• २२ माघ २०८२, बिहिबार

निर्वाचन निष्पक्ष र मर्यादित बनाउन भर्चुअल अभिमुखीकरण

blog

दार्चुलामा भर्चुअल बैठकका सहभागी । तस्बिर : कृष्णबहादुर धामी

खलङ्गा समाचारदाता 

खलङ्गा (दार्चुला), माघ २२ गते ।  आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न दार्चुलामा निर्वाचन आचारसंहिताको पालना तथा शान्ति सुव्यवस्थासम्बन्धी भर्चुअलअभिमुखीकरण गरिएको छ । 

निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी, आचारसंहिता अनुगमन अधिकृतसहित भर्चुअल बैठक गरिएको हो । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई सहभागी गराई भर्चुअल अभिमुखीकरण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो । 

अभिमुखीकरणमा निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी पालना तथा शान्ति सुव्यवस्था कायम गर्नेबारे छलफल र निर्णय भएको उहाँले बताउनुभयो । यहाँ हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी कुनै औपचारिक उजुरी नपरेको उहाँले जानकारी दिनुभयो । भर्चुअल अभिमुखीकरणमार्फत निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबैलाई निर्देशन गरिएको बताइएको छ । सबै तह, निकाय, कार्यालय प्रमुख तथा सरोकारवालाले आचारसंहिता पालना गर्ने÷गराउने निर्णय बैठकले गरेको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । 

निर्वाचन आचारसंहिता २०८२ अनुसार सामाजिक सञ्जालमा आएका निर्वाचनसम्बन्धी पोस्टरमा लाइक, कमेन्ट तथा सेयर नगर्न सबै सरकारी कर्मचारीलाई निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो । मङ्गलबार बेलुकी प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भुवन गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । 

शिक्षकलाई आग्रह 

यहाँको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालना गर्न विद्यालय, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा जारी आचारसंहिता लागु भइसकेको भन्दै कार्यालयले एक सूचना जारी गर्दै जिल्लाभरका सबै विद्यालय, महाविद्यालय तथा तिनमा कार्यरत शिक्षक र कर्मचारीलाई आचारसंहिताविपरीत कुनै पनि कार्य नगर्न र नगराउन आग्रह गरेको हो । निर्वाचन आचारसंहिताको दफा ३९ बमोजिम विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोसँग सम्बद्ध शिक्षक र कर्मचारीहरू आचारसंहिता पालना गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ । आचारसंहिता अनुसार शिक्षक, प्राध्यापक तथा कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने, सवारीसाधन, भवन वा अन्य सामग्री प्रयोग गर्न नदिनुका साथै कुनै कार्यक्रम, सभा वा सम्मेलन आयोजना गर्न वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, दार्चुलाका एकाइ प्रमुख प्रतापसिंह धामीले बताउनुभयो ।