गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३ गते । सरकारले २०८१ चैत १५ गते तीनकुनेमा भएको पूर्वराजासमर्थक समूहको आन्दोलनमा मारिएका पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई रोजगारी प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालयमातहतको सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरको जागिर प्रदान गरिएको हो ।
मङ्गलबार मन्त्रालयमै मगियालाई नियुक्तिपत्र दिँदै मन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलनका क्रममा पत्रकार रजकको मृत्यु हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिम मोलेर पत्रकारिता गरिरहँदा सुरेशको दुःखद निधन भएको थियो । सुरेशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने मन्त्रालयलाई लागिरहेको थियो । रोजगारी व्यवस्था गरिएको छ । यसले थोरै भए पनि राहत र सान्त्वना मिल्ने अपेक्षा छ ।”
मन्त्री खरेलले रजकलाई सहिद पत्रकार घोषणा गर्ने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले रजककी श्रीमती मगियाका लागि निःशुल्क उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो । भन्नुभयो, “तपाईंले उच्च शिक्षा अध्ययन गर्न चाहनुभयो भने मेरो व्यक्तिगत र मन्त्रालयको तर्फबाट पनि सहयोग हुने छ ।”
सजक मारिएको घटना स्मरण गर्दै मन्त्री खरेलले भन्नुभयो, “पत्रकार सधैँ अरूका बारेमा लेख्छ र बोल्छ । तर त्यही पत्रकार आफैँ कति अन्याय र समस्यामा परेको हुन्छ, जीवनलाई हरपल जोखिममा राखिरहेको हुन्छ । यस्तो अवस्थामा मिडिया हाउस र राज्य अभिभावकका रूपमा हुनु पर्छ ।”
मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले मगियालाई कम्प्युटर अपरेटरको नियुक्तिपत्र प्रदान गर्नुभयो ।