• १५ असोज २०८१, मङ्गलबार

सार्वजनिक सवारी व्यवस्थापन सूत्र

blog

देशको सङ्घीय राजधानी काठमाडौँको सार्वजनिक यातायात कहिल्यै व्यवस्थित हुन सकेन । सवारी व्यवस्थापन, व्यवस्थित सञ्चालन तथा आधुनिकीकरणमा सम्बन्धित सरोकारवाला पक्षको प्रयासले मूर्तरूप लिन पनि सकिरहेको देखिँदैन । सबैले अवसरको थलोका रूपमा लिएको राजधानी काठमाडौँ कुनै निर्दिष्ट योजना तथा सोचको अभावमा त्यसै निरीह त थियो नै, हाल राजधानीवासीको दैनिक जीवनयापनसमेत यातायातको अव्यवस्थाले अस्तव्यस्त बनाएको छ । 

योजनाबद्ध विकास नहुँदाको परिणाम साँघुरा सडक, सडक पेटी अतिक्रमण हुनु, पेटी नै नहुुुनु, कर तथा राजस्व वृद्धि, लक्षित सवारी आयात नीतिको मार सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले भोगिरहनुपरेको छ । सडक सूचनाको पर्याप्त अभावका साथसाथै सरकारको सार्वजनिक यातायात सुधारको अल्पकालीन तथा दीर्घकालीन लक्ष्य स्पष्ट नुहुनु सवारीसाधन व्यवस्थापनमा देखिएको प्रमुख चुनौती हो । भौतिक पूर्वाधारको विकास, प्रतिव्यक्ति आयमा वृद्धि, अन्तर्राष्ट्रिय सहकार्यमा नयाँ आयाम, व्यक्तिको आवश्यकता तथा चाहनामा आएको परिवर्तनका साथसाथ सहरी जीवनमा आउने परिवर्तनलाई स्वाभाविक रूपमा लिनुपर्ने हुन्छ । 

यसै परिप्रेक्ष्यमा राजधानीवासीको जीवनशैलीमा आएको परिवर्तन तथा आवश्यकताका कारण छिटोछरितो तथा सुरक्षित यात्राको चाहनालाई अन्यथा लिनु पनि हुँदैन । के यो सहज र सम्भव भइरहेको छ त ? आफूले तिरेको करबाट सुविधा प्राप्त गर्नुपर्ने नागरिकले यो विषयलाई अभियानका रूपमा उठाइरहेका छन् । यो मौनता र यथास्थितिवादी मानसिकता नै अवस्थित सार्वजनिक यातायातको पर्याय बनेको छ । चौडा सडक, बस रोकिने निर्दिष्ट स्थान, व्यवस्थित सडक पेटी, तालिकाको आधारमा सञ्चालन हुने यातायातका साधन, शिक्षित यात्रु, नगरवासीलाई सार्वजनिक साधनको उपयोग सम्बन्धमा सुसूचित गराउन आवश्यक छ । 

स्थानीय तहले समयसापेक्ष यातायातसम्बन्धी नयाँ नीति तथा नियम बनाउनुपर्छ । ती नीति नियम लागू भए÷नभएकोबारे सरकारी संयन्त्रले नियमित अनुगमन गर्नुपर्छ । यात्रुसेवाका लागि यातायात सेवा सञ्चालन गर्न स्वीकृतिप्राप्त बस समिति÷कम्पनी व्यवस्थित सार्वजनिक यातायातको सञ्चालनको पर्याय हुन् । विडम्बना कुनै सडक व्यवस्थित छैनन् । जताततै अतिक्रमित सडक पेटी देख्दा पनि सरोकारवाला मौन छन् । बस बिसौनी कतै पनि व्यवस्थित छैनन् । कुन रुटमा कति यात्रु कुन दिन कुन समयमा यात्रा गर्दछन् र सोको लागि कतिवटा बस कुन–कुन समयमा सञ्चालन हुनुपर्छ भन्ने जानकारी÷तथ्याङ्क यातायात व्यवसायी तथा सरकारी निकायमा छैन । 

राजधानीमा हाल बस तथा माइक्रोबस व्यवस्थित रूपमा चलिरहेका छैनन् । ती त सबै ट्याक्सीजस्तो गरी सञ्चालन भइरहेका छन् । यात्रु पनि जहाँ पायो त्यहीँ हात दिएर बस रोक्न इशारा गर्ने र माइक्रोबस पनि पछाडिको साधनलाई ख्याल नगरी यात्रुले हात दिएको स्थानमै तत्काल सवारीसाधन रोकी यात्रु राख्ने गर्छन् । उकाल्ने ओराल्ने हालको परिपाटीले अव्यवस्थित सहरको झल्को मात्र दिएको छैन, यही कारण दैनिक दुर्घटनाको सङ्ख्यामा वृद्धि हुनुका साथै जनधनको क्षतिसमेत भइरहेको छ । 

सार्वजनिक यातायातको दूरावस्थाका बारेमा चर्चा गरिरहने हो भने यसको अन्त्य कहिल्यै हुँदैन । सरोकारवालाले यसको व्यवस्थित सञ्चालन, आधुनिकीकरण तथा यात्रुमैत्री सेवा उपलब्ध गराउन आआफ्नो तर्फबाट जिम्मेवारीपूर्ण रूपमा निर्दिष्ट लक्ष्यसहितको समय–सीमा तथा कार्ययोजना तय गर्नुपर्छ । यस सम्बन्धमा छिमेकी मुलुकले अपनाएका विधि तथा प्रक्रियासमेतको अध्ययन गरी सोको सबल पक्षलाई आत्मसात् गरी अघि बढ्नु आजको अनिवार्य आवश्यकता हो । 

