• १४ कात्तिक २०८२, शुक्रबार

गाउँमै विद्यार्थी टिकाउन ‘प्रविधी मैत्री शिक्षा’

blog

सत्यवति गाउँपालिका–८ को भार्से जनसहयोग माविमा कम्प्युटर पढ्दै विद्यार्थी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी)कात्तिक १४ गते ।
हिरक महोत्सव मनाएको सत्यवति गाउँपालिका–८ भार्सेको भार्से जनसहयोग माविमा विद्यार्थी टिकाउन भार्सेलीहरुको ‘प्रविधी मैत्री शिक्षा अभियान’ सार्थक बनेको छ । एउटा शैक्षिक इतिहास बोकेको भार्से जनसहयोग माविका बर्सेनी विद्यार्थीको सङ्ख्या घट्दै गएपछि ‘प्रविधी मैत्री शिक्षा अभियान’ सञ्चालन गरिएको हो । बसाइसराइँले बर्सेनी गाउँहरु खाली हुँदै गएका छन् भने उर्वर खेतबारी बाँझिने अवस्था आएको छ ।

बसाइसराइँको चपेटमा भार्से पनि अछुतो छैन । शिक्षाकै कारण गाउँ छोड्न पर्ने र बालबालिकाहरुसँगै अभिभावकहरु पनि पलायन हुने अवस्थाको न्यूनीकरणका लागि भार्सेलीहरुले ‘प्रविधी मैत्री शिक्षा अभियान’ सञ्चालन गरेका थिए । अभियानबाट नौ लाखभन्दा बढि रकम सहयोग सङ्कलन गरेर प्राविधिक शिक्षा सुरु गरिएको छ ।

अभियानबाट अहिले बिद्यालयमा १९ वटा कम्प्युटर र एउटा कम्प्युटर शिक्षकको व्यावस्थापन गरेर पढाई सञ्चालन गरिएको भार्सेका अगुवा सुजन गलामीले जानकारी दिनुभयो । विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने ४०÷४५ विद्यार्थीहरुलाई दैनिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले छुट्टै कम्प्युटर कक्षाको व्यवस्था गरिएको गलामीले बताउनुभयो । अभियानमा सहयोग गर्ने धेरै परदेशी भार्सेली छन् । गलामीका अनुसार भार्सेबाट काठमाडौँ र तराईमा बसोबास गर्ने भार्सेलीहरुले पनि अभियानमा सहयोग गरिरहेका छन् ।

यो अभियानमा भार्सेली लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकी र सुवेदार मोतिबहादुर थापासहितमा व्यक्तिहरुले नेतृत्व गरेर काम गरिरहनुभएको छ । एउटा कम्प्युटर प्रयोग गर्न तीन/चार जना एकै ठाउँ झुमिनुपर्ने र एसइईपछि कम्प्युटर सिक्न सहर जानु पर्ने बाध्यताको अन्त्य गर्न अभियानबाट सम्भव भएको अभियान्ता बुढाथोकीले बताउनुभयो । उहाँले अभियानलाई सहयोग र सहज बनाउने सवैप्रति आभार प्रकट गर्नुभयो ।

जिल्लाका सवैभन्दा पुराना माविमध्ये भार्से जनसहयोग मावि एक हो । भार्सेमा अनौपचारिक रुपमा बि.स १९८६ मै पढाई हुने गरेपछि औपचारिक रुपमा विसं. २००८ सालमा भार्से जनसहयोग मावि स्थापना भएको थियो । २०१८ सालबाट माद्यामिक बिद्यालयकै रुपमा पठ्नपाठन सुरु गरेको विद्यालयको विकासमा स्थानीय जनश्रमदान, भारतीय सहयोग र भार्सेली समाजसेवीहरुको अथक मेहेनत रहेको छ ।

बसाइसराइँका कारण भार्से जनसहयोग माविलाई विद्यार्थी टिकाउन ठुलो चुनौति रहेको रहेको छ । कुनै समय आठ/नौ सय विद्यार्थीले खचाखच भार्से जनसहयोग माविलाई अहिले सय विद्यार्थी टिकाउन मुस्किल छ । सत्यवति गाउँपालिका–८ को वडा सचिव विद्या भण्डारीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा १९ परिवारका ५५ जना भार्से छोडेर बसाइँ सरेका छन् ।

भार्से जनसहयोग माविका प्रध्यानाध्यापक लोकहरी पाण्डेयका अनुसार गत वर्ष १२० जना विद्यार्थी रहेका थिए । अहिले घटेर १०५ मा झरेको छ । एसइईपछि मात्रै नभएर सानो कक्षामा समेत विद्यार्थी बाहिर जान थालेकाले सङ्ख्याक म हुँदै गएको पाण्डेयले बताउनुभयो । अहिले विद्यालयमा १८ जना शिक्षक तथा कर्मचारी र एक सय २० जना विद्यार्थी रहेका छन् ।

ार्सेलीहरुले अनुकरणीय सामाजिक काम गरिरहेका छन् । उनीहरुले बर्सेनी गाउँमा स्वास्थ्य शिविर, पोखरी, मन्दिर, बौद्ध स्तुपा निर्माणसहित भार्सेको इतिहास गोर्खा र भार्से ग्यालरी निर्माण गरेका छन् । 

लेखक बाट थप