• ९ साउन २०८२, शुक्रबार

‘राइड सेयरिङ’ भाडामा ठगिन्छन् यात्रु

blog

काठमाडौँ, साउन ८ गते । ‘राइड सेयरिङ’ सेवाको भाडादरमा एकरूपता नहुँदा यात्रु ठगिने क्रम बढेको छ । सुविधामा खासै भिन्नता नभएको अवस्थामा पनि कम्पनी अनुसार फरक फरक दर हुँदा राइडर (चालक) हरूको मोलमोलाइ बढेको छ । ‘अफलाइन’ हिँड्ने राइडरको सङ्ख्या अत्यधिक र अनलाइनमै पनि मोलमोलाइ हुने हुँदा कम्पनीले जति कमिसन घटाए पनि सेवाग्राहीलाई खासै राहत भएको छैन ।     

राइड सेयरिङ कम्पनीहरूको प्रतिस्पर्धा बढ्न थालेपछि अरूले भन्दा कम भाडा लिएर यात्रु तान्ने प्रयास भइरहेको छ । हाल नेपालमा एक दर्जनको सङ्ख्यामा राइड सेयरिङ कम्पनीहरू छन् । अफलाइनबाट व्यक्तिगत रूपमै सेवा दिनेको सङ्ख्या बढेपछि कम्पनीहरूले राइडरलाई आकर्षक प्याकेज स्वरूप बोनस दिने घोषणासमेत गरेका छन् ।    

राइड सेयरिङको दुनियाँमा पछिल्लो समय ‘याङ्गो’ निक्कै चर्चामा छ । पठाओ, ट्याक्सिमान्डु, इनड्राइभ, टुटलभन्दा पछि आएको याङ्गोले अन्यको तुलनामा धेरै सस्तो सेवा दिएको छ तर अनामनगरबाट नयाँ बजार याङ्गो बुक गरेकी तारा आचार्य भन्नुहुन्छ, “अनलाइनमा बुक गरेपछि आएर बार्गेनिङ गर्छन् । अफलाइन गर्दिन्छु, यति दिनु भन्छन् । अरूभन्दा याङ्गो सस्तो त छ तर भाडादर कति हो, हामीलाई थाहा हँुदैन । सरकारले तोके त हुन्थ्यो नि ।” तीन प्रतिशत मात्र कमिसन लिने याङ्गोले बाइक राइड न्यूनतम ४० र ट्याक्सी १८० रुपियाँबाट सुरु गरेको छ । यो अन्य राइडको तुलनामा ५० प्रतिशतसम्म सस्तो हो । तीन वर्षसम्म तीन प्रतिशतभन्दा बढी कमिसन नलिने कम्पनीले घोषणा पनि गरेको छ, जसले राइडरको आम्दानीमा ठुलो सहयोग गरे पनि सेवाग्राहीलाई खासै प्रभाव पारेको छैन । 

अफलाइनमा सञ्चालन भएको खण्डमा कारबाही गरिँदै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो । अधिकांश यात्रु अफलाइन जाने प्रचलन बढिरहेको हुँदा सुरक्षाका हिसाबले पनि चुनौती रहेको उहाँको भनाइ छ । 

अन्तर्राष्ट्रिय राइड सेयरिङ एप याङ्गोको नेपाल पार्टनर ट्याक्सिमान्डुका निर्देशक अर्जुन केसी भन्नुहुन्छ, “हामीले ४० रुपियाँबाटै सुरु गर्नुको कारण तल्लो वर्गका व्यक्ति, जो सार्वजनिक यातायात चढ्छन्, उनीहरूलाई लक्षित गरेको हो । सबैको पहुँचमा पुर्‍याउनु पर्छ । त्यसो गर्दा सार्वजनिक यातायातमा हुने भीडमा पनि कमी आउन सक्छ ।”  

यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न याङ्गो एपमा २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरिएको छ । एपमार्फत स्वचालित रूपमा अनुमानित भाडा देखिने छ । याङ्गोमा हाल ३५ देखि ४० हजार राइडर छन् ।  इनड्राइभले मोटरसाइकलमा भ्याटसहित ११.५ प्रतिशत कमिसन लिने गरेको छ । इनड्राइभसँग ६ लाख मोटरसाइकल र ट्याक्सी दर्ता छन् । दैनिक रूपमा ८० हजार सवारीले सेवा दिएका छन् । इनड्राइभ काठमाडौँ, पोखरा, विराटनगर, बुटवलमा सञ्चालनमा छ । 

पठाओले पनि २० प्रतिशतसम्म कमिसन लिँदै आएको छ । एकदेखि पाँच वटा राइड दिएको २० प्रतिशत कमिसन लिन्छ । ६ देखि ९ राइडमा १५ प्रतिशत, १० देखि १४ मा १० प्रतिशत, १६ देखि १९ राइडमा ५ प्रतिशत र २० भन्दामाथि एक प्रतिशत कमिसन लिने गरेको छ । सबै कम्पनीले आआफ्नो कमिसन तोकेर सञ्चालन गरिरहेका छन् । कमिसन अनुसार भाडा निर्धारण पनि गरेका छन् । धेरै कमिसन लिनेको भाडा धेरै छ भने थोरै लिनेको अलि कम पाइन्छ तर राइडरहरूको मोलमोलाइले भाडादरमा ठुलो भिन्नता नदेखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताउनुभयो ।  

ट्याक्सीमा सरकारले भाडादर तोकेको हुन्छ तर मोटरसाइकल राइड सेयरिङमा भने त्यस्तो अवस्था छैन । कम्पनी र व्यक्तिपिच्छे भाडादर हुने गरेको छ । निर्देशक केसी भन्नुहुन्छ, “ट्याक्सीमा सरकारले तोकेको छ, समस्या भएन । मोटरसाइकलमा हामीले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आधार बनाएका छौँ । सरकारले अब कार्यविधि र नियमावली बनाउँदै छ अनि व्यवस्थित होला ।”  

महासङ्घका अध्यक्ष स्वाँर भन्नुहुन्छ, “२०४९ को ऐनले दुईपाङ्ग्रेलाई सार्वजनिक बनाउन सकिने कुरा गरेको छ । अहिले चलिरहेका छन्, सुविधा पनि भएको छ । कानुन बनाएर व्यवस्थापन गर्नु पर्‍यो । नम्बर प्लेट दिए हुन्छ, गरिखान त पाउनु पर्‍यो ।” 

तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने यसको व्यवस्थापनमा खासै तयारी गरिसकेको छैन । मन्त्रालयका सहसचिव कुवेर नेपालीले भन्नुभयो, “राइड सेयरिङका बारेमा परिभाषित गर्नै बाँकी छ । विषय छलफलमै छ ।” अनुगमन र नियन्त्रण हुन सकिरहेको छैन । बेलैमा समस्या समाधान नहुने हो भने लुटपाट मौलाएर दुर्घटनाको जोखिम बढ्ने छ । सुविधा त छ तर नियमन र अनुगमनबिनाको असुरक्षित सुविधाले दुर्घटना निम्त्याउन सक्नेतर्फ सचेत हुनुपर्ने अध्यक्ष स्वाँरको भनाइ छ । 

बिमाको सुविधा  

राइड सेयरिङ कम्पनीहरूले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणका लागि बिमाको व्यवस्था गरेका छन् । केही कम्पनीले यात्रुको पनि गरेका छन् भने केहीले राइडरहरूको गरेका छन् । बिमा सुविधा पनि समान छैन भने कतिपयमा यो सुविधा पनि छैन । यो सुविधा अफलाइनमा चाहिँ हुँदैन ।