• १९ कात्तिक २०८२, बुधबार

हैजा सङ्क्रमित क्षेत्रमा स्वास्थ्यकर्मी तैनाथ

blog

सुधा देव

भारदह (सप्तरी), कात्तिक १९ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर बस्तीका हैजा सङ्क्रमित  पाँच जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । ११ जना बिरामीको आरडिटी जाँच गर्दा पाँच जनामा आरडिटी पोजेटिभ देखिएकाले उपचार भइरहेको छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक जनाको स्थानीय स्वास्थ्य संस्था लोखरममा उपचार भइरहेको छ । सुरुमा ७८ जनामा झाडापखाला देखिएकोमा २६ जना उपचारपछि निको भएको घर फर्किसकेका छन् ।”

उहाँले सामान्य झाडापखाला भएकाको घर घर पुगेर स्वास्थ्यकर्मीको टोलीले उपचार गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनअगाडि अवस्था जटिल थियोे । स्वास्थ्यकर्मी निरन्तर खटिरहेकाले अहिले सहज हुँदै गएको छ ।” झाडापखालाका कारण एकै परिवारका तीन जनाको मृत्युु भएको र बस्तीमा झाडापखाला तीव्र रूपले फैलिएरपछि किट प्रविधिबाट गरिएको परीक्षणबाट हैजा भएको पुष्टि भएको थियोे । 

बस्तीमा झाडापखालाका कारण एकै परिवारका तीन जनाको मृत्युु भएको जानकारी पाएलगत्तै त्यस क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी निरन्तर निगरानी गरिरहेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । उहाँले नौ जनाको दिसाको नमुना कल्चर गर्नका लागि जनकपुरधामस्थित प्रदेशिक प्रयोगशालामा पठाइएको जानकारी दिनुभयो । 

उहाँले बस्तीमा चौबिसै घण्टा स्वास्थ्यकर्मीको टोलीले सेवा दिइरहेको पनि बताउनुभयो । त्यहाँका झाडापखालाका बिरामीले चेतनाको अभावमा चेकजाँचका लागि दिशाको नमुना दिन नचाहने गरेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख सतीश यादवले बताउनुभयो । उहाँले समस्या समाधानका लागि अस्थायी शौचालय, शुद्ध खानेपानीको व्यवस्था र सरसफाइका लागि प्रक्रिया थालेको पनि बताउनुभयो । 

शौचालयविहीन बस्ती 

विपन्न मुसहर ९० परिवारको बसोबास रहेको उक्त बस्ती शौचालयविहीन छ । यस बस्तीमा बसोबास गर्ने सबै खुला स्थानमा नै दिसापिसाब गर्दै आएका छन् । लगातार परेको पानीको निकास नभएपछि जमेको पानी र जताततै हिलो भएर सो क्षेत्र दुर्गन्धित भएकाले झाडापखालाको प्रकोप भएको हुन सक्ने स्थानीय स्वास्थ्यकर्मीको अनुमान छ । 

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार १५ जनाको परिवार बस्न सक्ने ठाउँमा लगभग ९० परिवार बसोबास गर्दै आएको छन् । चापाकल गाडेको पानीको निकास जाने ठाउँसमेत अभाव  छ ।