काठमाडौँ,जेठ १ गते । काठमाडौँको मुटु मानिने वसन्तपुर छेवैको मखनटोलमा बुधबार बिहानै एक घरमा आगलागी भयो । ग्यास चुहिएर लागेको आगोमा परेर सडकमा व्यापार गर्दै आउनुभएकी ६५ वर्षीय विष्णु अधिकारीको निसासिएर ज्यान गयो । अन्य केही वृद्धवृद्धा निसासिएर घाइते भए ।
झुरुप्प बस्ती भएको मखनटोलमा नयाँ पुराना जोडिएका लहरै घर छन् । दयाराम श्रेष्ठको घरमा लागेको आगो छेउछाउका अन्य तीन घरमा पनि सल्किएर क्षतिग्रस्त बनायो । माटो र काठ जडान घरमा श्रेष्ठ परिवार थिएनन् । सबै भाडामा लगाइएका थिए । सानो गल्लीभित्रको घर भएकाले दमकल पुग्न सकेन ।
काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको जुद्ध वारुणयन्त्रका प्रमुख धु्रवबहादुर भुजेलले भन्नुभयो, “हामी बिहान ६ः४० मा चोकमा पुग्यौँ, त्यहाँबाट दमकलको ३० मिटर र थप ५० मिटर पाइप जोडेर निभाउन खोज्दा समय लाग्यो ।” उहाँका अनुसार ह्वारह्वार जलिरहेको आगो निभाउन झन्डै पाँच घण्टा लाग्यो । नजिकै फायर ह्यान्डेड र ड्राइराइजर थिएन । जसले सहजै पानीको पहुँच दिन्थ्यो । गल्लीमा पस्ने साना दमकल पनि थिएनन् । दमकल सुरज आर्केड चोकमै राख्नुपर्ने बाध्यता थियो ।
काठको आगो जति निभाए पनि फेरि सल्कँदा अप्ठ्यारो भएको उहाँले बताउनुभयो । साढे १० बजे निभाइएको आगो फेरि सल्किएपछि निभाउँदा दिउँसोको २ बजेको थियो । काठमाडौँ
महानगर जस्तो घना बस्तीबिचमा आगो लाग्दा निभाउने साना दमकल र पोर्टेबल फायर पम्प अभाव छ ।
काठमाडौँ महानगरले खरिद गर्ने तयारी गरे पनि अझै आइनपुगेको भुजेलले जानकारी दिनुभयो । पोर्टेबल पम्प भइदिए तत्काल आगोका लप्का केही कम गर्न सकिन्थ्यो र अरू घरमा आगो सल्कँदैनथ्यो ।
काठमाडौँ उपत्यकाभरि जोडिएका घर लहरै भएकाले एउटा घरमा कुनै कारणवश आगो लाग्यो भने सिङ्गो बस्ती जोखिममा पर्ने गरेको छ ।
साँघुरा गल्लीभित्र २०७२ सालको भूकम्पले धराप बनाएका घरसमेत अहिलेसम्म नभत्काएर राखिएकाले पनि यस्ता जोखिम थपिँदै गएको भुजेल औँल्याउनुहुन्छ । उहाँका अनुसार महानगरले भत्काउन भन्छ तर घरधनी अटेर गर्छन् । आफू नबसी त्यही घर सस्तो भाडामा दिने र धराप घरबाटै कमाइखाने चलन यहाँ व्याप्त छ ।
घटनालगत्तै महानगरकी उपप्रमुख सुनिता डङ्गोलले स्थलगत जानकारी लिनुभयो । उहाँले ग्यास चुहिएर आगलागी हुनेव्रmम बढेकाले अनुगमन थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।