• २५ वैशाख २०८२, बिहिबार

गन्तव्य कुन रोज्यौँ, हिँड्यौँ कति ?

blog

पछिल्लो समय नेपाली राजनीतिको डिस्कोर्सलाई एउटा भेल जस्तै आएको पुरातन विचारले बराल्दै लगेको छ । समाजमा जबरजस्त गणतन्त्र र राजतन्त्रको कृत्रिम बहस सिर्जना गर्न खोजिएको छ । अचम्म के छ भने इतिहास गजबको थियो र वर्तमान घोर निराशाजनक छ भन्ने भूतप्रेमी आत्मघाती प्रचारको प्रभावमा नयाँ पुस्तासमेत फसेको छ । यसको अन्तर्यमा वर्तमान राजनीतिक नेतृत्वप्रतिको असन्तोष मुख्य कारण रहे पनि बहस एक पटक गलत मूल्यको पछि लाग्न थालेपछि त्यसले भित्रभित्रै समाजको सांस्कृतिक चेतलाई किराले झैँ खाँदै जान्छ र समाज मक्किन्छ । सम्भवतः यही कुरालाई ध्यान दिएर होला गोरखापत्रको फिचर पेजका पत्रकारले मलाई यसबारे आफ्नो धारणा लेख्न उक्साउँदै फोन गरेका थिए । यहाँ म चल्तीका प्रश्न या चल्तीका उत्तरहरूभन्दा भिन्न केही सन्दर्भ उल्लेख गर्दै आज नेपालले प्राप्त गरेको उचाइ के हो, कति हो भन्ने विषयमा पाठकहरूसँग संवाद गर्ने प्रयास गर्दै छु ।

हामीले खोजेको गन्तव्य

हामीले खोजेको के हो भन्ने कुरा प्रस्ट भएपछि मात्रै के प्राप्त भयो र के बाँकी छ भन्ने प्रश्नको जवाफ पाउन सहज होला । त्यसपछि मात्र यस्तो लक्ष्यप्राप्तिमा कसले सहयोग गरे, कसले बाधा पु¥याए भनेर बहस गर्न सहज होला । 

आजको मान्छे, त्यो जहाँसुकै र जुनसुकै कुनामा रहेको होस्; उसलाई निर्देशित गर्ने दुई वटा विशिष्ट तत्व छन् : स्वतन्त्रता र सुविधा । आफ्ना व्यक्तिगत मामिलामा राज्य, समाज, धर्म, जात, देश वा परम्परागत मूल्य प्रणालीको नियन्त्रणबाट मान्छे स्वतन्त्रता खोजिरहेको छ । कुन विधा रोजेर पढ्ने, कस्तो रोजगारी गर्ने वा कस्तो पेसा अपनाउने, कुन देश र क्षेत्रमा बसोबास गर्ने, कोसँग प्रेम र विवाह गर्ने, कति सन्तान जन्माउने, एउटैसँग जीवन बिताउन सम्झौता गर्ने या मन नमिलेपछि छुट्टिने, कस्तो सरकार मन पराउने, कस्तो पार्टी र नेतालाई मत दिने, कहाँ घुम्ने, कस्तो लुगा लगाउने जस्ता कुरा आफैँ निर्णय गर्न पाउँछ कि अरू पक्षले बाधा पु¥याउँछन् र सम्झौता गर्नु पर्छ भन्ने कुराले मानिस स्वतन्त्र छ कि छैन भन्ने कुराको मापन गर्छ । के तपाईंले इच्छा अनुसार शिक्षा हासिल गर्न पाउनुभएको छ ? के आफ्नो इच्छा अनुसार कला सिर्जना गर्न, सङ्गीत वा खेलकुदमा सहभागी हुन, हिमाल चढ्न या अरू ठाउँ घुम्न अथवा देशभित्र बाहिर चाहेको ठाउँमा बसाइँ सर्न पाउनुभएको छ ? 

अहिलेको मानिसले यो स्वतन्त्रताको उपाभोग गर्न सकेको छ कि छैन भन्ने कुराले हामी कहाँ छौँ भन्ने निर्धारण गर्छ । के हामी एक सय, ५० वा ३० वर्ष पहिलेभन्दा अहिले यस्तो स्वतन्त्रताको उपभोग गर्न सक्षम छौँ ? या यसभन्दा अगाडि यस्तो स्वतन्त्रता थियो, अहिले यो अवस्था सङ्कुचित भएको छ ? के संसद् वा सरकारी तथा सार्वजनिक क्षेत्रमा तपाईंको प्रतिनिधित्व सही ढङ्गले भएको तपाईंले अनुभूत गर्नुभएको छ ? कि त्यसले मानिसलाई थप बन्धनतिर लगेको छ ? के हाम्रो संविधान, राज्य प्रणाली, प्रशासन, कानुन र न्याय प्रणाली, विद्यालय, परिवार, आफन्तको गोलो, समाज र देशले मानिसलाई यस्तो स्वतन्त्रताको प्रत्याभूति गरेको छ ? एक सय वर्ष या ५० वर्षअगाडि यस्तो स्वतन्त्रताको तह कस्तो थियो र अहिले कस्तो छ ? के स्वतन्त्रतालाई तपाईं बसोबास गरेको भूगोल, तपार्इंको जात या लैङ्गिकता, तपाईंले अपनाएको धर्म, तपार्इंको वर्गीय हैसियत, तपार्इंको पढाइको स्तर, तपाईंको राजनीतिक या शक्ति केन्द्रमा पहुँच जस्ता कुराले खुम्च्याएका छन् ? या तपाईं बाँचिरहेको समाजमा कसैले यस्तो स्वतन्त्रता अलि बढी उपभोग गरेको र कसैले यस्तो स्वतन्त्रता पनि समाजको शक्ति सम्बन्धका कारणले कम उपभोग गर्न पाएको या वञ्चितीकरणमा परेको अवस्था छ ? यी प्रश्नको जवाफ नै हामीले गर्ने बहसलाई निश्चित निष्कर्षमा पु¥याउने उपाय हो ।

