• ७ साउन २०८२, बुधबार

राम शाह पार्क निर्माण

blog

नीलकण्ठ नगरपालिका–७ मा निर्माण गरिएको ‘राम शाह पार्क’ ।तस्बिर : अस्मिता पोखरेल

धादिङबेँसी समाचारदाता 

धादिङबेँसी, साउन ७ गते । गोरखाका राजा राम शाहको कीर्ति स्मरण गर्दै धादिङको नीलकण्ठ नगरपालिकाले नीलकण्ठ–७, तल्लोबेँसी डाँडामा ‘राम शाह पार्क’ निर्माण गरेको छ । गोरखा नगरपालिकासँगको भगिनी सम्बन्धलाई सुदृढ गर्दै नगर  क्षेत्रको पर्यटकीय सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले पार्क निर्माण गरिएको हो । 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण तल्लोबेँसी डाँडास्थित वनदेवी मन्दिरसँगै रहेको यो पार्क सदरमुकाम धादिङबेँसी नजिकको रमणीय गन्तव्यका रूपमा विकास हुँदै छ । माथिल्लो भागमा फैलिएको हरियाली डाँडा, तलपट्टि फिँजिएको थोपलखोला र खेतका दृश्यले पार्कलाई थप आकर्षक बनाएको छ । सबै समूहको रोजाइमा पर्ने गरी पार्क निर्माण गरिएको हो ।

नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थानको संरक्षण गर्न नीलकण्ठ नगरपालिकाले बजेट विनियोजन गरेर काम गरिरहेको नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले बताउनुभयो । “गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाबिचको सम्बन्ध बलियो बनाउँदै एकअर्काको पहिचान झल्कने संरचना निर्माण गर्ने सहमति अनुसार यो संरचना निर्माण गरिएको हो,” उहाँले भन्नुभयो । 

उक्त अवधारणाको थालनी २०७८ सालमा गोरखाको बारपाकमा सम्पन्न संयुक्त कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार गरिएको हो । उक्त बैठकमा दुवै नगरपालिकाले एकअर्काको सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय मूल्य झल्काउने संरचना निर्माण गर्ने सहमति गरेका थिए ।

पार्कको प्रवेशद्वारमा आकर्षक गेट निर्माण गरिएको छ । पार्कभित्र तत्कालीन राजा राम शाहको मूर्ति स्थापना गरिने भएको छ । मूर्तिको सुरक्षाका लागि आठ भुजा भएको विशेष संरचना निर्माण गरिएको छ । पार्क क्षेत्र ढुङ्गाबाट आकर्षक ढङ्गले सजाइएको छ ।

पार्क निर्माणको जिम्मेवारी साइराम कन्स्ट्रक्सनले ४७ लाख चार हजार रुपियाँमा लिएको हो । सुरुवाती ठेक्का लागत ७० लाख रुपियाँ रहेको थियो । हालसम्म पार्कको संरचनागत काम सम्पन्न भइसकेको र मूर्ति स्थापना, सिँढीमा ढुङ्गा छाप्ने तथा रङ्गरोगन जस्ता काम चालु आर्थिक वर्षमै सम्पन्न गरिने छ । बागमती प्रदेश सरकारले त्यसका लागि अतिरिक्त १० लाख रुपियाँ विनियोजन गरेको छ । नीलकण्ठ नगरपालिकाले आन्तरिक स्रोतबाट नै यो परियोजना अघि बढाएको हो ।