविधा उपलब्ध गराउन नसकेको साझाका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले बताउनुभयो ।
सवारीका स्पेयर पाटर्स नपाउने होइन तर कम्पनी र डिलर अनुसार फरक हुने भएकाले एक कम्पनीको अर्कोसँग नमिल्ने हुँदा चाहिँ समस्या भोग्नु परेको उहाँ बताउनुहुन्छ । अर्यालले भन्नुभयो, “स्पेयर पाटर्स डिलर अनुसार फरक हुँदा समस्या भागेका छौँ । एउटाको टायर अर्को कम्पनीको गाडीमा लाग्दैन । आफ्ना गाडी आफैँ चार्ज गर्छौं, पार्किङ स्थल नहुँदा अरूलाई सेवा उपलब्ध गराउन सकेका छैनौँ ।”
३३ सिटका १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको महानगर यातायातले पनि चार्जिङ स्टेसन र आफ्नै वर्कसप चलाएको छ । उक्त कम्पनीले पनि सञ्चालनबाहेक चार्जिङ र वर्कसपको कमाइ पनि आफैँ गरिरहेको छ । महानगर यातायातका सचिव केशव नेपालले भन्नुभयो, “आफ्नै चार्जिङ स्टेसन र ग्यारेज पनि चलाएका छौँ । त्यसो गर्दा आम्दानी पनि हुने र अन्य झन्झट पनि नहुने हुँदा सजिलो भएको छ । पाटर्सहरूमा पनि समस्या छैन, बजारमा पाइन्छ ।”
काठमाडौँ उपत्यकामा ठुला विद्युतीय बस मात्र होइन जिप, कार, माइक्रो, मोटरसाइकल र स्कुटर सञ्चालनमा छन् । ३० वटा विद्युतीय माइक्रो सञ्चालन गरेको सामाखुसी यातायातले पनि चार्जिङ स्टेसन सञ्चालन गरेको छ । अधिकांश कम्पनीले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको सचिव नेपालले बताउनुभयो । कम्पनीबाहेक सशीला मोटर्सलगायतका सोरुमले पनि विद्युतीय सवारीका स्पेयर पाटर्स उपलब्ध गराउँदै आएका छन् ।