गोविन्द शर्मा
बाँके, साउन ७ गते । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बाक्लो बसोवास रहेको क्षेत्रमा कला संस्कृति र भाषाको संरक्षणका लागि थारू सांस्कृतिक ग्राम निर्माण सुरु गरेको छ ।
पर्यटन डिभिजन कार्यालय कोहलपुरका अनुसार बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिका तथा बर्दियाको राजापुर नगरपालिकामा थारू औद्योगिक ग्राम निर्माणको काम अघि बढेको छ ।
पर्यटन डिभिजन कार्यालय कोहलपुरका प्रमुख टङ्कनाथ खनालले तीन वटै स्थानीय तहमा संस्कृति संरक्षण र जगेर्ना तथा आय आर्जनमा सहयोग गर्ने उद्देश्यले थारू सांस्कृतिक ग्राम निर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत जिल्लामा तोकिएको क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । स्थानीय बासिन्दालाई होमस्टे र कृषि पर्यटनसम्बन्धी तालिम समेत दिइएको खनालले बताउनुभयो ।
गत आर्थिक वर्ष २०८१–८२ मा दाङ, बाँके र बर्दियाका २५० बढी व्यक्तिलाई होमस्टे र कृषि पर्यटनसम्बन्धी तालिम दिइएको पर्यटन डिभिजन कार्यालय कोहलपुरका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।
चौधरीले भन्नुभयो, ‘तोकिएको क्षेत्रका नागरिकलाई पर्यटन र रोजगारीमा जोड्ने उद्देश्यले चलिरहेका होमस्टेमा तालिम दिइएको छ ।’ बाँकेको गाभरस्थित थारू होमस्टेका सञ्चालक कृष्ण चौधरीले तालिमका सहभागीलाई घरेलु उत्पादनबाट कसरी पाहुनालाई स्वागत गर्ने विषयमा पाक कलाको ज्ञान समेत दिइएको बताउनुभयो ।
तालिमका सहभागीलाई स्थानीय पाक कलासहित थारू नाँच लगायत अन्य सांस्कृतिक विषयमा समेत प्रशिक्षण दिइएको छ । सरकारको विशेष अनुदानमा प्रदेश सरकारले थारू सांस्कृतिक ग्राम निर्माण कार्यक्रम सञ्चालन गरेको हो ।