महेश प्रसाईं
प्रा.डा. कुमारप्रसाद कोइरालाले बृहत्, मध्यम, लघु र लघुत्तम गरी काव्यिक विधानतालाई चार भागमा विभाजन गर्नुभएको छ
(‘नेपाली लघुत्तम कविताका शक्ति र सीमा’ मधुपर्क २०७८ माघ) । यी चारमध्ये लघु र लघुत्तमले यसबेला साहित्यिक पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा अत्यन्त महìवका साथ स्थान पाएका छन् । रुवाइ, मुक्तक, सिजो, सेवोका, ताङ्का, हाइकु वा सेन्र्युहरूका अतिरिक्त विसं २०४३ फागुनदेखि प्रारम्भ भएको एलाक होस् वा २०६० सालयता देखिएका ‘केस्रा’, ‘सूत्र’, ‘खोरिया’, ‘टुक्का’, ‘साइनो’, ‘कोपिला’, ‘उदक’, ‘झर’, ‘शीत’, ‘लयात्मक उन्मुक्त’, यी सबै प्रयोगवादी आन्दोलनहरूले नेपाली काव्य धारामा उल्लेखनीय गति लिन थालिसकेका छन् । सोही क्रममा ‘तप्कना’, ‘छेस्का’, ‘तियाली’, ‘गेडी’, ‘दाना’, ‘छोक’, ‘बाछिटा’, ‘क्रिमुक’, ‘खिचडी’, ‘बीज’, ‘झारफुक’, ‘टेकु’, ‘यग्मक’ आदिले पनि सामाजिक सञ्जालका माध्यमबाट पाठक–अध्येतालाई चित्तबुझ्दो स्वाद पस्किसकेका छन् । रुवाइ, मुक्तक, गीत–गजल, ताङ्का, सेवोका, सिजो, हाइकुहरूले प्राचीन समयदेखि नै आफ्नो विश्वव्यापी व्यापकता लिइसकेको तथ्य सर्वविदितै छ ।
कविताको मूर्त आकार ‘लघुत्तम’ होस् वा ‘दीर्घत्तर’, यसको शक्ति र सीमालाई नजरअन्दाज गर्न सकिन्न । बृहत् र मध्यम आकारका काव्य परम्पराका तुलनामा लघुत्तम कविताका उचाइ, गुरुत्वाकर्षण र व्यापकतालाई कम वा सामान्य ढङ्गबाट आकलन गर्न मिल्दैन । यसमा अणुशक्तिभन्दा विशाल ओजस्विता र मन्त्रशक्तिभन्दा अकल्पनीय विराट ऊर्जाशीलता हुन्छ । प्रा.डा. कुमारप्रसाद कोइरालाका अनुसार ‘लघुत्तम कविता सानो, सूक्ष्म, सूत्रात्मक, कलात्मक, गम्भीर र वक्रोक्तिमूलक भएकाले अत्यन्त शक्तिशाली देखिन्छ । यो धारिलो, चोटिलो र मर्मस्पर्शी हुन्छ’, (नेपाली लघुत्तम कविताका शक्ति र सीमा– मधुपर्क २०७८ माघ) ।
प्रयोगवादी काव्यधाराका यी परिप्रेक्ष्यहरूमा हाइजिन दिल पौडेलको हाइकु सङ्ग्रह ‘ऐलानी घाम’ २०७८ ले यसबेला एउटा शक्तिशाली तरङ्ग प्रकट गरेको अनुभव हुन्छ । नेपाली ‘काव्य पारखी, पाठक, अध्येता, हाइकु समाज, सेन्र्युसाधक, सबैले विशेष रुचि र चासोका साथ हेरेका छन्, यो ‘ऐलानी घाम’लाई । ‘ऐलानी घाम’ (२०७८) मा एक हजार ५१५ हाइकु र
‘चिसा अगुल्टा’ शीर्षकीय ५६३ सेन्र्युहरू सङ्ग्रहीत छन् । हाइकु र सेन्र्युको एकमुष्ट सङ्ग्रह हो ‘ऐलानी घाम’ ।
