• २४ साउन २०७९, मङ्गलबार

न्यायको माग गर्दै निहारिका अनशनमा : सदनदेखि सडकसम्म दोषीलाई कारबाहीको माग

blog

न्यायको माग गर्दै अनसनरत निहारिका राजपुत । तस्बिरः केशब गुरुङ

सपना थामी / सनम महर्जन

काठमाडौं, असार १ गते । अविवाहित आमा निहारिका राजपुत २१ महिने काखे बालकसहित राजधानीमा पाँच दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । पहिलो दिन माईतीघरमा अनशन बस्ने क्रममा प्रहरीकाे धरपकडपछि सिंहदरबारस्थित प्रहरी वृत्तमा राखियो र सोही दिनकाे मध्यरातमा छाडियाे । अहिले वसन्तपुर दरबार क्षेत्रस्थित एक ठाउँमा पाल टाँगेर निहारिका अनशनरत हुनुहुन्छ । निहारिकाको माग छ, डिएनए परीक्षण होस् र अपराधीलाई कानुनी दायरामा ल्याइयोस् ।

महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका २०७६ साल कात्तिकमा पढ्नका लागि धनुषास्थित साथी रश्मि श्रेष्ठको घर पुग्नुभयो । त्यसक्रममा साथीको दाइ पर्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाई आफूमाथि जबरजस्ती करणी गरेको निहारिकाको आरोप छ । १७ वर्षको उमेरमा त्यसखाले दुर्गति व्यहोर्नुभएको उहाँसँग अहिले २१ महिने छोरा रिहान छ ।


त्यसबखत, त्यो कुरा बाहिर आए उहाँको रेकर्डेड तस्विर, भिडियो सार्वजनिक गरिने धम्कीमा उहाँ पर्नुभयो । आफूमाथि बितेको यो घटना परिवारलाई १३ / १४ दिनसम्म उहाँले भन्न सक्नुभएन । त्यसपछि भने न्यायको लडाईं गर्ने निधोमा पुग्नुभएका निहारिकाले प्रहरी प्रशासनमा उजुरी दिनुभयो । केही महिनापछि घटनाबारे दर्ता गर्ने बेलामा मेडिकल रिपोर्टमा आफू गर्भवती भएको देखिएपछि उहाँ डराउनुभयो ।

छोरा नै प्रमाण भएको भन्दै न्यायको लडाइँमा निहारिका


उहाँ भन्नुहुन्छ, “२०७७ साल भदौ ५ गते निहारिकाको छोरा रिहान जन्मियो । घटना भएको २ वर्षसम्म पनि मलाई बलात्कार गर्ने मान्छे समातिएन,” निहारिका भन्नुहुन्छ, “अब मेरो बच्चाको डीएनए परीक्षण नभएसम्म, अपराधीलाई कानुनले कारबाही नभएसम्म म अनशन तोड्दिनँ ।” न्यायका लागि प्रहरी प्रशासनदेखि महिला आयोगसम्म पुगे पनि अन्तिम विकल्पको रुपमा अनशनको बाटो रोजेको उहाँ भन्नुहुन्छ, “मेरो बच्चाको न्यायको लागि म आमरण अनसन बसेकाे हुँ । अपराधी खुलेआम हिँडिरहेको छ । आरोपितलाई पक्राउ गरी कानुनी कारवाही हुनपर्यो । मेरो बच्चाले उचित न्याय पाउनुप¥यो । अपराधीले सजाय नपाउन्जेलसम्म मेरो अनशन जारी रहन्छ ।”

परिवार, समाज र आफन्तजनले सबैको एक मात्र उत्कृष्ट सल्लाह थियो – गर्भपतन । तर, जिल्ला अदालतको फैसला न्यायपूर्ण नभएपछि त्यहाँ पनि उहाँले धर्ना दिनुभयो । आफ्नै परिवारबाट तिरस्कृत र कतैबाट सहयोग नभएपछि आफ्नो बच्चा नै प्रमुख प्रमाणको आधार मान्नुहुँदै उहाँ न्याय खोज्दै काठमाडौं आउनुभयो । उहाँको परिवारमा बुबा र सानीआमा हुनुहुन्छ, आमा हुनुहुन्नँ ।

भौतारिने क्रममा उहाँको मुद्दा झन्–झन् कमजोर बन्दै गयो । कोटेश्वरको बालकुमारीको एक घरमा प्रतिमहिना छ हजार भाडा तिरेर बस्नुहुने उहाँलाई जीविकाेपार्जनमा जटिल हुँदै गयो । त्यसयता भक्तपुरको ठिमीस्थित एक घरमा अस्थायी बसोबास गर्दै आउनुभएको छ । दिनहुँ भोकभोकै मर्नुभन्दा न्यायका लागि बरु लडेर मर्ने प्रण उहाँको हो ।

अनशनमा भेटघाटका लागि महिला आयोगका प्रतिनिधि, अधिकारकर्मी, नेता र सांसदसम्मले निहारिकालाई भेट्ने ताँती छ आजभोलि । तर, न्याय पाउने विश्वास भने उहाँमा पलाएको छैन । अहिले आश्वासन दिएर अनशन तोडे पनि पछि साथ नदिने शङ्का उहाँमा छ । 

चौथौं दिनमा उहाँहरुको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको आकस्मिक सेवामा उपचार भयो । तर, पाँचौं दिनमा निहारिकासहित उहाँको समर्थक पुनः अनशनमा हुनुहुन्छ । छोरो रिहानको स्वास्थ्यमा समेत ज्वराे आउनेलगायतको समस्या बेलाबखत देखिने गरेको छ ।  

यसैबीच, कक्षा ११ मा पढ्दै गर्दा त्यो दुर्दशा खेप्नुभएका उहाँ अहिले २० वर्षीया निहारिकाले संघर्ष गर्दै जसोतसो १२ कक्षा उत्तीर्ण गर्नुभएको छ । उहाँका सहयोगीका अनुसार न्यायको लडाइँ जितेपछि स्नातक तहमा कानुन पढ्ने सोचमा उहाँ हुनुहुन्छ । तर, न्याय नपाएर प्रत्येक पल मर्नुभन्दा छोराको अधिकारका लागि राज्यसँग न्याय माग्ने अडानमा हुनुहुन्छ उहाँ  ।  न्यायको माग गर्दै  अनसनमा रहनु भएकी निहारिकाकाे पक्षमा प्रतिनिधिसभाकाे बैठकदेखि सडकसम्म दोषीलाई कारबाही गर्न अावाज उठेकाे छ ।