• २१ असार २०८१, शुक्रबार

सुरक्षाको खोजीमा स्विडेन र फिनल्यान्ड

blog

युरोपमा असुरक्षा बढेसँगै सुरक्षाका लागि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को आवश्यकता महसुस गरिएको छ । रुस आक्रामक बनेपछि यसका छिमेकी मुलुकले नेटोको सुरक्षा खोजेका हुन् । नेटोलाई थप सशक्त र प्रभावकारी बनाएर रुसको आक्रमणबाट जोगाउनुपर्ने दायित्वबोध गरिएको छ । यसै सन्दर्भमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि असुरक्षित महसुस गरेका स्विडेन र फिनल्यान्ड नेटोमा प्रवेश गर्ने निर्णय गरेका छन् । दुवै देशले नेटो सदस्यताका लागि आवेदन दिएका छन् । अमेरिकालगायतका देशले यस कदमको स्वागत गरे पनि रुस र टर्कीले भने आपत्ति जनाएका छन् । 

अमेरिकी राष्ट्रपति जोए बाइडेनले नेटोको सदस्यता लिने स्विडेन र फिनल्यान्डको ऐतिहासिक निर्णयप्रति अमेरिकाको पूर्ण समर्थन रहने बताउनुभएको छ । नेटोको सदस्यता पाउन स्विडेन र फिनल्यान्डलाई त्यसका सबै ३० सदस्य राष्ट्रको समर्थन चाहिन्छ । बाइडेनले स्विडेन र फिनल्यान्डले नेटोको सदस्यता पाएपछि सुरक्षा अवस्था सुदृढ हुने र त्यसले विश्वभरि सुरक्षा सहकार्य बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म स्पष्ट पार्न चाहन्छु कि नेटोमा नयाँ सदस्यहरू जोडिँदा कुनै देशलाई खतरा हुनेछैन ।”

दुई देशको पछिल्लो कदमलाई युरोपेली भूराजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ । यो कदमको टर्कीले विरोध गरेको छ । स्विडेन र फिनल्यान्डले कुर्दिस लडाकुहरूलाई सघाउने गरेको टर्कीको आरोप छ । फिनल्यान्डले आतङ्कवादलाई लिएर गम्भीर रहेको र टर्कीको सुरक्षा चासोप्रति प्रतिबद्ध रहेको बताएको छ । रुसले नेटोलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतराका रूपमा लिएको छ । यसअघिसम्म स्विडेन र फिनल्यान्ड तटस्थ मुलुक थिए । 

युक्रेनमाथि रुसी आक्रमणलाई लिएर आफ्नो सुरक्षाप्रति बढ्दो चासोबीच स्विडेन र फिनल्यान्डले दशकौँदेखिको तटस्थता त्याग्दै नेटोमा आबद्ध हुने निर्णय गरेका हुन् । फिनल्यान्डको १३ सय किलोमिटर सिमाना रुससँग जोडिएको छ ।

युद्धको समयमा तटस्थता कायम गर्ने र सैन्य गठबन्धनबाट अलग रहेको इतिहास बोकेका फिनल्यान्ड र स्विडेन नेटोमा आबद्ध हुने निर्णयले युरोपको भूराजनीतिमा नयाँ हलचल ल्याएको छ । रुसले युक्रेनमा गरेको आक्रमण नेटोका लागि ७३ वर्षे इतिहासमा ठूलो चुनौती बनेको छ ।

रुसले आक्रमण गर्नुको कारण रुससँग सीमा जोडिएको युक्रेन अमेरिकी नेतृत्वमा रहेको सैन्य गठबन्धन नेटोमा आबद्ध हुने प्रयासलाई विफल पार्नु हो । रुसले युक्रेनमाथि आक्रमण जारी राखे पनि नेटो सेनाले युक्रेनको पक्षमा लडेको छैन । यद्यपि अमेरिका, बेलायत, फ्रान्स र जर्मनी सदस्य रहेको नेटोले थप सेनालाई पूर्वी युरोपमा पठाएको छ ।

नेटो अमेरिकी नेतृत्वको एउटा सैन्य गठबन्धन हो । यो सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए । ती देशमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जेमबर्ग, नेदरल्यान्ड, नर्वे, पोर्चुगल, बेलायत र अमेरिका रहेका थिए । कुनै एक सदस्य राष्ट्रविरुद्ध सशस्त्र हमला भए एक–अर्काको सहायता गर्ने सहमति यी सदस्य राष्ट्रले गरेका थिए । 

रुसले सन् २०१४ मा युक्रेनको क्रिमिया गाभेयता नेटोले पूर्वी युरोपमा सेनाको समूह राखेको छ । नेटोको उद्देश्य युरोपमा युद्धपछिको रुसको विस्तारले दिने खतराविरुद्ध लड्नु हो ।

सन् १९५५ मा तत्कालीन सोभियत सङ्घले नेटो गठनप्रति प्रतिक्रिया जनाउँदै पूर्वी युरोपेली कम्युनिस्ट देशहरूको सैन्य गठबन्धन वार्सा बनायो । सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि वार्सा पनि विघटन भयो । त्यसपछि केही पूर्वसदस्यहरूले आफ्नो कित्ता परिवर्तन गरेर नेटोका सदस्य बने । नेटो गठबन्धनमा अहिले ३० राष्ट्र छन् । 

युक्रेन पूर्वसोभियत गणतन्त्र हो जसको सीमा रुस र युरोपेली सङ्घसँग जोडिएको छ । युक्रेनमा रुसी मानिसको ठूलो जनसङ्ख्या छ । रुससँग उसको सामाजिक र सांस्कृतिक निकटता छ । यद्यपि हालैका वर्षमा युक्रेन भने पश्चिमतर्फ निकट देखिँदै आएको छ । उसले युरोपेली सङ्घ र नेटोमा आबद्ध हुने उद्देश्य राखेर त्यसलाई संविधानमै लेखेको छ ।

