• १३ साउन २०८१, आइतबार

‘गोरखापत्र आधिकारिक र विश्वसनीय छवि कायम राख्न सफल’

blog

गोरखापत्र दैनिक र दि राइजिङ नेपाल दैनिकको क्षमता विकास प्रशिक्षणमा सहभागी गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलगायत अतिथि । तस्बिरः कविता थापा

काठमाडौँ, जेठ २ गते । गोरखापत्र र दि राइजिङ नेपालका पत्रकारका लागि दुई दिने क्षमता विकाससम्बन्धी प्रशिक्षण बिहीबारबाट सुरु भएको छ।

 सो अवसरमा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले गोरखापत्रले सरकारका नीति तथा दृष्टिकोणलाई जनतासम्म पुर्‍याउने र जनताका मुद्दा राज्यसम्म पुर्‍याउने सेतुका रुपमा दायित्व निर्वाह गर्दै आएको बताउँदै भन्नुभयो, “प्राथमिक सूचना प्रदान गर्नु, सही र सत्य विषयलाई समाचारमार्फत् प्रस्तुत गर्नु र जनतालाई सजग गराउनु गोरखापत्रको काम हो।” 

गोरखापत्रमा रहेर पत्रकारिता गरिसक्नुभएका पत्रकार अधिकारीले आधिकारिक र विश्वसनीय सञ्चारमाध्यमका रुपमा छवि कायम राख्न गोरखापत्र सफल भएको बताउँदै समाजका कान र आँखाको भूमिकामा गोरखापत्र सदैव रहनुपर्ने सुझाव दिनुभयो।


अर्का पत्रकार गेजा शर्मा वाग्लेले सार्वजनिक सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै भन्नुभयो, “गोरखापत्र स्वायत्त सार्वजनिक संस्था हो, त्यसैले सबैभन्दा विश्वसनीय हुनुपर्छ।”

उहाँले गोरखापत्रले शासकीय, मौलिक हक, भ्रष्टाचारजस्ता विषयलाई प्राथमिकता दिनुपर्ने बताउँदै राजनीतिक दललाई उत्तरदायी बनाउन आलोचनात्मक रिपोर्टिङ गर्नुपर्ने सुझाव दिनुभयो।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र युगको इतिहास भएकाले हरेक राजनीतिक परिवर्तनमा साक्षी भएको बताउँदै समाचारका प्रस्तुति अझै गुणस्तरीय र विश्वसनीय बनाउन गोरखापत्रका पत्रकार क्रियाशील रहेको बताउनुभयो।

 गोरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराईले नयाँ युगमा पाठक स्मार्ट भइसकेको चर्चा गर्दै अब पाठकको चाहना र समयअनुसार अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो। दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले संस्थानका उत्पादनलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभयो।