अजय शाह
गौशाला (महोत्तरी), कार्तिक १९ गते । मधेशमा बालविवाह न्यूनीकरणका लागि महोत्तरीका युवाहरू सचेतना अभियान सुरु गरेका छन्।
यही अभियान अन्तर्गत बर्दिबासमा मङ्गलवार साझा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेका छन् ।
सिफ्ट अभियानअन्तर्गत युवा अभियन्ताहरूले बर्दिबासको भोला वसन्त चौकमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गर्दै गर्दा स्थानीय युवा, विद्यार्थी, बुद्धिजीवी, सरोकारवालाहरू, अभिभावक, शिक्षक, जनप्रतिनिधि लगायतको उल्लेख्य सहभागिता देखिएको थियो ।

बालविवाहबाट व्यक्ति, परिवार, समाजमा पारिरहेको नकारात्मक असर र बालविवाह रोकथामका लागि समुदायको भूमिका बारे सडक नाटकमार्फत सचेतना फैलाउने प्रयास गरिएको थियो ।
स्थानीय युवाहरूद्वारा प्रदर्शित उक्त सन्देशमूलक सडक नाटक हेर्न स्थानीयवासी झुम्मिएका थिए । अभियान बर्दिबासस्थित युवा अभियन्ताको समूह युथ फर चेन्ज ले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको हो।

अभियानले मधेश प्रदेशमा बालविवाह अन्त्य गर्नका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सेभ द चिल्ड्रेनद्वारा सञ्चालित सिफ्ट अभियानले युवाहरूलाई सामाजिक वा वातावरणीय परिवर्तनका लागि सार्वजनिक अभियान डिजाइन र सञ्चालन गर्न सहयोग गर्दछ।
अशिक्षा र चेतना अभावको कारण समाजमा हुने बालविवाहको कारण स्वास्थ्य, घरपरिवार तथा समाजमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको आयोजक संस्था युथ फर चेन्जका युवा अभियन्ता मनीषकुमारले बताउनुभयो ।
सडक नाटक प्रदर्शन हेरिसकेपछि मधेश प्रदेश सभा सदस्य एवम् बालअधिकारका लागि संसदीय मञ्चका संयोजक शारदादेवी थापाले समाजमा भइरहेका बालविवाहबाट पर्ने नकारात्मक असरबारे कसैले ध्यान नदिँदा विभिन्न हिंसाका घटनाहरु भइरहेकोले यस प्रकारका कार्यक्रमले सचेतना अभिवृद्धि गर्न मद्दत पुगेको बताउँदै भन्नुभयो ।
उहाँका अनुसार सरकार र गैरसरकारी सङ्घसंस्था सबैको सामूहिक प्रयत्नबाट मात्र यसको अन्त्य सम्भव छ । युवाहरूको नेतृत्वमा नै यस्तो प्रभावकारी अभियान सञ्चालन हुनु महत्वपूर्ण र अनुकरणीय रहेको उहाँले जिकिर गर्नुभयो ।
वि.सं. २०७८ को जनगणनाअनुसार नेपालमा करिब ३० प्रतिशत बालबालिकाको विवाह २० वर्ष उमेर नपुग्दै भभएको छ ।
सोही जनगणनाअनुसार मधेसमा सबैभन्दा बढी अर्थात् ३७ दशमलव तीन प्रतिशतले औसतमा १८ वर्षअगावै विवाह गर्छन्। त्यसमध्ये ५२ दशमलव दुई प्रतिशत बालिका र १९ प्रतिशत बालक छन् ।
उमेर नपुग्दै विवाह गर्ने २९ दशमलव सात प्रतिशतमध्ये बालिकाको हिंसा ४१ दशमलव एक र बालकको हिंसा १५ दशमलव चार प्रतिशत छ ।
बहुआयामिक सूचक क्लस्टर सर्भे २०१९ अनुसार मधेशमा कुल जनसङ्ख्याको आठ दशमलव नौ प्रतिशत बालबालिकाले १५ वर्ष नपुग्दै विवाह गर्छन् ।
यसमा पनि बालकको प्रतिशत दुई दशमलव एक छ भने बालिकाको १४ दशमलव दुई प्रतिशत छ । सोही अध्ययनअनुसार १८ वर्षअगावै विवाह गर्ने २९ दशमलव तीन प्रतिशतमध्ये ४६ प्रतिशत बालिका र सात दशमलव आठ प्रतिशत बालक छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले नै २०–२४ वर्ष उमेर समूहका विवाहित जनसङ्ख्यामध्ये राष्ट्रियरूपमा २९ प्रतिशतको विवाह १८ वर्षअगाडि नै भएको देखाएको छ । मधेशमा भने यो सङ्ख्या ३५ प्रतिशत छ ।
देशभर यो उमेर समूहका १६ प्रतिशत पुरुष र ३५ प्रतिशत महिलाले १८ वर्षअगावै विवाह गर्ने गरेकामा मधेसमा भने यो प्रतिशत पुरुषको १७ र महिलाको ४२ छ ।
बालविवाहको अवस्था विकराल हुँदै गएपछि मधेश प्रदेश सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाहमुक्त बनाउन १० वर्षे प्रादेशिक रणनीतिक योजना २०७८ ल्याएको छ।
त्यसैगरी, प्रदेश बालअधिकार ऐन २०७७, सारभूत लैङ्गिक समानता नीति २०७८, बाल सहभागितासम्बन्धी कार्यविधि २०७८, बालिका सशक्तीकरण तथा सरक्षण ऐन २०८१ र बेटी बचाउ, बेटी पढाउ अभियानमार्फत बालअधिकार सरक्षण तथा बालविवाह न्यूनीकरणमा कार्य गर्दै आएको छ ।
वि.सं. २०७८ को राष्ट्रिय जनगणनाले १० देखि १७ वर्ष उमेर समूहका ७४ हजार २७२ बालबालिकाको विवाह भइसकेको देखाएको छ । जसमध्ये १६ हजार ३४७ बालविवाहका घटना मधेश प्रदेशका देखिएका थिए । मधेशमा ४२ दशमलव चार प्रतिशत महिलाहरू १८ वर्षभन्दा अघि नै विवाह गर्छन्, जबकि राष्ट्रिय औसत ३३ प्रतिशत मात्र छ ।
महोत्तरीमा यो दर ४३दशमलभ तीन प्रतिशत पुगेको छ ।तथ्याङ्कअनुसार, मधेशमा हरेक पाँचमध्ये एक किशोरीले किशोरावस्थामै गर्भधारण गर्ने गर्छन् । बालविवाह विरुद्धको अभियानको नेतृत्व गरिरहेको बर्दिबास नगरपालिकाले हालसम्म १४ मध्ये नौ वटा वडालाइ बालविवाहमुक्त वडा घोषणा गरिसकेको छ र चालू आवमा नगरलाई नै बालविवाहमुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ ।