• २१ माघ २०८२, बुधबार

ताप्लेजुङ निर्वाचनमा हुँदैछ चौपक्षीय रोचक भिडन्त

blog

नेकपा (एमाले) को तर्फबाट क्षितिज थेबे, नेपाली काँग्रेसको तर्फबाट गजेन्द्रप्रसाद तुम्याहाङ, नेपाली कम्युनिष्ट पार्टीको खेलप्रसाद बुढाक्षेत्री र रास्वपाको बिरेन्द्र श्रेष्ठ । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, माघ २१ गते । प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३ सय २७ मतदाता सङ्ख्या रहेको ताप्लेजुङमा बिभिन्न दलका गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन व्यस्त रहेका छन् । यतिसम्मकि किसानले बारी जोतिरहेको ठाउँमा गएर हलो जोत्नेदेखि पसलमा पुगेर आफ्नो पक्षमा मत आकर्षित गर्न कम्मर कसेर लागेका छन्।

२०७९ सालको निर्वाचनलाई आधार मान्ने हो भने यहाँ पुरानै दलको वर्चस्व हुने देखिन्छ। तुलनात्मक रुममा एमाले बलियो रहेको यहाँ एमाले उप–महासचिव योगेश भट्टराईले लगातार २ पटक निर्वाचनमा विजय हासिल गर्नुभएको थियो । तर, यस पटक भट्टराई चुनावी मैदानमा हुनुहुन्न ।

अर्को रोचक कुरा त के छ भने १३ मध्ये ५ जना उम्मेदवार एकै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाबाट हुनुहुन्छ । उम्मेदवारबिचको मत बाझिने निश्चित छ । यहाँ समानुपातिकमा भने एमाले पहिलो दल हो । २०७९ सालको निर्वाचनमा एमालेले प्रतिनिधिको समानुपातिकमा १९ हजार ६ सय ४ मत प्राप्त गरेर पहिलो दल बनेको थियो ।

यस्तै, नेपाली काङ्ग्रेसले १५ हजार ७ सय ३५ मत प्राप्त गर्दै दोस्रो, तत्कालीन माओवादी केन्द्रले ५ हजार १ सय ६२ मत प्राप्त गर्दै तेस्रो भएको थियो । १ हजार ५ सय ४५ मत रहेको एकीकृत समाजवादी अहिले माओवादीसँग समाहित हुँदा नेपाली कम्युनिष्ट पार्टीको ६ हजार ७ सय ७ मत हुन्छ । जुन मत काङ्ग्रेस एमालेको तुलनामा तेस्रो हो । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीको ९ सय ७८, सिङ्घिया लोकतान्त्रिक राष्ट्रिय मञ्चको ९ सय ३२ तथा जनता समाजवादी पार्टीको ७ सय २२ मत रहँदा राप्रपाले ६ सय ३७ मत समानुपातिकमा पाएको थियो । समानुपातिकमा पुराना दलकै दबदबा रहँदा ताप्लेजुङमा कुन उम्मेदवारले बाजी मार्छ भन्न सकिने अवस्था छैन् ।

समानुपातिकमा पहिलो र ६१ वडा मध्ये ३० वटा वडा एमाले एक्लैले जितेकाले यहाँ आफ्ना उम्मेदवार बिजयी हुनेमा एमाले कार्यकर्ता ढुक्क छन् । यता धेरै निर्वाचनमा पराजय भोग्दैआएको नेपाली काङ्ग्रेस पनि यो पटक इतिहास रच्ने दाउमा छ । परिवर्तनको बिगुल फुकेर पुरानालाई पाखा लगाउन भन्दै उत्रेका नयाँ दलका उम्मेदवार पनि जित्ने दाबी गरिरहेका छन् ।

कान्छो उम्मेदवार थेबे

युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष भइसक्नुभएका थेबे एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित हुनुभएको छ । एमाले अध्यक्ष ओलीका विश्वासिलो पात्र मानिनुहुने उहाँ युवा र केन्द्रसम्मको राजनीति पहुँच राख्नुहुन्छ । यसकारण पनि विगतभन्दा उहाँको प्रभाव बलियो हुने एमाले कार्यकर्ताको बुझाइ छ । उहाँ जिल्लाकै सबैभन्दा कन्छो उम्मेदवार पनि हुनुहुन्छ । युवाहरुले पुस्तान्तरणको आवाज उठाइरहँदा थेवेलाई फाइदा पुग्ने देखिन्छ । 

