लेखनाथ, साउन ६ गते । कास्की प्रहरीले आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भएर हाल पोखरा महानगरपालिका–९, नागढुङ्गामा ३७ वर्षीय गोविन्द लामिछानेलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले लामिछानेलाई आइतबार पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । श्रीमतीलाई सुत्केरी व्यथाले च्यापेपछि प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लिएर आएका बेला लामिछानेलाई नियन्त्रणमा लिइएको बस्नेतले बताउनुभयो।
२०८१ असोज १३ गते साँझ सवा ५ बजे पोखरा महानगरपालिका वडा नम्बर १४, चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेको थियो । फलाटिनको कपडाले बेरी झोलामा राखिएको पुरुषको शव पश्चिमाञ्चल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोष्टमार्टम गरिएको थियो ।
पोष्टमार्टम रिपोर्टअनुसार नवजात शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको खुलेको थियो । घटनामा संलग्नको अनुसन्धान गर्दै शिशुका बुवा लामिछानेको संलग्नता देखिएको प्रहरीको दाबी छ । लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान जारी छ ।