• २३ वैशाख २०८१, आइतबार

भूमिहीनको लगत सङ्कलन सुरु

blog

भूमि आयोग बैतडीका पदाधिकारी स्थानीय तहमा पुगेर लगत सङ्कलन गर्दै ।तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता

बैतडी, जेठ २९ गते । भूमि आयोगले बैतडीले भूमिहीनलाई जग्गा वितरण गर्न लगत सङ्लन सुरु गरेको छ । आयोगले लगत सङ्कलन सुरु गरेपछि २०५१ सालमा लालपुर्जा पाएर कित्ता पत्ता नलागेका २२६ सुकुम्बासी जग्गा पाइने भन्दै खुसी भएका छन् । 

सुकुम्बासी समस्या समाधान आयोगले २०५१ सालमा बैतडीमा २२६ परिवार सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको थियो । तर, वितरण गरिएको लालपुर्जाअनुसारको जग्गाको कित्ता कतै भेटिएको थिएन । लालपुर्जा प्राप्त गर्ने भनदेव कलौनीले भन्नुभयो, “लालपुर्जा पाए पनि सोअनुसारको कित्ता भएको जग्गा कतै भेटाउन सकिएन ।”

उहाँले भन्नुभयो, “पहिला पुर्जा पाएर पनि जग्गा पाइएन, अहिले फेरि लगत सङ्कलनले आशा पलाएको छ ।” सरकारले २०५१ सालमा बैतडीका साबिकका पाटन,  भूमेश्वर, सिद्धेश्वर, सिद्धपुर, मेलौली, कुलाउ, पञ्चेश्वर, शर्माली, महाकाली, मल्लादेही, तल्लादेही, कोटपेटरा, न्वादेउ, कुवाकोट, हाट, शिवनाथ, गाँजरी, सित्तड, गोकुलेश्वरलगायत गाउँ विकास समिति छनोट गरी २२६ परिवारलाई प्रतिपरिवार पाँच रोपनी जग्गाको लालपुर्जा वितरण गरेको थियो ।

आयोगका जिल्ला अध्यक्ष धार्मसिंह ऐर (कपिल)ले भूमिसम्बन्धी समस्या सामाधान गर्न स्थानीय तहमा लगत सङ्कलन कार्य सुरु गरिएको बताउनुभयो । अध्यक्ष ऐरका अनुसार पञ्चेश्वरबाट ६४७ जना भूमिहीनको लगत सङ्कलन भएर आएको छ । गाउँपालिकाले प्रमाणित गरेर पठाएका भूमिहीनको लगत भूमि आयोगमा आइपुगेको छ । पहिला लालपुर्जा पाएकाहरूको पनि छानबिन गरेर भूमिको समस्या समाधान गरिने अध्यक्ष ऐरले बताउनुभयो ।

भूमि आयोगको केन्द्रीय कार्यालयलेसमेत लगत सङ्कलनसम्बन्धी ३५ दिने सूचनाका आधारमा अहिले स्थानीय सरकारका प्रमुख उपप्रमुहरूसँग छलफल र समन्वय भइरहेको भूमी आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।