• २९ वैशाख २०८१, शनिबार

बेहडाबाबा धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो

blog

बेहडाबाबा मन्दिरमा पूजाआजाका लागि लाइन लागेका दर्शनार्थीहरु । तस्बिर सहयोग : लखन चौधरी, विकास रत्गैंया ।

अविनाश चौधरी

धनगढी, जेठ २६ गते । कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको हो । 

धनगढी उपमहानगरपालिका –१६ स्थित रामपुर गाउँमा रहेको बेहडाबाबा मन्दिर नेपाल–भारतका दर्शनार्थीहरुको आस्थाको धरोहरको रुपमा छ । दुवै देशका दर्शनार्थीहरुले बेहडाबाबाको दर्शन गर्दैआएका छन् । गङ्गा दशहराको दिन बिहीबार दिउँसोसम्म मात्रै करिब ४० हजार दर्शनार्थीहरुले बेहडाबाबा मन्दिरको दर्शन गरेको वडा नम्बर १६ का वडाध्यक्ष रामलाल चौधरीले बताउनुभयो । 

‘नेपाल–भारत दुवै देशको दर्शनार्थीहरुको उल्लेख्य रुपमा आउजाउ भइरहेको छ’, उहाँले भन्नुभयो । गङ्गादशहरा मेलालाई व्यवस्थित गर्न र शान्ति, सुरक्षा कायम गर्न मेला क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको उहाँले बताउनुभयो । 

यसैगरी, दर्शनार्थीहरुको सुरक्षाका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । चार दिनसम्म गङ्गादशहरा मेला आयोजना हुने वडाध्यक्ष चौधरीले बताउनुभयो । उहाँले शुक्रबारसम्म दर्शनार्थीको भीडभाड रहने बताउनुभयो । 

बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट भारतीय दर्शनार्थी आउनेगर्छन् । बेहडाबाबा मन्दिरको दर्शन गर्नाले पुत्र, पत्नी, धन प्राप्त हुनेगरेको विश्वास छ । अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण भारतीय तीर्थालुहरु आउन पाएका थिएनन् । यसवर्ष ठूलो सङ्ख्यामा दर्शनार्थीको भीड छ ।  

बेहडाबाबा मन्दिरको गाथा भगवान शिवसँग जोडिएको छ । बेहडाबाबाको दर्शन गरेर मागेको चिज पूरा हुने जनविश्वास रहिआएको छ । भगवान शिवको प्रतीकका रुपमा रहेका नेपालको पशुपतिनाथ र भारतको केदारनाथ जत्तिकै बेहडाबाबाको धार्मिक महत्व रहेको विश्वास गरिन्छ । 


प्रचण्ड गर्मीमा गौरीफन्टा नाकादेखि बेहडाबाबा मन्दिरसम्म प्रायः पैदल हिँडेर भारतीय दर्शनार्थीहरु पुग्नेगरेका छन् । कतिपय दर्शनार्थीले आफ्नो मनोकामना पूरा भएको कुरा साइनबोर्डमा लेखेर बेहडाबाबा मन्दिर आसपास रहेको रुखमा टाँस्ने गरेका छन् । 

किवंदन्तीअनुसार कुनै समय जङ्गलै जङ्गल रहेको हालको बेहडाबाबा मन्दिर क्षेत्रमा गोठ बनाएर भारतीय गोठालाहरुले गाईभैंसी चराउन त्यहाँ बस्थे । बेहडाबाबामा गोठ बनाएर गाईभैंसी चराउने भारतको सिङ्गाहीस्थित कन्हैया अहिर भन्ने गोठालाको गाई ब्याएपछि त्यसले दूध दिनेगरेको थिएन । ब्याएको गाईले हरेक दिन दूध नदिएपछि दिउँसो गाईलाई पछ्याउँदै गएका कन्हैयाले गाईले दूध नदिनुको रहस्य पत्ता लगाउनुभयो ।  

उहाँको गाईले एक ठाउँमा दूध बगाउँदै गरेको दृश्य देखिएको थियो । त्यसपछि तिनै कन्हैयाले गाईले दूध बगाएको ठाउँमा खन्दा शिवलिङ्ग फेला परेको निवर्तमान वडाध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो । यसरी बेहडाबाबा मन्दिरको सम्बन्ध परापूर्वकालदेखि भारतसँग जोडिएकाले पनि भारतीय श्रद्धालुहरु पूजाआजाका लागि यहाँ बढी आउनेगरेको बताइन्छ ।   

https://www.facebook.com/100000456463545/videos/pcb.7840832165941921/1174600146726944