राजधानीको सार्वजनिक यातायातको अवस्थामा सुधारको उपाय नभएको होइन । यसका लागि सरोकारवाला पक्ष, सरकार, बस समिति तथा यात्रुले आफूमा समयसापेक्ष परिवर्तन गर्नु आवश्यक देखिन्छ । सरकारका तर्फबाट सडक सुधारमा पर्याप्त स्रोत परिचालन गरी आफ्नो क्षेत्रमा व्यवस्थित सडक निर्माण तथा मर्मत सम्भारका लागि मातहतको निकायलाई परिचालन गर्ने, सबै रुटमा निर्दिष्ट बस बिसौनी तोक्ने, सो स्थानमा बाहेक अन्यत्र स्थानमा सवारीसाधन रोकी यात्रु ओराल्ने तथा चढाउने सवारी चालकलाई कारबाही गर्नुपर्छ । आवश्यक परे तिनको सवारी चालक अनुमतिपत्र पनि रद्द गर्नुपर्छ ।

बस बिसौनीबाहेकको अन्य स्थानमा बस रोक्न हात दिने यात्रुलाई सचेत गराउने, कारबाही गर्ने, कुनै पनि रुटमा कति यात्रु यात्रा गर्छन्, कति समयको अन्तरालमा बस कुन बिसौनीमा आइपुग्नुपर्ने हो ? बस बिसौनीमा कति समय बस रोकिने हो ? बस बिसौनीमा बस आइपुग्ने समय तालिका हरेक बस बिसौनीमा टाँस्न जरुरी छ । सोअनुसार आए÷नआएको अनुगमन गर्ने व्यवस्था पनि हुन आवश्यक छ । यसैगरी आधुनिक प्रविधि प्रयोग गरी विद्युतीय कार्डको माध्यमबाट नगदरहित भाडा भुक्तानीको व्यवस्था गरी हाल देखिएको फिर्ता पैसाको समस्या समाधान गर्ने, एउटै बस समितिको बस आपसमा प्रतिस्पर्धा गरी दु्रतगतिमा ओभरटेक गर्ने, यात्रुलाई पर्खिरहेर पछाडि आउने सवारीलाई स्थान नदिने, सिटभन्दा बढी यात्रु राख्ने चालकलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ । 

सार्वजनिक यातायातको सुधारका क्रममा हालको रुट व्यवस्थापन प्रक्रियामा आमूल परिवर्तन गरी सुधार ल्याउनुपर्ने खाँचो छ । यसका लागि बस रुट रिङरोड, रिङरोडबाहिर र भित्र गरी तीन सेक्टरमा छुट्याई रिङरोडभित्र कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, गोपीकृष्ण, महाराजगञ्ज, सामाकोसी चोक, माछापोखरी, वनस्थली, सीतापाइलालाई मुख्य बिसौनी कायम गरी रिङरोडभित्रको रुट नयाँ कायम गर्न जरुरी छ । रिङरोडभन्दा बाहिरबाट आउने सवारीसाधनलाई माथि उल्लिखित स्थानबाट फिर्ता जाने व्यवस्था मिलाउने ।

यसो गर्दा बसको वर्गीकरण पनि रङको आधारमा गर्ने । जस्तो– रातो रङको बसमा थानकोटबाट यात्रा गरी बूढानीलकण्ठ जान चाहने यात्रुले कलङ्कीमा उत्रिएर रातै रङको बस समाती रिङरोड हँुदै महाराजगञ्जसम्म यात्रा गरी पुनः रातै रङको बसमा बूढानीलकण्ठसम्मको यात्रा तय गर्ने । यसका लागि यात्रुले पहिलो यात्रामा नै पुरा रुटको भाडा भुक्तानी गर्ने र अन्य रुटमा सो टिकट देखाई यात्रा गर्ने । यसका लागि एउटा रङको बस एउटा समिति वा कम्पनीको रहने व्यवस्था गर्ने । 

यस्तो व्यवस्थाबाट आधुनिकता झल्कने, नयाँ परिवर्तनबाट यात्राको गुणस्तरमा वृद्धि हुने, रिङरोडबाहिरको कच्ची सडकको हिलो, धुलो मुख्य सहरमा कम आउने र बस सञ्चालनमा अनावश्यक प्रतिस्पर्धा नहुने अनुमान गर्न सकिन्छ । यसका लागि सम्बन्धित बस कम्पनी-समितिले नैतिकता देखाउनुपर्ने, यात्रु सेवालाई सर्वोपरि मानी समय तालिकामा बस सेवा उपलब्ध गराउनुपर्ने तथा सम्बन्धित यात्रु तथा निकायले सो भए÷नभएको अनुगमन गरी आवश्यक सूचना प्रवाह गर्ने र सोको आधारमा सुधार गर्नुपर्ने भए तत्काल गर्ने परिपाटी बसाल्नु आवश्यक देखिन्छ । 

हामी सधैं अरूलाई दोष दिएर आफू दायित्वबाट पछि हट्ने मानसिकताबाट मुक्त हुन आवश्यक छ । गुणस्तरीय सेवा प्रदान गर्नसके भाडा भुक्तानीमा कुनै समस्या हुँदैन । हाल निजी सवारीसाधन प्रयोग गर्नेले पनि सार्वजनिक यातायात प्रयोग गर्ने र नैतिकवान चरित्रका साथ सेवा सञ्चालन गरेमा यात्रुको मात्र सहयोग प्राप्त नभई व्यवसायसमेत फस्टाउनेछ । 

Author

गोकर्ण सिटौला