• २२ माघ २०८२, बिहिबार

नेताले मत माग्छन्, जनताले पानी

blog

मुसीकोट समाचारदाता 

रुकुमपश्चिम, माघ २२ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मत माग्दै विभिन्न दलका उम्मेदवार र नेता गाउँमा केन्द्रित भएका छन् । गाउँ पुगेका नेताले विकास र समृद्धिको आश्वासन दिइरहेका छन् । जनताले भने गाउँमा आधारभूत आवश्यकताकै अभाव रहेको गुनासो गरेका छन् । 

जिल्लाको आठबिसकोट नगरपालिका–१३ को सबैभन्दा माथिल्लो स्थानमा रहेका पाँच बस्तीमा खानेपानीको चरम अभाव रहेको छ । यहाँका स्थानीयले पानी दिने नेतालाई मात्र मत दिने बताएका छन् । स्थानीयसमेत रहेका जनविकास माध्यमिक विद्यालय ज्यामिरकोटका शिक्षक दीपक थापाले वडाको रातामाटा, दह, मौराजे, काफलधारा र थामगाउँमा अहिलेसम्म पानीको सुविधा नपुगेको बताउनुभयो । पर्यटकीय हिसाबले समेत सम्भावना बोकेका यी टोलमा खानेपानीकै पिरलो रहेको थापाले उल्लेख गर्नुभयो । हरेक निर्वाचनमा आउने दलका नेता र उम्मेदवारले खानेपानीको सुविधा पु¥याउने आश्वास दिए तापनि बर्सौंदेखि यहाँका सर्वसाधारण यो सुविधाबाट वञ्चित रहेका छन् । करिब १५० घरधुरी रहेका यी बस्तीमा मात्र ६९० मतदाता र एक हजारभन्दा बढी जनसङ्ख्या छ । 

अर्का स्थानीय केशव थापाले चुनावमा मत माग्दै आउने नेतालाई खानेपानीको विकराल अवस्था जानकारी गराउने र जसले समस्या समाधानका लागि लिखित प्रतिबद्धता गर्छ, उसैलाई मत दिने बताउनुहुन्छ । अहिलेसम्म गाउँलेले छ किलोमिटर टाढा रहेको मौराखारा लेकमुनिको मुहानबाट पानी बोकेर ल्याउने गरेको थापाले जानकारी दिनुभयो । यहाँ आलु र तोरीको राम्रो खेती हुने गर्दछ तर सिँचाइ सुविधा नहुँदा उर्वर भूमिले मनग्गे उत्पादन दिन सकिरहेको छैन । 

वडाध्यक्ष टेकबहादुर थापाले गाउँमा खानेपानीको सुविधा नरहेको बताउनुभयो । वडा तथा पालिकाको बजेटले मात्र गाउँका माग र विकासे योजना पूरा गर्न नसकिने, प्रदेश र सङ्घले ग्रामीण क्षेत्रका आवश्यकतामा वास्ता नगर्ने गरेको उहाँको गुनासो छ । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता राजु केसीले जनताका आधारभूत आवश्यकता सम्बोधन र समस्या समाधानका लागि चुनावी मैदानमा उत्रिएको बताउनुभयो । जनताका माग र आवश्यकता प्राथमिकीकरण गरेर विकासका योजनामा जोड दिने उहाँको प्रतिबद्धता रहेको छ । 

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले पनि आधारभूत आवश्यकताको पूर्तिमा जोड दिँदै ‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार : आत्मनिर्भर रुकुमपश्चिमको आधार’ भन्ने मूल नारा तय गरेर मतदातामाझ गएको बताउनुभयो । विभिन्न पाँच वटा विषयगत क्षेत्र उल्लिखित मार्गदर्शन तय गरेर जनतामाझ दिगो विकास र समृद्धिको सङ्कल्प बोकेको उहाँले उल्लेख गर्नुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता दलबहादुर खड्काले जनताका माग पूरा गर्न पार्टीले जिल्लाको अभिभावकका रूपमा जनार्दन शर्मालाई उम्मेदवार बनाएको बताउनुभयो । जनताका आधारभूत आवश्यकतासँगै रोजगारी र आर्थिक विकासको मुद्दा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको खड्काले उल्लेख गर्नुभयो ।