• ८ वैशाख २०८१, शनिबार

तेक्वान्दोमा कमल र पार्वतीलाई स्वर्ण

blog

राष्ट्रिय खुला तेक्वान्दो पुम्सेका पदक विजेता खेलाडि । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ २९ गते । नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३० वर्षमा पार्वतीले स्वर्ण चुम्नुभएको हो । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुनुहुन्छ । 

नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका रेजिन रिमाल दोस्रो तथा आर्मीका रामबहादुर पोखरेल र प्रवीण गुरुङ तेस्रो हुनुभयो । महिलामा तरहराकी सुशिला राई दोस्रो तथा आर्मीकी निता गुरुङ र प्रहरीकी सीता तामाङ तेस्रो हुनुभयो । सातदोबाटोमा भएको प्रतियोगिताको एकल पुम्सेको २२–२५ वर्ष पुरुषमा लिजेन्ड्सका शिशीर श्रेष्ठ र महिलामा मुलपानीकी चन्दु शाही तथा पुरुष २५–३० वर्षमा प्रहरीका जितबहादुर बोटले स्वर्ण जित्नुभयो ।

ग्रुप पुम्सेको पुरुष १०–१२ वर्षमा लैनचौरका रोहन भुजेल, सुगम भुजेल र इराजसिंह ठकुरी, १२–१५ वर्षमा स्वयम्भूका त्रिजन चौधरी, समिर तामाङ र थुप्तेन तामाङ, १५–१८ वर्षमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठ, सैरुस थापा र दीपक दुलाल, १८–२२ वर्षमा प्रहरीका कमल राना मगर, अस्मित राउत र राम गोले, २५–३० वर्षमा प्रहरीका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र अञ्जन चौधरी तथा ३० वर्षमाथि आर्मीका रेजिन रिमाल, रामकुमार पोखरेल र प्रवीण गुरुङ पहिलो हुनुभयो । 

ग्रुप पुम्सकै महिला १०–१२ वर्षमा गोदावरीका माधवी राई, इरेन महर्जन र प्रकृति प्रजा, १२–१५ वर्षमा स्वयम्भूका सुवानी तामाङ, तारा वाइबा र रमिला श्रेष्ठ, १५–१८ वर्षमा आर्मीका पुर्णिमा बस्नेत, स्मृति रेगामी मगर र दक्षिणा भुजेल तथा १८–२२ वर्षमा प्रहरीका जैनव खातुन, निशा दर्नाल र मोनिका रम्तेलले शीर्ष स्थान हात पार्नुभयो । 

पेयर पुम्सेको १०–१२ वर्षमा न्यु जेनका श्रृष्टि स्याङबो र अद्भे वज्राचार्य, १८–२२ वर्षमा प्रहरीका अस्मित चन्द र निशा दर्नाल तथा २५–३० वर्षमा प्रहरीकी पार्वती गुरुङ र जितबहादुर बोटले स्वर्ण पदक जित्न्ुभयो । दुईदिने प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीले विभिन्न १४ विधामा प्रतिस्पर्धा गरेको प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष भानबहादुर चन्दले जानकारी दिनुभयो ।  

कोटेश्वरका सागर पहिलो 

यसैगरी आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागर घिमिरे काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा पहिलो हुनुभएको छ । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा आइतबार भएको पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई पराजित गर्नुभयो । 

पुरुष २५ केजीमुनि चन्द्रागिरीका संगम थापाले राष्ट्रिय विभूतिका युनिक रे, ४१ केजीमुनि बाँकेका सुदीप विकले चाँदनीका समिर गुरुङ, ४४ केजीमुनि नुवाकोटका अपिल लामाले भैरहवाका कुल्दिप गुप्ता, ३१ केजीमा चन्द्रागिरीका शिरीष नेगी लामाले चाँदनीका किरण तामाङ, ३८ केजीमुनि बाँकेका नवीन गौतमले धादिङका नवीन तामाङ तथा ५४ केजीमुनि स्युचाटारका सुजन श्रेष्ठले चाँदनीका नितेश चम्लागाईंलाई फाइनलमा हराउँदै स्वर्ण जित्नुभयो । 


महिला २५ केजीमुनि विशंखुकी प्रिन्शा कार्कीले चाँदनीकी सहारा तामाङ, ४० केजीमुनि चाँदनीकी यशोदा नेपालीले चन्द्रागिरीकी सिमानी लामा, २८ केजीमुनि राष्ट्रिय विभूतिकी सिमरन लामाले नुवाकोटकी समित्रा तामाङ, ४३ केजीमुनि भैरुनकी सदिक्षा कार्कीले कोटेश्वरकी सविना घले, ४६ केजीमुनि काटेश्वरकी इशिका राणाले नुवाकोटकी निर्मला तामाङ तथा ५७ केजीमुनि राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगरले रत्ननगरकी रोजिना पौडेललाई पाखा लगाउँदै शीर्ष स्थान हात पार्नुभयो । 

एकल पुम्सेतर्फ १२–१४ वर्षको पुरुषमा बाग्लुङका लभसन विक र महिलामा सतुंगलकी रोशनी दोङ, १५–१७ वर्षको पुरुषमा बर्दियाँका निर्मल पुन मगर र महिलामा कोटेश्वरकी सन्ध्या लामा तथा १७ वर्षमाथि पुरुषमा युनिटीका हेमराज शाही र महिलामा स्युचाटारकी मोनिका मगरले स्वर्ण जित्नुभयो ।