• २१ माघ २०८२, बुधबार

बक्सर चन्द्र सम्मानित

blog

सम्मानित भएपछि बक्सिङका खेलाडी ।

काठमाडौँ, माघ २१ गते । एक्स मकाउ बक्सिङ ग्रुपले आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गर्नसफल लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित हुनुभयो । डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कांस्य पदक जित्नुभएको थियो ।

विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र एक्लो नेपाली बक्सिङ खेलाडी हुनुहुन्छ । चन्द्रले ३० हजार र लालबहादुर २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । पुरस्कार राशीका लागि एक्स मकाउ बक्सिङ ग्रुपका संयोजक तेजबहादुर चन्दले समन्वय गर्नुभएको हो । 

सोही अवसरमा प्रशिक्षकत्रय बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीलगायतले सम्मान गर्नुभयो ।