• ४ जेठ २०८१, शुक्रबार

नुवाकोटमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

blog

नमराज सुबेदी
नुवाकोट, जेठ २८ गते ।
नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । पुस्तक पसलहरूमा किताब लिन आउने विद्यार्थीको भीड लाग्ने गरेको छ । विद्यार्थी बीचमा पुस्तक कहिले आउने र गृहकार्य गर्नेबारे पुस्तककै चर्चा छ ।

त्रिशूलीस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयका सहप्रधानाध्यापक राजेन्द्र दवाडीले सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बताउनुभयो ।

सरकारी माध्यमबाट अध्यापन हुने कक्षा १ देखि कक्षा १० सम्मकै पाठ्यपुस्तक अभाव भएको छ । कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक सबै परिवर्तन भएकोले पठनपाठन असहज भइरहेको उहाँले बताउनुभयो ।

पुस्तक नआएका विषयगतका शिक्षकले नै आफै प्रश्नावली तयार गरी पाठ्यपुस्तक अभावकै बीच पठनपाठन थालेका छन् । किताब अभाव भएकाले पाठ्यक्रमअनुसार अध्ययन गराउने र गृहकार्यमा केन्द्रित गरिएको सहप्रधानाध्यापक दवाडीले बताउनुभयो ।

जेठ महिनाभित्रमा सबै कक्षाको बाँकी पुस्तक आउने जानकारी भएको उहाँले बताउनुभएको छ । म्यागङ गाउँकार्यपालिकाको कार्यालयका शिक्षा अधिकृत शेरसिंह रावतका अनुसार सामुदायिक विद्यालयका पुस्तकहरु पूर्णरुपले नआएको जानकारी दिनुभयो ।

पुस्तक किन्नको लागि विद्यालयलाई नै बजेट विनियोजन गरिएता पनि बजारमा पुस्तक अभावले अध्यापनमा समस्या भएको छ ।

प्याबसन नुवाकोटका अध्यक्ष एवम् सोभिनियर बोर्डिंङका प्रधानाध्यापक ताराबहादुर कार्कीले निजी विद्यालयमा अध्यापन गराइने पाठ्यपुस्तकहरु धेरै मात्रमा आइसकेको छ भने केही बाँकी पुस्तक मात्र आउने क्रममै रहेको बताउनुभयो  । व्यवसायीले विद्यालयको विद्यार्थी सङ्ख्या हेरेर पुस्तक मगाउने भएकोले केही असहज हुन गएको उहाँ बताउनुहुँन्छ ।

विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् । किताब आयोकि भनेर पसल चाहार्नुपर्ने बाध्यता रहेको कक्षा ३ मा अध्ययनरत छात्रका अभिभावक पम्फा श्रेष्ठले बताउनुभयो  ।

विदुर वडा नं. ९ हात्तिगौडामा पुस्तक तथा स्टेसनरी पसल सञ्चालन गर्दै आउनुभएका नुवाकोटका द्वितीय उपाध्यक्ष गोकर्ण रोक्काले शैक्षिक सत्र सुरु भइसक्दा पनि सामुदायिक र निजीका पुस्तकहरु सबै नआइसकेको बताउनुभयो । गत सातामात्र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले गर्दा मालसामान ढुवानीकर्ताले पनि ढुवानी शुल्क वृद्धिको विविध माग राखी ढुवानी बन्द गरेको थियो । जसले गर्दा पाठ्यपुस्तक आउन ढिलाइ भएको उहाँको भनाइ छ ।

कतिपय विद्यालयलेनै पुस्तक बिक्री वितरण गरिएको पाइएको छ जसले गर्दा व्यवसायी मर्कामा परेको उहाँले बताउनुभयो । यसअघिका वर्षमा शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो ।