• १ जेठ २०८२, बिहिबार

सिटिइभिटीका शैक्षिक कार्यक्रममा प्रवेश परीक्षा नलिइने

blog

काठमाडौँ, जेठ १ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा पढ्न चाहने विद्यार्थीले यसै वर्षदेखि प्रवेश परीक्षा दिन नपर्ने भएको छ । 

यसअघि सिटिइभिटी अन्तर्गतका शैक्षिक कार्यक्रममा भर्ना हुन एसइईको नतिजा आएपछि प्रवेश परीक्षाका लागि फाराम भर्नुपर्ने, फाराम भरेको लामो समयपछि मात्रै प्रवेश परीक्षामा सहभागी भएर नतिजा कुर्नुपर्ने बाध्यता विद्यार्थीमा थियो । नतिजा आएपछि पनि आफूले रोजेको संस्थामा भर्ना हुन विद्यार्थीले थुप्रै समस्या बेहोर्नुपर्ने अवस्था थियो ।  

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतामा हालै बसेको सिटिइभिटी बैठकले भर्नासम्बन्धी निर्देशिका–२०८२ जारी गर्दै प्री डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोटका लागि प्रवेश परीक्षा लिने व्यवस्था खारेज गरेको हो । नयाँ व्यवस्था अनुसार विद्यार्थीले आफूले पढ्न चाहेको शैक्षिक कार्यव्रmम र संस्थाको नाम छनोट गरेर अनलाइन आवेदन फाराम भर्नुपर्ने छ । 

सिटिइभिटी परीक्षा समितिले विद्यार्थीको आवेदनसँगै पेस गरिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्राप्ताङ्कका आधारमा योग्यताक्रम निर्धारण गरेर नतिजा प्रकाशन गर्ने छ । निर्देशिका अनुसार विद्यार्थीको योग्यताक्रम निर्धारण गर्नेक्रममा एसइईको प्राप्ताङ्क साथै सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेको भए एक अङ्क र निजी तथा संस्थागत विद्यालयबाट एसइई उत्तीर्ण गरेको भए थप ०.८५ अङ्क प्रदान गरिने छ । 

यसरी मूल्याङ्कन गर्दा एसइईको अङ्कभार चार जिपिए रहने छ । प्राविधिक शिक्षालयले प्रदान गर्ने विभिन्न प्रकारका छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि पनि यही भर्ना प्रणाली लागु गरिने भर्ना निर्देशिकामा उल्लेख छ । यसअघि विद्यार्थीलाई प्रवेश परीक्षाका नाममा कक्षा १० मा अध्ययन गरिएको गणित, अङ्ग्रेजी तथा विज्ञान विषयलाई आधार मानेर प्रश्न सोध्ने गरिएको थियो । 

तर प्रवेश परीक्षा सञ्चालन हुनुअघि नै प्रश्नपत्र बाहिरिने समस्या व्यापक थियो भने पर्याप्त कोटामा विद्यार्थीले प्रवेश परीक्षै उत्तीर्ण गर्न नसकेपछि शिक्षालयले विद्यार्थी भर्नाका लागि प्राप्त कोटासमेत रिक्त हुने गरेको थियो । भर्ना निर्देशिका जारी भएसँगै अबदेखि प्राविधिक शिक्षालयले विद्यार्थी भर्नाका लागि अनुमति पाएको कोटा अनुसारै विद्यार्थी पाउने छन् भने प्रवेश परीक्षा उत्तीर्ण हुन नसकेकै कारण प्राविधिक विषयको पढाइबाट वञ्चित हुनुपर्ने बाध्यताबाट विद्यार्थीले मुक्ति पाउने छन् । 

तर सिटिइभिटीले शैक्षिक कार्यक्रम अनुसार विद्यार्थीलाई भर्नाका लागि एसइईमा ल्याउनुपर्ने न्यूनतम प्राप्ताङ्क पनि तोकिदिएको छ । शैक्षिक कार्यक्रम अनुसार एसइईको प्राप्ताङ्क पनि फरक फरक निर्धारण गरिएको छ । हाल सिटिइभिटी अन्तर्गत नर्सिङ, फार्मेसी, इन्जिनियरिङलगायत डिप्लोमा, प्री डिप्लोमालगायतका शैक्षिक कार्यक्रम 

सञ्चालनमा छन् । सिटिइभिटीको यो निर्णयले समग्र प्राविधिक विषय पढ्न चाहने विद्यार्थीलाई सजिलो हुने स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मल सापकोटाले बताउनुभयो । “प्रवेश परीक्षा सञ्चालन तथा व्यवस्थापनमा खट्नुपर्ने कर्मचारीलाई अबदेखि शैक्षिक पात्रो कार्यान्वयन र गुणस्तर उकास्नेतर्फ लगाउन सकिन्छ ।”  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।