• १३ साउन २०८१, आइतबार

पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

blog

काठमाडौँ, असार ७ गते । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । 

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोहीअनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज २४ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिए पनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको थिएन । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्न मूल्य बढाउनुपर्ने सरकारको बाध्यता रहेको बताउनुभयो । आपूर्ति व्यवस्था सहज पार्नु र मूल्य समायोजन गर्नु सरकारको कर्तव्य रहेको बताउँदै उहाँले भन्नुुभयो– “त्यसैले अब पेट्रोलियम पदार्थमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणालीमा जान्छौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्छ र घट्दा पनि तत्काल घटाउँछौँ ।” तत्कालका लागि खाना पकाउने एलपीजी ग्यासको मूल्य भने नबढाउने उहाँले जानकारी दिनुभयो । 

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आगामी साउनदेखि पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरिने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको र एकैचोटि स्वचालित मूल्य प्रणालीमा जान नसकिने भएकाले अहिलेदेखि नै मूल्य बढाउँदै गएको उहाँले  बताउनुभयो । 

ग्यासमा घरायसी प्रयोजनका लागि अहिलेकै मूल्य र व्यापारिक प्रयोजनका लागि बेग्लै गरी दुई थरी मूल्य लागू गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “सुरुदेखि नै स्वचालित मूल्य प्रणाली लागू गरेको भए निगम यति धेरै घाटामा जाने थिएन, अब पूर्ण रूपमा लागू गर्छौं” थानीले भन्नुभयो । ग्यासमा दोहोरो मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापतौलका महानिर्देशक नेतृत्वको टोलीले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

अझै बढ्ने सम्भावना

रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा थप बढ्ने देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पर्दै आएको छ । 

निगमले  सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल लिटरमा २१ रुपियाँ, डिजेल-मट्टीतेल २७ रुपियाँ, हवाई इन्धन (आन्तरिक) १९ रुपियाँ बढाएको थियो । हवाई इन्धनको बाह्यतर्फ भने सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको थियो । 

नयाँ मूल्यसँगै प्रतिलिटर पेट्रोलको मूल्य १९९ रुपियाँ पुगेको छ । डिजेल-मट्टीतेल १९२ रुपियाँ पुुगेको छ । हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपियाँले वृद्धि गरी १८५ रुपियाँ प्रतिलिटर पु-याइएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् राखिएको छ । 

मूल्य वृद्धिको विरोध

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएको छ । विद्यार्थी सङ्गठन, उपभोक्ता अधिकारकर्मीले तत्काल बढेको मूल्य फिर्ता गर्न माग गरेको छ । ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्र बजार मूल्य बढ्ने भन्दै फिर्ता गर्न माग गरेका हुन् ।

Author

लक्ष्मी सापकोटा