गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ७ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा कवि तथा लेखक भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक मङ्गलबार एक कार्यक्रमबिच विमोचन गरिएको छ ।
बिपीका पुत्र तथा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला, पूर्वराजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, वरिष्ठ पत्रकार किशोर नेपाल र लेखक ढुङ्गानाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले बिपीलाई नेपाली साहित्यमा कालजयी पात्रका रूपमा चिनिएको बताउँदै भन्नुभयो, “बिपीको पुत्र भएकाले राजनीतिमा त आएँ तर लेख्न भने खासै सकिनँ । लेखन मेरो क्षमताले पनि भ्याउँदैन । अब लेख्ने कोसिस गर्ने सोचेको छु ।”
उहाँले भन्नुभयो, “राजनीति अन्योलको खेल हो । आफूले सोचेको जस्तो हुँदैन ।” उहाँले बिपीलाई सम्झँदै भन्नुभयो, “एक पटक मेरो माध्यमिक शिक्षा परीक्षामा ७५ प्रतिशत अङ्क आएको थियो । त्यस्तै बिपीका नजिकका एक साथीको छोरीको ४५ प्रतिशत आएको थियो । उच्च शिक्षाका लागि म र उहाँको साथीका छोरीमध्ये बिपीले ४५ प्रतिशत मात्र अङ्क ल्याउनेलाई छनोट गरेपछि मलाई ममाथि अन्याय भएको महसुस भयो । मैले उहाँसँग गुनासो पनि गरेँ, उहाँले आफूलाई तँ बिपीको छोरो होस् तैँले यस्ता सयौँ अवसर पाउँछस् भनेर भन्नुभएको स्मरण गर्नुभयो । अब भन् न्याय भयो कि अन्याय ? भनेपछि मैले बिपीलाई राम्रोसँग चिनेँ ।” उहाँले थप्नुभयो, “विसं २०१७ पुस १ गतेको घटनापछि हामीले बिपीलाई सुन्दरीजल बन्दीगृहमा भेट्दा पनि हाम्रो पठनपाठनको चिन्ता गर्नुहुन्थ्यो, छोराछोरीले राम्रो पढून् भन्ने उहाँको चाहना थियो ।”
पूर्वराजदूत प्राडा माथेमाले ढुङ्गानाले केही महत्वपूर्ण पात्रका परिचय र महìवलाई पु्स्तकभित्र स्थापित गर्नुभएको बताउनुभयो । उहाँले बिपीको प्रशंसा गर्दै बिपीलाई नेपाली साहित्यको अग्लो कद भएको लेखक र राजनीतिज्ञका रूपमा आफूले लिएको बताउनुभयो । प्राडा माथेमाले बिपीको आत्मवृत्तान्तबाट पात्र निकालेर बनाइएको कथामा लेखकको मौलिकता झल्केको बताउनुभयो । पुस्तक सानो भए पनि यसमा धेरै कुरा समेटिएकाले पठनीय रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । राजनीतिक विश्लेषक केसीले समाज अहिले पनि बदलिन नसकेको गुनासो गर्दै भन्नुभयो, “समाज अझै रूपान्तरण हुन सकेको छैन । राजनीतिमा बिपीलाई पुनर्ताजगी दिन पुस्तक सफल रहेको छ ।”
लेखक ढुङ्गानाले बिपीलाई समर्पित गर्नकै लागि बिपी कोइराला स्मृति दिवसका दिन पुस्तक सार्वजनिक गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नितान्त साहित्यिक किताब हो ।” लेखक ढुङ्गानाले २०५५ सालमा बिपीको आत्मवृत्तान्त प्रकाशन भएपछि पढेको उल्लेख गर्दै आफ्ना पिता विष्णुप्रसाद कोइरालाको संस्मरण पढेपछि यस विषयमा लेख्ने सोच आएको बताउनुभयो । बिपीको जीवन, आदर्श र सङ्कल्पलाई चिनाउन पुस्तक पर्याप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । पुस्तक प्रकाशक संस्था न्युरोड बुक स्टोरका सञ्चालक राजेश गजुरेलले पहिलो कृतिका रूपमा बिपीको पुस्तक प्रकाशन गरेको र आगामी दिनमा यस्ता कृति प्रकाशनमा निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।