• ४ साउन २०८१, शुक्रबार

कपिलवस्तुको वन क्षेत्रबाट बालुवा तस्करी

blog

कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रबाट बालुवा उत्खनन गर्दा बनेको खाडल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ २६ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका नदी किनारको वन क्षेत्र उत्खनन गरेर बालुवा तस्करी भएको छ । नगरपालिकाको वडा ६ रुधौलाघाट नाकासँग जोडिएको वन क्षेत्रबाट बालुवा तस्करी भएको हो । नदीको सतहमा बालुवा पाउन छाडेपछि वन क्षेत्र आसपासबाट बालुवा निकाल्न थालिएको छ । 

खोलादेखि २ सय मिटर पश्चिमतर्फ रहेको वन क्षेत्रबाट १० फिट गहिरो खाडल बनाई बालुवा निकालिएको छ । बाणगङ्गा नदी अन्तर्गत ठेक्का लगाएको क्षेत्रमा बालुवा सकिएपछि बालुवा लिन वन क्षेत्रभित्र ट्याक्टरको लाइन लाग्नेगरेको छ । करिब ३ बिघा क्षेत्रमा खाडल बनाई बालुवा चोरी भइरहेको छ । 

डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मदन मोहन स्यान्डिल्यले सो क्षेत्रबाट बालुवा चोरी भएको सूचना आएपछि अनुगमन गरिएको बताउनुभयो । सो स्थानबाट बालुवा निकाल्दैगरेको अवस्थामा एक थान ट्याक्टर पक्राउ परेको स्यान्डिल्यले बताउनुभयो । चोरी निकासी नियन्त्रणका लागि नगरपालिका र प्रहरी प्रशासनको समेत चासो नदिएको स्थानीय हरीशचन्द्र खनालले बताउनुभयो ।