• ७ साउन २०८२, बुधबार

क्यान र कुवेत क्रिकेटबिच सम्झौता

blog

सम्झौता गरिँदै ।

काठमाडौँ, साउन ६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेटबिच पुरुष र महिला क्रिकेटको हरेक वर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ ।

क्यानअनुसार दुई देशबिच प्रत्येक वर्ष होम एन्ड अवेका आधारमा कम्तीमा तीनवटा टी–२० अन्तर्राष्ट्रिय र थप ५० ओभरका खेल खेलिने गरि सम्झौता भएको छ । 

सम्झौता दुई देशचि क्रिकेटमा रणनीतिक सहकार्य अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र यस क्षेत्रमा एसोसिएट राष्ट्रबिचको प्रतिस्पर्धालाई बढावा दिन एक महत्वपूर्ण कदम भएको क्यानले उल्लेख गरेको छ । यस सहमति सन् २०२६ देखि लागु हुने बताइएको छ ।

नेपालले हालै आइसीसी टी–२० विश्वकप २०२४ मा विश्व मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गरेको र कुवेतले यस वर्षको अन्त्यमा आइसीसी पुरुष टी–२० विश्वकप २०२६ एसिया  क्षेत्रीय छनोटमा भाग लिन तयारी गरिरहेको छ । 

यस्तो अवस्थामा दुई देशबिचको सम्झौता सकारात्मक पहल भएको पनि क्यानले जनाएको छ । यसले उदीयमान खेलाडीहरूको लागि प्रतिस्पर्धात्मक वातावारण बनाउन सहयोग पुग्ने क्यानले जनाएको छ ।

नेपाल र कुवेत दुवै आइसीसी टी–२० विश्वकप २०२६ एसिया क्षेत्रीय छनोटको एउटै समूहमा रहेका छन् ।