विश्वव्यापी कोभिडको सङ्कट, महाशक्ति राष्ट्रहरूका बीच उत्पन्न शीतयुद्धकालीन सङ्केतहरू, अन्तर्राष्ट्रिय जगत्का गृहयुद्ध, हिंसा, आतङ्क, समाजमा व्याप्त व्यभिचार, विश्वव्यापी आर्थिक मन्दी, पारस्परिक अन्योल, अविश्वास, मानव सभ्यतामा आएको ह्रास, जातिवादी सांस्कृतिक विचलन, वातावरणीय प्रदूषण, भूमण्डलीकरणको चाप, आणविक, शक्तिहरूको होडबाजी, आन्तरिक राजनीतिक व्यवस्थामा देखिएका विकृति र विसङ्गति, मूल्यहीनता र भ्रष्टीकरणतर्फ उन्मुख मुलुकको दयनीय अवस्था र तिनले उब्जाएका नकारात्मक प्रभावहरूका बीच ऊर्जा, उपचारक र प्रेरक शक्तिका अभिकथनहरूले रचनागर्भानिसृत ‘ऐलानी घाम’लाई विशेष वरदानका रूपमा स्वागत गर्नुपर्ने हुन्छ । हाइजिन दिल पौडेलका यी हाइकु र सेन्र्युहरूले नेपाली हाइकु भण्डारमा एक विशिष्ट कीर्तिमानी कायम गरेको छ, जहाँ हाइकु र सेन्र्युका आधारभूत शास्त्रीय सिद्धान्तहरूलाई पनि पालन गरिएको छ । समकालीन हाइकु धारामा दिल पौडेलको ‘ऐलानी घाम’ नै सङ्ख्या र गुणात्मक भारका दृष्टिले उत्कृष्ट कृति हो । ‘काउसो जून’ पछि सार्वजनिक भएको हो ‘ऐलानी घाम’ ।
लघुत्तम कविता विधामध्ये हाइकु र सेन्र्युले विशेष उपस्थिति जनाएका छन् । हाइकु र सेन्र्यु लेखन सरलजस्तो अनुभव भए पनि यसको रचना प्रक्रिया सरल छैन । सूत्रीय संरचनामा आधारित पाँच सात पाँचको विधिलाई मात्र सरल ठह¥याउनु हुँदैन । विम्ब, प्रतीक, अर्थ अलङ्कारको सहजीकरण र व्यङ्ग्य विनोद तथा भावात्मक ओजको सरलीकरणलाई पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।
विज्ञहरूका अनुसार ‘सम्भावनाको खालीपन’लाई भावजगत्को प्राणसञ्चारले भरिपूर्णता भर्ने काम गर्दै आएको हाइकुमा प्रायः ऋतुवर्णन, आकाशगङ्गा चित्रण, धरणीगर्भाजन्य सम्प्रेषणीयता, दैविक (प्राकृतिक) गुण सम्पन्नता विषयक पहिचान, जीवननिसृत अलङ्कृतता, प्राणी जातीय गरिमा, वनस्पतीय श्रेष्ठता आदिका बारेमा स्थापन्न ताìिवक रहस्यहरू उद्घाटन गर्ने उद्यम गरिन्छ । हाइकुकै झझल्कोमा रहेको सेन्र्युचाहिँ समाज बनोटका सन्दर्भहरू, प्रेम–प्रणयानुभूतिका स्फोटहरू र सांस्कृतिक विचलनमा देखापरेका असङ्गतताहरूमाथि गरिने प्रहारहरू कोमल काव्यिक संवेदनाबाट उद्घाटन गरिन्छ । तथापि काव्य व्यवहारहरूका यी हाइकु र सेन्र्यु प्रयुक्तिहरूमा विषयातिरेकीय अववोधन, स्वान्त स्वच्छन्दीय