• १३ साउन २०८१, आइतबार

मलामी गएका दुई युवकको राप्तीनदीमा डुबेर मृत्यु

blog

राप्तीनदीबाट युवकहरुको शव निकाल्दै प्रहरी । तस्बिर: सिराज खान

नेपालगञ्ज, जेठ २६ गते । बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ । 

बुधवार मलामी गएको बेला राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकोमा बिहीबार बिहान प्रहरीले उनिहरुको शव नदीमा फेला पारेको छ । बुधबार दिउँसो करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुलको तल नदीमा नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ वर्षीय त्रिबल शाही र २१ वर्षका लेखराज छत्याल पुल नजिकै नदीमा डुबेर बेपत्ता भएका थिए ।

नुहाउने क्रममा ती दुई युवक पौडी खेल्न नआएका कारण डुबेर बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । हुम्ला घर भई अध्ययन गर्ने सिलसिलामा नेपालगञ्ज २ धम्बोझीमा कोठा लिएर बस्दै आएका उनीहरु मलामी गएको बेला नुहाउन खोज्दा डुबेको बाँकेका प्रहरी प्रवक्ता मधुसूदन न्यौपानेले बताउनुभयो ।  

साँझ अबेरसम्म घर नआएपछि राप्ती नदीमा खोजतलास गर्ने क्रममा नदीको छेउमा उनीहरुले लगाएको कपडा र मोबाइल फेला परेपछि उनीहरु नदीमा डुबेको आशङ्का गरिएको उहाँले बताउनुभयो । प्रवक्ता न्यौपानेका अनुसार रातीसम्म उनीहरुको खोजी गर्दा फेला नपरेपछि बिहीबार बिहान पुनः नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास गर्दा उनीहरुको शव फेला पारेको हो ।

 प्रहरीका अनुसार मृतक युवकहरु नेपालगञ्ज १ स्थित धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका थिए । दुवैको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

Author

सिराज खान