• ६ जेठ २०८१, आइतबार

धुलिखेलको पर्यटन विकासमा ध्यान दिन आग्रह

blog

बनेपा समाचारदाता

बनेपा, असार ३ गते । काभ्रेको धुलिखेलमा रहेका होटल तथा पर्यटन व्यवसायीले धुलिखेललाई पर्यटकीय गन्तव्य बनाउन तथा धुलिखेलमा पर्यटकलाई आकर्षित गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् । 

क्षेत्रीय होटल सङ्घ धुलिखेलले बिहीबार आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा पर्यटन विकाससम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा पर्यटन तथा होटल व्यवसायीले स्थानीय सरकारलगायत सरोकारवाला निकायका ध्यानाकर्षण गराएका हुन् । 

कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जूले धुलिखेल नगरपालिकाले धुलिखेललाई पर्यटकीय गन्तव्य तथा पर्यटकलाई आकर्षित गर्न पर्यटनसँग सम्बन्धित थुप्रै योजना अघि बढाएको बताउनुभयो । 

उहाँले धुलिखेललाई पर्यटकीय क्षेत्र बनाउन तथा पर्यटकीय पूर्वाधार तयार गर्न पर्यटन गुरुयोजना, पर्यटन परिषद् गठन गरेर काम अगाडि बढाएको भन्दै धुलिखेलको पुरानो बजार, श्रीखण्डपुर बजार र वडा नं. १२ को इँट्टे बजारलाई पुनर्जीवन दिनका लागि काम सुरु गर्ने तयारी भइरहेको बताउनुभयो । 

कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गमले धुलिखेलको पर्यटन विकासका लागि नगरपालिकाले होटल तथा पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले स्थानीय सरकारले आफ्नो क्षेत्रमा के कस्तो सम्भावना छ त्यसको अध्ययन गरेर पर्यटकीय विकासका लागि ध्यान दिनुपर्ने बताउनुभयो । 

धुलिखेल नगरपालिकाका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले पर्यटन विकासका लागि सानोभन्दा सानो कुरालाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । क्षेत्रीय होटल सङ्घ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले नगरपालिकाले होटलको मापदण्डअनुसार कर लिनुपर्ने, दीर्घकालीन फोहोर व्यवस्थापनका लागि समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो । 

धुलिखेलमा सञ्चालनमा रहेका साना ठूला गरी ४९ वटा होटलमा करिब आठ अर्ब २२ करोड ५३ लाख रुपियाँ लगानी रहेको छ । ती होटलमा ९५२ जनाले रोजगारी पाएका छन् ।धुलिखेलको होटलबाट वार्षिक नेपाल सरकारलाई १३ करोड ३५ लाख रुपियाँको कर र नगरपालिकालाई व्यवसाय करबापत ३२ लाख ७५ हजार रुपियाँ तिर्ने गरेको व्यवसायीले बताएका छन् ।