• २० असार २०८१, बिहिबार

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको गृहकार्य हुँदैछ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ,असार १ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने संयुक्त राज्य अमेरिका भ्रमणको गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँले दुवै राष्ट्रका प्रमुखलाई उपयुक्त हुने मिति तय हुँदै गरेको पनि बताउनुभयो । 

प्रतिनिधि सभामा भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित छलफलमा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्ता भ्रमण पारदर्शी र जवाफदेही ढङ्गबाट हुने स्पष्ट पार्नुभयो । उहाँले नेपालको हितविपरीत हुने सैन्य सम्झौताका लागि भ्रमण हुन लागेको नभई सरकार कुनै पनि प्रकारको सैन्य गठबन्धनमा नजाने स्पष्ट पार्नुभयो । उहाँले त्यो आवश्यकता पनि नरहेको भन्दै सरकारले कुनै पनि देशसँग सैन्य गठबन्धन गर्ने सोच्नसम्म नसक्ने बताउनुभयो । 

सासंदहरूले उठाउनुभएका स्टेट पार्टनरसिप प्रोग्राम (एपीपी)सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले भन्नुभयो, “हिजोको दिनमा एमसीसी आइरहँदा पनि नेपाललाई सैन्य गठबन्धनमा लिने सम्झौता हो कि भनेर आशङ्का गरिएको थियो । अहिले एपीपी त्यसैअन्तर्गतको हो कि भन्ने आशङ्का गरिएको छ तर मैले थाहा पाएसम्म इन्डोप्यासिफिक रणनीति कुनै औपचारिक गठबन्धन होइन । न त कुनै सन्धि नै हो ।”

उहाँले भन्नुभयो, “स्टेट पार्टनरसीप प्रोग्राम (एपीपी) अमेरिकाले प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने क्रममा मानवीय सहयोग र सांस्कृतिक आदानप्रदान क्षमता अभिवृद्धि गर्ने अवधारणाले आएको स्पष्ट पार्नुभयो । उहाँले यो सन्धि वा सम्झौता नभई अस्थायी अवधारणा मात्र रहेको कुनै खास मिसनपछि सकिने बताउनुभयो ।

विदेश नीतिका विभिन्न आयामलाई धेरै विश्लेषण गरेर परराष्ट्र मन्त्रालय अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो । नेपाल र अमेरिकाका प्रथम महिलाबीचको भेट गर्ने कार्यक्रम पनि राष्ट्र हितविपरीत नहुने स्पष्ट पार्दै परराष्ट्रमन्त्री डा. खड्काले यस्ता औपचारिक अनौपचारिक भेट हुनु सामान्य भएको बताउनुभयो ।  

हाम्रो परराष्ट्र नीतिको मूल सिद्धान्त मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै नेपालको समुन्नत विकासमा अगाडि बढाउने रहेको उहाँले बताउनुभयो । सोहीअनुरूप नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूलाई प्रस्तुत गर्दै  आएको र त्यसको प्रतिफल पनि प्राप्त हुन थालेको मन्त्री खड्काले बताउनुभयो । उहाँले प्रधानसेनापति सिरिया हुँदै अमेरिका जाने कार्यक्रम रहेको पनि बैठकमा जानकारी गराउनुभयो । हिजोको दिनमा पनि प्रधानसेनापतिले विभिन्न देशको भ्रमण गर्ने गरेको स्मरण गर्दै यो पनि नियमित भ्रमण भएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगत्मा बढाउनकै लागि पहिलो पटक अफगानिस्तानमा मानवीय सहयोग गर्न पुगेको पनि उहाँले बताउनुभयो । नेपाल र छिमेकी मुलुक तथा अन्य मित्रराष्ट्रका उच्च पदस्थ अधिकारीहरूको भ्रमण निरन्तर भइरहने उहाँले उल्लेख गर्नुभयो । 

लिम्पियाधुरालगायत मिचिएका भूभागको समस्या पनि प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा उठेको र कूटनीतिक पहलबाट समाधान गर्न मन्त्रालय तयार रहेको उहाँले बताउनुभयो । नेपाल उत्तर, दक्षिण कतै पनि नढल्केको र नेपालको हितका लागि सन्तुलित नीतिमा अडिग रहेको उहाँले स्पष्ट पार्नुभयो ।  उहाँले राहदानी विभागमा बिचौलियालाई रोक्ने र लामो लाइन बस्नु नपर्ने व्यवस्था मिलाइएको संसद्मा जानकारी गराउनुभयो । त्यहाँ जनशक्तिको अभाव रहेकाले केही अप्ठ्यारो परेको उहाँको भनाइ थियो । डिजिटल राहदानी सरल र सहज बनाउन मन्त्रालयले काम सुरु गरिसकेको पनि बताउनुभयो ।