• ४ जेठ २०८१, शुक्रबार

मोतीबिन्दुको समस्या बढ्दै

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ २७ गते नेपालका पछिल्लो समय आँखामा दृष्टिदोष र मोतीबिन्दुको समस्या बढ्दै गएको पाइएको छ । खस्रेरोगका कारण हुने अन्धोपन निवारणमा नेपालले फड्को मारे पनि दृष्टिदोष, मोतीबिन्दु, जलबिन्दु, अल्छी आँखा, नवजात शिशुमा आँखा पाक्ने रोगलगायत आँखामा लाग्ने चोट पटकबाट आँखाको सुरक्षामा चुनौती बन्दै गएको छ ।

हेटौँडा सामुदायिक आँखा अस्पतालले हेटौँडामा आयोजना गरेको आँखा स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपचारका लागि आउनेमा दृष्टिदोष र मोतीबिन्दुको समस्या भएका बढी सङ्ख्यामा आउने गरेको जानकारी गराइएको थियो ।

अस्पतालका प्रमुख डा. सुनील थकालीले अस्पातलमा दैनिक उपचारका लागि तीन सयभन्दा बढी आउने गरेका र तीमध्ये आधाभन्दा बढी आँखाको दृष्टिदोष र मोतीबिन्दुको समस्या लिएर आउने गरेको जानकारी दिनुभयो । 

दैनिक उपचारका लागि तीन सयभन्दा बढी आउने गरेका र तीमध्ये आधाभन्दा बढी आँखाको दृष्टिदोष र मोतीबिन्दुको समस्या लिएर आउने गरेका छन् । 

उहाँले बढी उमेरका कारण दृष्टिदोषको समस्या आउने भन्दै समयमा उपचार गरेमा मोतीबिन्दुको समस्या समाधान हुने र दृष्टि नगुम्ने बताउनुभयो । ‘५० वर्ष नाघेकाको हकमा मोतीबिन्दुको समस्या सामान्य भए पनि कम उमेरमा मोतीबिन्दु, दृष्टिदोष, डेढो आँखाको समस्या हुँदा समयमा उपचार नभए दृष्टि गुम्न सक्छ,” उहाँले भन्नुभयो । डा. थकालीले पछिल्लो समय मधुमेह र रक्तचापका कारण अन्धोपनको समस्या बढ्दै गएको र नियमित आँखा परीक्षण आवश्यक भएको बताउँदै जलबिन्दु वंशाणुगत रूपमा हुनसक्ने बताउनुभयो । 

उहाँले पछिल्लो सर्वेक्षणअनुसार विश्वमा १० लाख जनामा तीनदेखि ४२ जनासम्म बालबालिकाको आँखा क्यान्सरको समस्या देखिएको भन्दै आँखामा लाग्ने रोग वा चोट पटकको उपचार समयमा नभएमा सधैँका लागि आँखाको ज्योति गुम्ने जोखिम रहने बताउनुभयो ।

हेटौँडा सामुदायिक आँखा अस्पतालबाट मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, चितवनलगायतका जिल्लाका बासिन्दा लाभान्वित हुँदै आएको अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले सामुदायिक विद्यालयका विद्यार्थी र विपन्न समुदायलाई लक्षित गरी निःशुल्क आँखा स्वास्थ्य शिविर र उपचार गर्दै आएको छ ।

सन् २००८ बाट तिलगङ्गा आँखा अस्पतालको शाखाका रूपमा सञ्चालनमा आएको यस सामुदायिक आँखा अस्पताल सुरुको वर्षमा चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी रहेकोमा हाल तीन जना आँखा रोग विशेषज्ञसहित ५२ जनाले सेवा प्रदान गर्दै आएका छन् ।