• १३ वैशाख २०८१, बिहिबार

‘आफ्नो इज्जत बढाउन अरुलाई सम्मान गर्नुपर्छ’

blog

काठमाडौं, असार २ गते । २९ वर्ष ट्राफिक प्रहरीको अनुभव बटुल्नुभएका सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । नगर प्रहरी प्रमुखको रुपमा आउनुभएको २१ महिना भएको छ । यस अवधिमा उहाँले  नगरपालिकामा सकारात्मक परिवर्तनका लागि विभिन्न प्रयास गर्नुभएको छ । 

नगर प्रहरीको काम चुनौतीपूर्ण 

ट्राफिक प्रहरीभन्दा नगर प्रहरीको काम चुनौतीपूर्ण रहेको हाछेथुको अनुभव छ । ट्राफिक जनचेतना, जाम, सवारी दुर्घटना जहाँ हुन्छ त्यही मात्र ट्राफिक प्रहरी पुगे भइहाल्छ । तर, नगर प्रहरीले फुटपाथ, बाढी पीडित, सवारी पार्किङ र ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था, जात्रा पर्व जस्ता धेरै काम गर्नुपर्ने उहाँको भनाइ छ ।  १२ घण्टा ड्युटी गर्दा पनि नथाक्ने हाछेथुको अनुहारमा मुस्कार र जिम्मेवारीबोध दुवै देखिन्छ । 

नगर प्रमुखलाई फुटपाथ वा तरकारी प्रहरीको रुपमा मात्र चिन्ने हाछेथुले बताउनुभयो । तरकारी उठाउने र फुटपाथ हटाउने कामकै कारण नगर प्रहरी जनताको साथी नभएर दुश्मन बनेको थियो । पूर्वप्रहरीको लामो अनुभव भएका कारण नगर प्रहरी व्यवस्थापन गर्न कुनै हाछेथुलाई कुनै समस्या भएको छैन ।  नगर प्रहरी स्थानीय प्रहरी हो । नगर प्रहरीको रुपमा ५८ वर्षसम्म सेवा गर्न पाइन्छ । 

नगर प्रहरीमा आएको परिवर्तन

नगर प्रहरीको काम र व्यवहारमा परिवर्तन ल्याउनु हाछेथुको पहिलो उपलब्धि हो । हाछेथुको कमान्डमा रहेका ७८ जना नगर प्रहरीलाई अरुबाट इज्जत लिनुभन्दा पनि आफूले अरुलाई इज्जत दिनुपर्छ भन्ने मानसिकताको विकास गराउनु हाछेथुको पहिलो राम्रो परिवर्तन थियो । जुन आजसम्म पनि चलनमा छ, नगर प्रमुखले गालीको सट्टा तपाईं भन्न सिकाउनुभयो । 

यस्तै, नगर प्रमुखले लठ्ठी बोक्ने चलन हटाउने, पोसाक पविर्तन, आर्थिक प्रलोभनको बाटोमा नलाग्ने, फुटपाथका व्यापारीसँग खानेकुरा नलिने, साइकल लेनको प्रयोग गर्ने चलनको विकास, राति गस्ती गर्ने, मठमन्दिरमा सरसफाइ लगायत अन्य काममा नगर प्रहरीको संलग्नता रहेको हाछेथु बताउनुहुन्छ ।


यससँगै रक्सीजन्य पदार्थको बारेमा गरिएका विज्ञापन, अनधिकृत रुपमा राखिएका होडिङ बोर्ड हटाउने, कुपन्डोलदेखि कुमारीपाटीसम्म र एकान्तकुनादेखि जावलाखेलसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गर्नुभएको छ । जसमा कसैले पनि फुटपाथमा पसल वा कुनै सामान राख्न पाउने छैनन् । यस्तै, महानगरभित्र रहेका मठ मन्दिर तथा पाटी दिनको एउटा सफा गर्ने, महानगरभित्रका नौ वटा चोकमा ट्राफिक प्रहरीलाई सहयोग गर्न एकजना नगर प्रहरी परिचालन गरिएको छ ।

यी कामसँगसँगै नगर प्रमुखले जनताको मन जित्न सफल भएकोमा गर्व महसुस हुने उहाँ बताउनुहुन्छ । “नगरबासीलाई नगर प्रहरी मेरो साथी हो भन्ने विश्वास दिलाउन हामी सफल भएका छौं,” हाछेथुले भन्नुभयो ।  अहिले ललितपुर नगरपालिकामा फुटपाथ पसल बिहान ८ बजेसम्म र बेलुका ५ बजेदेखि राख्न पाउने व्यवस्था मिलाइएको छ । हाछेथुका अनुसार यसरी अहिले फुटपाथका व्यवसायीसँगको सम्बन्ध राम्रो बनेको छ । पहिले जस्तो नगर प्रहरी आएपछि ठेला गाडा र नाङ्लो बोकेर भाग्ने गदैनन् व्यवसायी । 

दुई हातमा खोपिएका ट्याटुको कथा

सरकारी सेवाबाट अवकास प्राप्त भैसकेपछि पनि उहाँको मनबाट ट्राफिक प्रहरी हटेन । “अवकास लिएको ६ दिनसम्म त मलाई निन्द्रा लागेन छटपटी भयो,” उहाँ भन्नुहुन्छ, “गाडीले हर्न बजाउँदा र गाडीको आवाज कानमा ठोक्किँदा सडकमै जाउँ–जाउँ लाग्थ्यो ।”

उहाँलाई शरीरमा ट्याटु खोप्ने ठूलो रहर थियो । तर, नेपाल प्रहरीमा रहेकाले ट्याटु खोप्न पाउनुभएको थिएन । अवकाश प्राप्त भएपछि उहाँ एकजना साथी लिएर ठमेलस्थित गगन ट्याटुमा पुग्नुभयो । त्यहाँ उहाँको ट्याटु खोप्नका लागि सबै तयारी पुरा भयो । यत्तिकैमा ट्याटु खोप्नेले के नामको खोप्ने भनेर हाछेथुलाई सोेधे । उहाँले ‘ट्राफिक नियम पालना गरौं’ भनेपछि ट्याटु खोप्ने मान्छे मज्जाले हाँसेको हाछेथु सम्झिन्छन् । ‘मैले ट्राफिक नियमको पालना गरौं भन्दा ती भाइ मज्जाले हाँसेका थिए । सुरुमा त उहाँले मैले ट्याटु खोप्न लागेको भनेर पत्याएका थिएनन्, हाछेथुले भन्नुभयो । उहाँले यसरी आफ्नो बाँया हातमा ‘ट्राफिक नियम पालना गरौं’ ट्याटु खोप्नुभएको छ ।

यससँगै उहाँको दायाँ हातमा ‘नो स्मोकिङ’ लेखिएको अर्को ट्याटु पनि छ । “धूमपानसँग मेरा कैयौं तीतो र मिठो याद जोडिएको छ । धूमपान शब्दकै कारण मैले केही पाएको छु भने केही गुमाएको पनि छु । यस कारण मैले यो ट्याटु खाेपेको हुँ,” हाछेथुले भन्नुभयो । हाछेथुको ललितपुर महानगरपालिका स्वच्छ र हराभरा बनाउने सपना पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो ।