• ५ साउन २०८१, शनिबार

रोपिए एक लाख बिरुवा

blog

इश्वरचन्द्र झा-बाबुराम देवकोटा

सिन्धुली, असार ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको दोहनले निम्तिने जोखिमलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ । उहाँले प्रकृति स्वच्छ भए मात्रै हाम्रो जीवन स्वच्छ हुने र हामीले संरक्षण गरे मात्रै प्रकृतिले हामीलाई संरक्षण गर्ने तथ्यलाई नबिर्सन आग्रह गर्नुभएको हो । 

आठौँ चुरे दिवसको अवसर पारेर सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा आयोजित ‘एक दिनमा एक लाख वृक्षरोपण’ कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले चुरे क्षेत्रमा व्यवस्थित विकास गर्न र वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै ढुङ्गा, बालुवा, गिट्टीजस्ता प्राकृतिक स्रोतको सङ्कलन तथा उत्खनन गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई यसप्रति विशेष चनाखो हुन आग्रह गर्नुभयो । 

चुरे क्षेत्रमा अव्यवस्थित बसोबास तथा गिट्टी, ढुङ्गा, बालुवा उत्खननले तराई मधेशका खेतीयोग्य जग्गाको उर्वरापनमा ह्रास आइरहेको छ । चुरे क्षेत्र दोहनले भविष्यमा तराई मधेश क्षेत्रमा आउन सक्ने जोखिमतर्फ इङ्गित गर्दै उहाँले भन्नुभयो, “प्राकृतिक विपत्बाट बचाउने हो भने चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ र भौतिक पूर्वाधार विकासलाई व्यवस्थित पार्नु जरुरी छ ।” 

उहाँले मधेश क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको स्रोत चुरे क्षेत्र र यस क्षेत्रका नदी प्रणाली रहेको बिर्सन नहुने बताउनुभयो । उहाँले कमलामाई नदीको उत्पत्तिस्थलदेखि अन्त्यभएको स्थानसम्म एकीकृत नदी प्रणालीका रूपमा विकास गर्न सुझाव दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसरी विकास गर्न सकियो भने भविष्यमा पर्यापर्यटन, कृषि, वन एवं हरित अर्थतन्त्रको केन्द्रबिन्दु हुने प्रशस्त सम्भावना देखेको छु ।” 

दुधौली नगरपालिका–३ स्थित रानीबास भएर बग्ने कमला नदीको दक्षिणतर्फ १० हेक्टर क्षेत्रफलमा एकैदिन १६ हजार वृक्षरोपण गरिएको छ ।  वृक्षरोपणको शुभारम्भपछि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले ५० क्षेत्रमा एक लाख वृक्षरोपण गरेको जनाएको छ । त्यस अतिरिक्त नेपाली सेनाको वन तथा पर्यावरण निर्देशनालयले ९० हजार वृक्षरोपण गरेको छ । 

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले स्थानीय तहले वातावरण संरक्षणमा ध्यान नदिएको गुनासो गर्नुभयो । “चुरे क्षेत्रमा भइरहेको दोहनले तराई मधेशका उर्वरभूमि मरुभूमिमा परिणत हुँदैछ, अर्कोतर्फ हामीले वार्षिक अर्बौंको खाद्यान्न आयात गर्नुपरेको छ,” उहाँले भन्नुभयो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले डोजर विकासले चुरे जोखिममा परेको तर्क गर्नुभयो ।