हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन ७ गते । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२, ढाक्मरका किसान मिङ्मार गुरुङको एउटै खोरका ८० बढी च्याङ्ग्रा हिउँ चितुवाले आक्रमण गरेर मार्याे ।
तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा हिउँ चितुवाले घाइते बनाएका च्याङ्ग्रा पछि उपचारको क्रममा मरे । एकैपटक ४ वटा हिउँ चितुवा पसेर करिब ३० लाखभन्दा धेरैको क्षती भयो। वि.स २०८० साल कात्तिक तेस्रो साता घटेको यो घटना हिउँ चितुवाले कृषकको गोठमा पुर्याएको अहिलेसम्मको सबैभन्दा ठुलो क्षती हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले दुई चरणमा ९ लाख ८५ हजार राहत समेत दिएको थियो । गत वैशाख १६ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धार्काजुङ गाउँका कृषक ङातर गुरूङ,पेम्मा गुरुङका ८ च्याङ्ग्रा हिउँ चितुवाले मारे ।
माउ, खसी, पाठापाठी मरेको र केही घाइते अवस्थामा भेटियो । तल्लो र उपल्लो मुस्ताङमा रहेका च्याङ्ग्राका गोठमा वर्षेनी हिमचितुवाले आक्रमण गर्ने गरेको छ । आहाराको खोजीमा बस्तीभित्र रहेका च्याङ्ग्राको खोरमा निशाना बनाएर आउने हिमचितुवाले साना कृषकको खोर नै रित्तो बनाउने गरेको छ । उच्च हिमाली क्षेत्रमा बासस्थान हुने हिउँ चितुवाले आफ्नो मुख्य आहार झारल, नाउर, मृग फेला नपारेपछि मानवबस्ती छेउमै आएर च्याङ्ग्रा, घोडा, याक, चौरी लगायत घरपालुवा जनावर सखाप पारिदिन थालेपछि मुस्ताङी आजित छन् ।
स्थानीय प्रविधिबाट निर्मित गोठमा सुरक्षाका अनेक उपाय गर्दा समेत हिउँ चितुवा आएर क्षती पुर्याउने गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, ‘‘धेरै कृषकको गोठ स्थानीय प्रविधिबाट निर्मित छ, हिउँ चितुवाले मारेर गएपछि मात्रै थाहा हुन्छ ।’’ एक्यापले हिउँ चितुवाबाट घरपालुवा जनावर जोगाउनका लागि आधुनिक सुरक्षित गोठ निर्माण सम्बन्धि तालिम सहित विभिन्न सूरक्षाका उपायहरूका बारेमा जानकारी गराउने गरेको प्रमुख पौडेलको भनाइ छ ।
सुधारिएको गोठ नहुँदा पशुचौपायामा बर्सेनि हिउँ चितुवा र अन्य जङ्गली जनावरबाट क्षती हुन थालेपछि कृषकले आधुनिक गोठ बनाउन सरकारी निकायबाटै अनुदानको समेत आवश्यकता रहेको बताउने गरेका छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, धार्काजुङ गाउँका पेम्मा गुरुङले वर्षभरिको मेहनत एकै रातमा हिउँ चितुवाले क्षती पुर्याउने गरेको भन्दै स्थानीयको लगानीबाट मात्रै आधुनिक गोठ बनाउन सम्भव नभएको बताउनुभयो । कृषकको गोठमा वन्यजन्तुले आक्रमण गरेपछि सरकारी निकायमार्फत प्राप्त हुने राहत एक्यापमार्फत वितरण हुने गरेको छ । क्षतीको करिब १५ प्रतिशत पनि राहत नआउने अवस्थामा साना कृषक विस्थापित नै हुनुपर्ने जोखिम समेत रहेको छ ।
‘हिउँ चितुवाको बसोवास हुने ‘कोर एरिया’मा आहाराको कमी भएपछि खोज्दै बस्ती आसपासका क्षेत्रमा आउने र लामो समयसम्म आसपासमै बसेर आक्रमण गर्ने गरेको एक्यापले जनाएको छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा कति हिउँ चितुवा छन् हालसम्म एकीन तथ्याङ्क सङ्कलन भएको छैन । मुस्ताङमा हिउँ चितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ क्षेत्रका किसानलाई हिमचितुवा र अन्य वन्यजन्तुले पशुधनमा क्षति भएको विवरण सङ्कलन गरिएको एक्याप जोमसोमले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिकाका आधारमा प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थिति क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ ।
आर्थिक वर्ष २०८१/०८२ म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले पीडित पशुपालक कृषकका १ सय २५ वटा पशुचौपायाको राहत स्वरूप ११ लाख ३५ हजार भुक्तानी गरेको छ । वन्यजन्तुबाट पशुधनको ४३ प्रतिशत मात्रै राहत वितरण गरिएको छ । राहत किसानको बैँक खातामा सिँधै पठाइन्छ । एक्याप लोमान्थाङका अनुसार २०८०–८१ को ४ लाख १८ हजार र २०८१–०८२ को २२ लाख ७६ हजार राहत रकम वितरण गर्न बाँकी रहेको छ ।
उपल्लो मुस्ताङमा आर्थिक वर्ष २०८०-०८१ मा २२ पशुधन क्षति भएको र राहत स्वरूप चार लाख १८ हजार र आर्थिक वर्ष २०८१-०८२ मा क्षति भएको १०३ पशुधनको राहत २२ लाख ७६ हजार वितरण गर्न बाँकी रहेको एक्याप लोमान्थाङले जनाएको छ । कृषकलाई प्रति पशु १० हजार र प्रतिघोडा ६० हजारसम्म राहत दिने उल्लेख छ । तल्लो मुस्ताङमा आर्थिक वर्ष २०८०-८१ मा बन्यजन्तुको आक्रमण्बाट ३० याक, २ घोडा, १९ च्याङ्ग्रा, ५ कुखुरामा क्षती भएको छ ।
२०८१–०८२मा २० घरधुरीका ८८ च्याङ्ग्रा,४ घोडा, १० चौरी हिउँ चितुवाको आक्रमणबाट मरेको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो । उपल्लो मुस्ताङमा हिम चितुवा,ब्वासोको आतङ्क रहेकोमा तल्लो मुस्ताङमा हिमचितुवासँगै कालो भालुबाट धेरै किसानको पशुचौपायामा क्षती हुने गरेको छ।