रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), माघ २२ गते । गुल्मीदरबार गाउँपालिका बलिथुमका ८० वर्षीय छविलाल रजाली घरकै धारामा पानी खसेपछि निकै खुसी हुनुभयो । दुई घण्टा टाढाको खोला र खोल्सा धाएर पानी ल्याएको अनुभव रजाली आफैँसँग छ । २०३८/३९ सालबाट रेसुङ्गाको पानी गाउँ पुगे पनि अभाव टरेन । गर्मीको समयमा पानी सुक्दा खानेपानी सङ्कट हुन्थ्यो । अहिले दिनमा दुई समय पानी आउँछ । अहिले सोलार लिफ्टमार्फत खानेपानी घरको आँगनमा खसेपछि रजालीसहितका स्थानीयमा खुसीको सीमा छैन ।
रहखोला–देवीस्थान सोलार लिफ्टिङ खानेपानी योजना निर्माण भएपछि बलिथुमका ३२७ घरधुरी प्रत्यक्ष लाभान्वित भएको रजालीले बताउनुभयो । मुसीकोट नगरपालिका–४, बडागाउँका ७४ वर्षीय हिमकली गाहाले राँको बालेर पँधेरामा पानी भर्न जाँदा लडेर घैटो फुटेको स्मरण गर्दै आँगनमा पानी खस्ला भनेर कल्पनासमेत नगरेको बताउनुभयो । जीवनको ऊर्जाशील उमेर पानी बोकेरै बिते । गाउँमै दुई करोड रुपियाँको लागतमा लिफ्ट खानेपानी निर्माण भएपछि अचेल गाहाले घरभित्रै पानी भर्नुहुन्छ ।
इस्मा गाउँपालिकाका ६६ वर्षीय देवकला पाण्डेयले जीवनका धेरै वर्ष खानेपानीको सास्ती खेपेर बिताउनुभयो । एक गाग्रो पानी ल्याउँदा बिहानभरिको समय जान्थ्यो । सल्लाको दियालो बालेर रात बित्थ्यो । बुढेसकालमा भए पनि घरकै डिलमा पानी त खस्यो । अहिले आँगनछेउँकै धारो खोले पानी आउँछ । ढाँढखोला लिफ्ट खानेपानीले दर्लामचौरको खानेपानीको काकाकुल समस्या समाधान गरेको पाण्डेयले बताउनुभयो ।
पहाडी जिल्ला गुल्मीमा कुनै समय सबैभन्दा ठुलो समस्या खानेपानीको थियो । निर्वाचनमा भोट माग्ने उम्मेदवारसँग मतदाताले खानेपानी माग्थे । अहिले पनि सबै ठाउँमा खानेपानीको सहज आपूर्ति छैन तर पनि जिल्लाका ५७ हजार घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जिल्ला समन्वय समिति गुल्मीको प्रतिवेदनका आधारमा रेसुङ्गा र छत्रकोट गाउँपालिकाका सबै घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । रेसुङ्गा नगरपालिकाका नौ हजार १५ र छत्रकोट गाउँपालिकाका पाँच हजार ३९७ घरधुरीमा खानेपानी पुगेको छ । मुसीकोट नगरपालिकाका सात हजार ९९ घरधुरीमध्ये पाँच हजार ५२७ घरमा खानेपानी सेवा पुगेको छ । यहाँ अझै एक हजार ५७२ घरमा खानेपानीको सुविधा पुग्न बाँकी छ । त्यसै गरी चन्द्रकोट गाउँपालिकाका पाँच हजार ४९ घरमध्ये चार हजार ९८० घरमा खानेपानी सुविधा पुगेको छ ।
जिल्ला समन्वय समिति गुल्मीका शाखा अधिकृत सिर्जना मिश्रका अनुसार जिल्लाभर अझै आठ हजार ५०७ घरधुरीमा खानेपानी सुविधा पुगेको छैन । मुसीकोट नगरपालिकाका प्रमुख जीवलाल खरेलले स्थानीय तहपछि तिनै तहको सहयोगमा खानेपानीको पहुँच वृद्धिको धेरै ठुलो रकम खर्च भएको जानकारी दिनुभयो ।