युक्रेन अहिले नेटोको साझेदार देश हो । यसको अर्थ भविष्यमा कुनै बेला नेटोमा आबद्ध हुन उसलाई अनुमति दिइन्छ भन्ने समझदारी रहेको छ । यो कुरा रुसलाई पटक्कै मनपरेको छैन । उसको उद्देश्य जसरी पनि युक्रेनलाई नेटो र ईयूमा आबद्ध हुन रोक्नु हो । त्यसैका लागि रुसले युक्रेनमा आक्रमण गरेको हो ।

यस कदमले रुस चरम विवादमा परेको छ । युक्रेनमाथिको रुसी आक्रमणको विश्वव्यापी विरोध भएको छ । सार्वभौम मुलुक युक्रेनमाथिको यो आक्रमणसँगै रुस विश्व समुदायबाट एक्लिँदै गएको छ । अहिले विश्व जनमत युक्रेनको पक्षमा छ । युक्रेनमाथि रुसले अमानवीय आक्रमण गरेको र यसका लागि रुसलाई दण्डित गर्नुपर्ने आवाज उठेको छ ।

यसमा रुसको भने आफ्नै गुनासो छ । अमेरिकालगायत पश्चिमा देशले नेटो विस्तार गरी आफूलाई घेराबन्दी गर्न लागेकाले बाध्य भई आक्रामक कदम चाल्नुपरेको रुसको भनाइ छ । छिमेकी युक्रेन नेटो र ईयूमा सामेल भए आफ्नो सुरक्षा खतरामा पर्छ भन्ने रुसको जिकिर छ । रुस भने पश्चिमा शक्तिबाट युक्रेन कहिल्यै पनि नेटोमा आबद्ध हुँदैन भनी आश्वस्त हुन चाहन्छ ।

अमेरिका र उसका साझेदारहरू नेटोमा युक्रेनलाई बन्देज लगाउन अस्वीकार गरिरहेका छन् । उनीहरूले युक्रेन एउटा सार्वभौम देश भएको भन्दै उसलाई उसकै सुरक्षा गठबन्धनबारे निर्णय गर्न स्वतन्त्रता हुनुपर्ने बताउँदै आएका छन्। । रुस पूर्वी युरोपमा नेटो विस्तार र यसको गतिविधिप्रति चिन्तित छ । नेटो पूर्वतर्फ विस्तार हुँदैन भनेर सन् १९९० मा भएको प्रत्याभूति अमेरिकाले तोडेको आरोप रुसले गरेको छ । अमेरिकाले भने आफूले त्यस्तो वाचा नगरेको जनाएको छ ।

युक्रेनले आफ्ना रुस समर्थित राष्ट्रपतिलाई सन् २०१४ मा अपदस्थ गरेलगत्तै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपलाई रुसले गाभेको थियो । पूर्वी युक्रेनको ठूलो भूभाग कब्जा गरेका रुस समर्थित पृथकतावादीलाई पनि रुसले समर्थन गर्दै आएको छ । नेटोको इस्टोनिया, लाटभिया, लिथुवानिया र पोल्यान्डमा चार बहुराष्ट्रिय बटालियन छन् भने रोमानियामा बहुराष्ट्रिय ब्रिगेड छन् । रुसले नेटोका सदस्य राष्ट्रको सीमा उल्लङ्घन गरे त्यसमा अवरोध गर्नका लागि उसले बाल्टिक राज्य र पूर्वी युरोपमा हवाई नीति पनि विस्तार गरेको छ । रुसले नेटो फौज त्यहाँबाट हटाउन चाहेको छ ।

नेटोको पूर्वी सीमा बलियो बनाउनका लागि अमेरिकाले पोल्यान्ड र रोमानियामा हजारौँ थप फौज पठाएको छ र थप सेनालाई तयारी अवस्थामा राखिएको छ । उसले त्यहाँ ठूलो सङ्ख्यामा हतियार पनि पठाएको छ । नेटोका अन्य सदस्य राष्ट्रलाई अमेरिकामा बनेका हतियारहरू युक्रेनमा पठाउन अनुमति दिएको छ ।

बेलायतले युक्रेनलाई छोटो दूरीका एन्टिट्याङ्क क्षेप्यास्त्र पठाएको छ । ३५० जना सैनिक पोल्यान्ड पठाएको छ । थप नौ सय सेना पठाएर इस्टोनियामा पनि उसले आफ्नो शक्ति दोब्बर बनाएको छ । थप लडाकु विमानहरू दक्षिणी युरोपमा पठाएको छ र नौसैनिक जहाज पनि पूर्वी भूमध्यसागरमा नेटोका युद्धपोतसँगै गस्तीमा पठाएको छ । त्यसैगरी डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्यान्डले लडाकु विमानहरू र युद्धपोत पूर्वी युरोप र पूर्वी भूमध्यसागरमा पठाएका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालेका कदमले उत्तरी युरोपमा लामो समयदेखि महसुस गरिएको स्थायित्व अन्त्य भएको छ । त्यसले स्विडेन र फिनल्यान्डलाई जोखिम महसुस गराएको छ । फिनल्यान्डका पूर्वप्रधानमन्त्री आलेक्सान्डर स्टबले फेबु्रअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेलगत्तै नेटोमा आबद्ध हुनु आफ्नो देशका लागि अपरिहार्य भएको बताउनुभएको थियो । फिनल्यान्ड र स्विडेनका नागरिकहरूले अनिश्चित युरोपमा नेटोले उनीहरूलाई सुरक्षित राख्ने विश्वास गरिरहेका छन् । 


Author

रामप्रसाद आचार्य