• १६ वैशाख २०८३, बुधबार

‘अभौतिक सांस्कृतिक सम्पदा विधेयक’ सम्बन्धी प्रतिवेदन पारित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १६ गते । नाम परिवर्तन गर्नुपर्ने अडानबाट समितिका सदस्य पछाडि हटेपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८२’ सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । समितिका सदस्यले विधेयकको नाममा रहेको ‘अभौतिक’ लाई हटाएर ‘अमूर्त’ राख्न अडान राख्दै आएका थिए । गत माघ २५ गते बैठकले विधेयकसम्बन्धी प्रतिवेदन पारित गर्ने कार्यसूची राखे पनि नाममै सहमति नहुँदा विधेयकको प्रतिवेदन पारित हुन सकेन । 

समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक’ लाई ‘अमूर्त’ शब्दले प्रतिस्थापन गर्दा विधेयकको नाम र मर्मसँग मेल खाने नभएकाले प्रस्तावित नाम नै राखेर प्रतिवेदन पारित गर्न समितिका सदस्य सहमत भएको बताउनुभयो । विधेयकको परिभाषा खण्डमा ‘अभौतिक सांस्कृतिक सम्पदा’ भन्नाले नेपालमा बसोबास गर्ने नेपाली समुदायले आफ्नो सांस्कृतिक सम्पदाको अभिन्न अङ्गका रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका सम्पदाका रूपमा व्याख्या गरिएको छ । समितिका सभापति रोकायले राष्ट्रिय सभाले अल्पमत वा बहुमतमा नगई सर्वसम्मत नै निर्णय गर्ने अभ्यास र परम्परा रहेकाले सोही मर्मबमोजिम प्रतिवेदन सर्वसम्मतले पारित गरेको बताउनुभयो । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केही सदस्यले अभौतिकको स्थानमा ‘अमूर्त’ राख्नुपर्ने अडान राख्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयकमा प्रस्तावित नाम नै राख्नुपर्ने अडान लिएको थियो । विधेयकमा अब अभौतिक शब्द नै रहने भएको छ । 

२०८२ वैशाख ३१ गते राष्ट्रिय सभामा दर्ता भएको विधेयक साउन २७ गते सभामा प्रस्तुत भई माघ १४ गते दफावार छलफलका लागि समितिमा पठाइयो । समितिले करिब तीन महिनापछि विधेयकको प्रतिवेदन पारित गरेको हो । नेपालमा पुस्तौँदेखि बोल्दै, सुन्दै, सुनाउँदै आएको ज्ञान, कथा, गीत, कविता, भनाइ, उखान टुक्का, किंवदन्ती, मौखिक इतिहास, परम्परा वा अभिव्यक्तिलाई सरकारले कानुन बनाएर सूचीकरण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भौतिक सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापनका लागि प्राचीन स्मारक ऐन, २०१३ रहे पनि सो ऐनले अभौतिक सम्पदासम्बन्धी विषयलाई सम्बोधन गरेको छैन । 

विधेयकमा अभौतिक सम्पदाको वर्गीकरण, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन, सम्पदाको स्वामित्व, सम्पदा नाश गर्ने बिग्रने खालका कार्य रोक्ने, सम्पदा संरक्षण कोषसम्बन्धी व्यवस्था गरिएको छ । अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीमा समावेश गर्ने, त्यस्तो सूची अद्यावधिक गर्ने सम्बन्धमा सिफारिस, राय तथा सुझाव पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको संस्कृति महाशाखाका प्रमुख संयोजक रहने गरी सिफारिस समिति रहने छ । समितिले पारित गरेको प्रतिवेदन राष्ट्रिय सभामा पेस हुने छ । राष्ट्रिय सभाले छलफल गरेर समितिको प्रतिवेदनसहितको विधेयक पारित गर्ने छ ।