प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन ६ गते । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा रौतहटमा वृक्षरोपणसहित विचार गोष्ठी कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश मिश्रका अनुसार नेपाली कांग्रेस रौतहटले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसमा चन्द्रपुर–८ सन्तपुर बेतौना कोटिहोममा विभिन्न प्रजातिका बिरुवा रोपण गरेको छ ।
स्मृति दिवसको अवसरमा मधेश प्रदेशका अर्थमन्त्री एवम् नेपाली कांग्रेस रौतहट जिल्ला सभापति सुनिलकुमार यादवले स्व.कोइरालाको कारण विभिन्न शोषित, उत्पिडित जनताले न्याय पाएको बताउनुभयो । उहाँले स्व.कोइराला नेपालमा मात्र स्वतन्त्रताको लागि नभएर भारतको स्वतन्त्रताका लागि समेत योगदान पुर्याउनुभएको महामानवको रुपमा रहनुभएको बताउनुभयो ।
चन्द्रपुर नगरपालिकाका नगर प्मुख सञ्जयकुमार काफ्लेले स्व.कोइरालाको योगदान चिरस्मरणीय रहेको र उनको प्रेरणाले आज मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट पार्न सफलता प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश मिश्रले नेपाली कांग्रेशको झण्डा मात्र बोकेर पार्टी सुदृढ नहुने बताउनुभयो । उहाँले कांग्रेसको सिद्धान्त अनुसार पार्टीका सवै तह तप्काका व्यक्तिहरु चल्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस रौतहट जिल्ला सचिव मिश्रले महामानव स्व.कोइरालाकोे नीति अनुसार भ्रष्टाचार रहित सेवामूलक भावना राखेर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
उक्त अवसरमा बीपीको तस्बिर राखेर माल्यार्पण गरिएको नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली कांग्रेस रौतहट जिल्ला कोषाध्यक्ष सरस्वती गिरीले जानकारी दिनुभयो ।
विक्रम संवत् १९७१ भदौ २४ गते जन्मनुभएका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किनुभएको वीपीको २०३९ साउन ६ गते निधन भएको थियो । उक्त दिनलाई कांग्रेसले वीपी स्मृति दिवसको रूपमा मनाउँदै आएको छ ।