विनय कर्ण
कल्याणपुर (सप्तरी) साउन ६ गते । लामो समयदेखि वर्षा नहुँदा सप्तरीमा धान रोपाइँ प्रभावित भएको छ । साउन महिनाको पहिलो साता बित्न लाग्दा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादन घट्ने जोखिम पनि बढाएको हो ।
साउनको पहिलो सातासम्ममा जिल्लामा मात्र ३२ प्रतिशत धान रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । आकासे पानीकाे भरमा खेतीपाती गर्दै आएका किसानले वर्षा नभएकै कारण रोपाइँ गर्न सकेका छैनन् भने बोरिङ र मोटरको प्रयोगबाट सिँचाइ गरेर रोपिएको खेतमा पनि धान सुक्न थालेका छन् ।
जिल्लाको १८ वटा पालिकामध्ये दक्षिणी भेगका हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजगढ गाउँपालिकामा ६० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले जानकारी दिनुभयो ।
उहाँले सप्तरीको दक्षिणी भेगमा पश्चिमी कोशी नहरको सिँचाइ पुगेका जग्गामा ६० प्रतिशत, मध्य भागमा कोशी पम्प नहरको सिँचाइ पुगेका जग्गामा ३२ प्रतिशत र उत्तरी भेगमा बोरिङ मोटरको प्रयोगबाट सिँचाइ गरी १५ प्रतिशत धान रोपाइँ भएको बताउनुभयो ।
"जिल्लाभरिको अवस्था हेर्दा औसतमा ३२ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ," राउतले भन्नुभयो ।
गत वर्ष सप्तरीमा दुईलाख ७४ हजार एक सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो । यहाँ कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको थियो ।
धान रोपाइँ ढिलो हुनुका साथै सिँचाइको अभावले गर्दा उत्पादनमा समेत असर पर्ने देखिएको छ। यसले खाद्य सङ्कटको सम्भावना बढाएको किसानहरुले बताएका छन् ।
यता गत असार २६ गते मधेश प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर अहिलेसम्म केही स्थानमा खानेपानी वितरण गर्नुबाहेक किसानका लागि कुनै योजना वा राहत ल्याउन सकेको छैन।
मधेश सरकारले किसानको सवालमा विज्ञहरुसँग छलफल गरिरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिनुभयो । उहाँले साउन १५ सम्म वर्षा नभए धान रोपाइँको सम्भावना सकिने भएकाले किसानका लागी वैकल्पिक बाली र राहत प्याकेजको सन्दर्भमा विज्ञहरुसँगै सङ्घीय सरकारसँग पनि समन्वय गर्ने कार्य भइरहेको बताउनुभयो ।