काठमाडौँ, माघ २१ । चितवनको फिस्लिङमा सम्पन्न नवौँ राष्ट्रिय राफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्रमा प्रथम स्थान हासिल गरेको छ ।
मङ्गलबार प्रतिस्पर्धाको अन्तिम दिन राफ्टिङका तीनवटै मुख्य विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिस्लिङ ‘ए’ ले कुल ९७२ अङ्क जोडेर उपाधि जितेको हो । सहभागी कुल १२ क्लबलाई पछि पार्ने क्रममा फिस्लिङ ‘ए’ ले स्लालममा ३००, हेड–टु–हेडमा ३५० र डाउन रिभर रेसमा ३२२ अङ्क प्राप्त गर्यो ।
प्रतियोगितामा ८९९ अङ्कसहित प्याडल नेपाल ‘बी’ दोस्रो र ८५१.५ अङ्कसहित राफ्टिङ एड्भेन्चर नेपाल तेस्रो भयो । त्यस्तै, भोटेकोशी एड्भेन्चर क्लबका ‘ए’ र ‘सी’ टोली क्रमशः चौथो र पाँचौँ स्थानमा सीमित रह्यो ।
प्रतियोगिताको कायक स्लालोम विधामा विजय माझी च्याम्पियन बन्नुभयो । माझीले निर्धारित दूरी १२४.५१ स्कोरका साथ पूरा गर्दै शीर्ष स्थान हासिल गर्नुभएको हो । सोही विधामा आशिष रानामगर १२६.९२ स्कोरसहित दोस्रो हुनुभयो ।
रन्जन कँडेल, रविन्द्र चेपाङ र रुबिन तामाङले क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थान सुरक्षित गर्नुभयो। राफ्टिङतर्फ प्रथम हुने टोलीले ६५ हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपियाँ परस्कार पाए । कायक स्लालोमतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार पाँच सय रुपियाँ हात पारे ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा आयोजित उक्त प्रतियोगिताका विजयी खेलाडीलाई परिषद्का सदस्य सचिव तथा प्रमुख अतिथि दिपक लामा, नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ तथा एसियन राफ्टिङ एसोसिएसनका अध्यक्ष सौगत पाल सिकंदले पुरस्कार तथा मेडल प्रदान गर्नुभयो ।
क्यानोइङ स्लालोम विधाको उत्कृष्ट पाँचमा पर्न सफल खेलाडीलाई जापानमा आयोजना हुने एसियाली खेलकुदको पहिलो चरणको छनोट प्रक्रियामा सहभागी गराइने संघले जनाएको छ ।