सम्प्रेषणीयता, निर्वैयक्तिक अभिव्यक्तीय ओजस्विता वा स्वाधीन चिन्तनधाराका शक्तिशाली प्रतिफलहरू हासिल गर्न नसकिने होइन । हाइकु वा सेन्र्यु आफैँमा कुलिनतन्त्रता र नवआधुनिकताको फ्युजन हो भन्नुपर्दा कुनै अतिशयोक्ति हुने छैन । दिल पौडेलजस्ता विश्वदृष्टीय चेत भएका कुशल र श्रेष्ठतर हाइजिनहरूले शास्त्रीय सैद्धान्तिकी पालन गर्दै हाइकु–सेन्र्युजन्य विधानतामा शिल्पगत ताìिवक वैशिष्ट्यलाई उपयोग गर्न सकेका अनेक दृष्टान्त छन् । पुष्कर लोहनी, रामकुमार पाँडे, क्षेत्रप्रताप अधिकारी, मोहनबहादुर कायस्थ, मधुसूदन गिरी, मुरारी पराजुली, दीपक सुवेदी, चेतनाथ धमला, विष्णुबहादुर सिंहजस्ता विशिष्ट हाइकु–सेन्र्यु विशेषज्ञहरूका तुलनामा दिल पौडेलले शास्त्रीय सैद्धान्तिकी, तìवविज्ञ खोजकर्ता, मर्यादा र आदर्शपालक निर्वाहमा शास्त्रीय मर्यादा पालन गर्नुका अतिरिक्त हाइकु–सेन्र्युको काव्यवीज पहिल्याउने क्रमअन्तर्गत नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिन्छ । यसको प्रत्यक्ष दृष्टान्त शेलीको विद्रुपीय प्रेक्षणको मानवतावाद, वर्डस्वर्थको प्रकृतिचेतक मानवतावाद सँगसँगै किट्सको इन्द्रीय संवेद्य संस्मृतिलाई ‘ऐलानी घाम’का प्रयुक्तिहरूले प्रस्ट पारेका छन् ।
समकालीन लघुत्तम काव्यधारामा देखिएका धेरैजसो हाइकुकार (हाइजिन ?) हरूका हाइकु वा सेन्र्युहरू सफल र सार्थक चरितार्थ छैनन् । सूत्र र औपचारिकीमा मात्र बाँधिएर प्रस्तुत भएका ती हाइकु वा सेन्र्युहरूले सर्वकालीनता, सार्वजनिनता र सर्वयुगिनताका मापनमाथि विश्वदृष्टि पहिल्याउन नसकेका परिप्रेक्ष्यलाई हेर्दा दिल पौडेल ‘इनोभेटिभ’ बन्नुभएको छ । एक विशेष ‘माइलस्टोन’ पुष्टि हुनुभएको छ ।यसरी ‘ऐलानी घाम’मा विशिष्ट भाषिक प्रयुक्ति, नवीन वैचारिकी उद्घोष, प्राञ्जल शैली र प्रस्तुतिजन्य अत्याधुनिकता, मर्यादाबोधकता, मूल्य र मान्यता स्थापकता, भिन्न भाषिक सामञ्जस्यताजस्ता गुणहरूले युक्त एक विशेष हाइजिनको उदयभित्र रहेको दिल पौडेलको ‘साहसिकता र साधकता’ लाई शब्दपीडा र शब्दक्रीडाको उद्बोधक व्यक्तित्वका कसीमा राखेर परख गरिनुपर्ने हुन्छ । ‘ऐलानी घाम’मा रहेको विश्वभाषाको समन्वयकारिता र आधुनिक एवं उत्तरआधुनिकताका काव्य विम्बहरूका सामञ्जस्यकारितामा चम्किरहेको दिल पौडेलको प्रस्तुत ‘हाइकु सम्पदा’ नेपाली काव्यभण्डारको एक भिन्न परिचय बनेको स्पष्ट हुन्छ ।