थेवेका बुबा भूपेन्द्र थेबे २०७० को दोस्रो संबिधानसभा सदस्यमा निर्वाचित हुनभएको थियो । आमा उर्मिला थेबे ७९ सालको निर्वाचनपछि समानुपातिक सांसद बन्नुभएको थियो । थेवे लिम्बु समुदायबाट रहनुभएकाले पनि उहाँलाई थप फाइदा हुने आँकलन गरिएको छ । यसअघि यसै क्षेत्रबाट निर्वाचित हुनुभएका एमाले उपमहासचिव भट्टराईको साथ थेवेलाई हुँदा जित सहज हुने देखिन्छ । नेता तिलकुमार मेन्याङ्वो पनि थेबेको पक्षमा भोट मागिरहनुभएको छ ।  

आफ्नैको विश्वास जित्ने सकसमा तुम्याहाङ

नेपाली कांग्रेसका जिल्ला सभाति समेत रहनुभएका गजेन्द्रप्रसाद तुम्याहाङ पहिलो पटक निर्वाचनमा होमिनुभएको हो । युवा र बिद्यार्थीमा राम्रो सम्बन्ध बनाउनुभएका तुम्याहाङ यो पटक बिजयी हुनेमा कार्यकर्ताको विश्वास छ । पहिलो चोटी उम्मेदवार बनाउँदा उहाँ युवाको रोजाइमा पर्ने विश्वास कांग्रेसजनको छ । पार्टी भित्रकै असन्तुष्टी पक्षका कारण तुम्याहाङको जितमा बाधा पुग्न सक्ने कतिपय कार्यकर्ताको आँकलन सुनिन्छ । पार्टी भित्र देखिएको बिशेष महाधिबेशन र नियमित महाधिबेशनडको असर जिल्लामा पनि देखिन सक्ने बुझिन्छ । 

२०७९ सालको स्थानीय निर्वाचनमा माओवादीसँगको गठबन्धन हुँदा पार्टीका नेताकार्यकर्तालाई पाखा लगाएर टिकट नदिएको आरोप कांग्रेसभित्र उठ्ने गरेको छ । यता पालिका अध्यक्षको दाबेदार रहनुभएका तर, टिकटविहीन बन्नुभएका पूर्व क्षेत्रीय सभापति रामबहादुर कंलिबाले पार्टीमा कुनै समस्या नरहेको र तुम्याहाङलाई जिताउन लाग्ने बताउनुभयो । 

जिल्ला उपसभापति समेत भइसक्नुभएका मणि प्रसाद लाबुङ लगायतले टिकट नपाएकै निउँमा पार्टी छोड्दा त्यसको असर पनि निर्वाचनमा देखिने अनुमान गरिएको छ । 

जित्ने आशमा खेलप्रसाद 

गत निर्वाचनमा तत्कालीन काङ्ग्रेस माओवादी गठबन्धनको साझा उम्मेदवार रनुभएका बुढाक्षेत्री एमाले उपमहासचिव भट्टराईसँग २०८ को झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँ इमान्दार नेताको रुपमा परिचित हुनुहुन्छ । तत्कालीन नेकपा माओवदी केन्द्रका जिल्ला इन्चार्ज रहनुभएका उहाँ अहिले नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।

गाउँघरमै बसेर जनताको दुःख बुझ्ने भएका कारण यो पटको जित बुढाक्षेत्रीको पक्षमा हुने नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको दावी रहेको छ ।

तर, कमजोर पार्टी संगठनका कारण बुढाक्षेत्रीको संसदीय यात्रामा ब्रेक लाग्नसक्ने आँकलन स्थानीयको छ । 

पार्टी त्यागेर श्रेष्ठले लिए टिकट 

नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि समेत रहनुभएका श्रेष्ठ पार्टी परित्याग गरि राष्ट्रय स्वातन्त्र पार्टीमा प्रवेश गर्नु भएको हो । रास्वपा जिल्ला सभापति समेत रहनुभएका श्रेष्ठ रास्वपाको बढ्दो क्रेजले आफूलाई फाइदा हुने बुझाइमा हुनुहुन्छ । पेसाले इन्जिनियर रहनुभएका उहाँ परिवर्तनको मुल एजेण्डा लिएर मतदाता रिझाउनमा लागिपर्नुभएको छ । उहाँको जितमा संगठनभन्दा व्यक्तिगत प्रभाव महत्वपूर्ण हुने कतिपयको बुझाइ छ । 

मंगोल नेशनल अर्गनाइजेसनका सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का इन्द्र थापा, जनता समाजवादी पार्टी (जसपा) का अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ।

उम्मेदवारी दर्ता गराउनेमा श्रम संस्कृति पार्टीका सुन्तोष राई, उज्यालो नेपालका कृतिमान मादेन, जसपा नेपालका सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपती पौडेल रहनुभएको छ । 

१३ जना उम्मेदवारमध्ये कधिकांश पहिलो पटक निर्वाचनमा होमिएको र नयाँ उम्मेदवारको उदयले ताप्लेजुङको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । जिल्लामा एक जना पनि महिला उम्मेदवार नभएका कारण महिलाहरु दुःख व्यक्त गर्नेगरेका छन् ।