• १३ साउन २०८१, आइतबार

अत्यधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजीवन अस्तव्यस्त

blog

गर्मीका कारणसुनसान देखिएको नेपालगञ्ज–सुर्खेत रोड । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, जेठ २६ गते ।
बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।

अत्यधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कनेको सङ्ख्यामा कमी आएको छ । गर्मीका कारण नेपालगञ्ज बजार दिउँसो सुनसान देखिन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरु बाहिर निस्कने गरेका छन् ।

अत्यधिक गर्मी र तातो हावा ‘लु’का कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले जनाएका छन् ।

असह्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालयहरु प्रभावित भएका छन् । गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत् आपूर्तिसमेत अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयवासीको गुनासो छ ।

विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ ।

त्यस्तै, बजारमा फलफूल, उखुको जुस, चिसो पेय पदार्थको बिक्री एक्कासि बढेको छ । पङ्खा, कुलर र एसीको बिक्री पनि बढेको व्यवसायीले जनाएका छन् ।

यसैबीच, अत्यधिक गर्मी र ‘लु’ ले गर्दा विभिन्न प्रकारका सरुवा रोगका बिरामीको चाप पनि बढ्दै गएको यहाँस्थित अस्पतालका चिकित्सकले बताएका छन् ।

भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा बिरामीको चाप बढ्दै गएको छ । ‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानीलाई उमालेर वा फिल्टर गरेर मात्र खान चिकित्सकहरुले सुझाव दिएका छन् ।

दैनिक प्रयोग गर्ने सामग्रीहरु सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले धुनुका साथै अत्यावश्यक कामबाहेर दिउँसोको समयमा बाहिर ननिस्कन चिकित्सकहरुले सुझाएका छन् ।