• १५ असार २०८१, शनिबार

अझै बनेन विपत् कार्ययोजना

blog

अविनाश चौधरी

धनगढी, जेठ २९ गते । सुदूरपश्चिम प्रदेशमा यस वर्षात्मा औसतभन्दा बढी ५५ देखि ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको भए पनि विपत् प्रतिकार्य योजना अझै बन्न सकेको छैन । नेपालमा मनसुन भित्रिएको एक हप्ता भइसकेको छ ।

मनसुन सुरु हुने नियमित समयभन्दा अघिबाटै नेपालमा मनसुन सुरु भएको छ । यो वर्षाले बाढीपहिरोजस्ता समस्या निम्त्याउन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कसमेत गराएको छ । यद्यपि, सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म न विपत् प्रतिकार्य योजना निर्माण गरिएको छ, न त पूर्वतयारी नै । 

यस सम्बन्धमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सम्पर्क राख्दा कार्ययोजना बनाउनका लागि सुरसार गरिएको जानकारी पाइयो । मन्त्रालयका उपसचिवमा विश्वदीप बेस्राको संयोजकत्वमा रहेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना मस्यौदा समितिले मनसुन विपत् प्रतिकार्य योजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । सो समितिमार्फत विभिन्न सरोकारवाला निकायसँग तीनवटा छलफल कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ ।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव बेस्राले भन्नुभयो, “सम्भवतः असार १० गतेसम्म विपत् प्रतिकार्य योजना तयार हुनेछ ।” मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना मस्यौदा समितिका संयोजकसमेत रहनुभएका उपसचिव बेस्राले भन्नुभयो, “विपत् प्रतिकार्य योजनाको मस्यौदा तयार पार्नका लागि काम अगाडि बढाइएको छ । अलिकति ढिलो भए पनि असार १० गतेभित्र कार्य योजना तयार पार्छौं ।”

प्रदेश सरकारले प्रत्येक वर्ष कार्य योजनाको आधारमा पूर्वतयारी, जोखिम न्यूनीकरण, खोज तथा उद्धार, व्यवस्थापनलगायतका कार्य गर्दै आएको छ । कार्य योजना तयार नभए पनि यस वर्ष पनि जोखिम न्यूनीकरण, खोज तथा उद्धारका लागि भएका स्रोतसाधनको यकिन गर्ने र त्यसलाई परिचालन गर्ने सवालमा छलफल भइरहेको जनाइएको छ । 

विपत्को क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, रेड्क्रस, स्थानीय तह, जिल्लास्थित विपत् व्यवस्थापन समितिसँगसमेत छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि विगतझैँ नदी तटीय क्षेत्रमा नै बढी जोखिम हुने जनाएको छ । यस वर्ष मनसुनमा पहाडी केही जिल्लासहित कैलाली, कञ्चनपुरमा औसतभन्दा बढी वर्षा हुने मौसम पर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । 

कञ्चनपुरको दक्षिणी क्षेत्रसहित कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिकामा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान छ । यसैगरी कैलालीकै गोदावरी नगरपालिकाको केही क्षेत्र र जोशीपुर नगरपालिकाको केही क्षेत्रमा भनि औसतभन्दा बढी वर्षा हुने जनाइएको छ ।

औसतभन्दा बढी वर्षा हुने स्थानीय तहहरू कैलालीका सबैभन्दा बढी बाढी, डुबान समस्या हुने पालिकाहरू हुन् । गत वर्ष कात्तिकमा भएको बेमौसमी वर्षाले यो प्रदेशमा ठूलो धनजनको क्षति भएको थियो । सोही वर्ष बर्खामा बाढीपहिरोले पनि धनजनको क्षति गरेको थियो । प्राकृतिक विपत्मा परेर चालू आर्थिक वर्षको हालसम्म प्रदेशभरि ५५ जनाले ज्यान गुमाइसकेका छन् ।  

गतविगतको विपत्बाट शिक्षा लिएर यस वर्ष विपत् न्यूनीकरणका लागि अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव छ । सरकारले पूर्वसूचना प्रणालीलाई मात्रै बलियो बनाएमा धेरै हदसम्म जोखिम कम गर्न सकिने जलवायु र विपत्बारे जानकार डा. धर्मराज उप्रेतीको भनाइ छ । तर, विपत् व्यवस्थापनको सबै चक्रहरूमा काम नगरेसम्म जोखिम कम गर्न समस्या रहिरहने उहाँको बुझाइ छ । 

यसैबीच सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लाको विपत्सम्बन्धी सूचना सङ्कलन र प्रवाहका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ । यो वर्षबाट कार्य सञ्चालन केन्द्रलाई थप व्यवस्थित गर्ने जनाइएको छ ।