आजको मानिसले खोजेको अर्को कुरा चाहिँ उच्च गुणस्तरको जीवन हो । सबैको चाहना हुन्छ, आफूले प्रत्यक्ष देखेका वा सञ्चारका माध्यमबाट सुने बुझेको उच्चस्तरीय जीवनस्तर अनुसार आफूले पनि जीवन बिताउन पाइयोस् । तपाईंलाई कुनै विकसित र धनी देश र समाजको कुनै व्यक्तिले उपभोग गर्ने अत्याधुनिक जीवनशैली र सुविधा उपभोग गर्ने अधिकार छ । घर आरामदायी होस् । चिसो तातोले दुःख नदेओस् । लामखुट्टेबाट डराई डराई सुत्नु नपरोस् । तातो र ताजा खाना कम्तीमा दुई छाक सहजै उपलब्ध होस् । सञ्चारका साधनहरू टिभी र सेलफोन होस् । परिवारका सदस्यलाई अलग अलग रूपमा ऐकान्तिकता कायम गर्न मिल्ने या गोपनीयता कायम हुने कोठाहरू होऊन् । बालबालिका हुर्काउन सहज होस् । सवारीसाधनमा पहुँच होस् । पैसा तिरितिरी विषादी हालेको र रोगी बासी खानेकुरा खान नपरोस् । बाहिर हिँड्दा समाज सुहाउँदो कपडा जुत्ता लगाउन सकियोस् । साथीभाइ आफन्त जम्मा भएर कहिलेकहीँ रमाइलो गर्न पुगोस् । कम्तीमा छ महिना वर्ष दिनमा एक पटक यसो घुमघाममा निस्कन सकियोस् । बालबालिकाको पढाइ स्तरीय विद्यालयमा होस् । उपचार गर्न नसकेर दुःख नपाइयोस् । राज्यका ऐन कानुन र नीतिहरू सबैलाई समान रूपमा लागु हुन्छन् कि प्रशासनले तजबिज अनुसार लागु गर्छ ? कानुनको शासन छ कि छैन, विधिको शासन छ कि छैन, तपाईं र अरू कुनै पद या प्रतिष्ठावाला व्यक्तिबिच, महिला र पुरुषबिच, पति र पत्नीबिच शक्ति सम्बन्धहरूले तपाईंको स्वतन्त्रता र व्यक्तित्व विकासमा बाधा पारेका छन् कि छैनन् ? यी पनि जीवनका सुख र स्वतन्त्रताका हिस्सा हुन, गुणस्तरीय जीवनका हिस्सा हुन् । पिउने पानी, यात्रा गर्ने सडक, उपचार गर्ने अस्पताल, पढ्ने विद्यालय, काम गर्ने थलो गुणस्तरीय छ कि छैन ? सार्वजनिक यातायात, पार्क, खेलकुद स्टेडियम, सिनेमाघर कत्तिको सहज उपलब्ध छन् ? बजारमा सामान किन्दा मूल्य र गुणस्तरमा ठगी हुन्छ कि हुन्न ? छिमेकले तपार्इंलाई डिस्टर्ब हुने गरी हल्लाखल्ला गर्छन् कि गर्दैनन्, महिलाहरू रात विरात या जहाँ जान मन लाग्छ त्यहाँ जाँदा असुरक्षित ठान्छन् कि सुरक्षित, चोरी ठगीबाट दिक्क हुनु परेको छ कि छैन, घुस कत्तिको चल्छ जस्ता सबै कुरा मानिसले खोजेको गुणस्तरीय जीवनका सूचकहरू हुन् । 

यसमा नराम्रा भन्दा राम्रा पक्ष बढी छन् भने आमगृहस्थले, आममानिसले खोज्ने सुख यही हो । के तपार्इंका यी चाहना ५० वर्षपहिलेभन्दा अहिले सहज छन् ? या थप मुस्किल भएको छ ? तपाईंको लाउने खाने कुरा, तपाईंको कमाइ, तपार्ईंको बसाइ पहिलेभन्दा सुविधायुक्त छ कि अहिले झन् कष्टप्रद भएको छ ? सिधा सिधा भन्दा नेपाली राजनीतिमा विगत एक सय वर्षको विभिन्न कालखण्डको तुलना गर्नोस्, पहिले हामी कहाँ थियौँ ? अहिले कहाँ छौँ ? एक सय वर्ष, ५० वर्ष, २५ वर्ष र अहिलेको तुलना गर्दा, बाजेले, बाबुआमाले र अहिले तपाईं अनि तपार्इंका सन्तानले उपभोग गर्ने सुविधाको तुलना गरी हेर्नूस् । के पायौँ, के गुमायौँ त ? यसैबाट हामी कता थियौँ, कहाँ पुग्यौँ भन्ने उत्तर निस्कन्छ ।

कहाँ पुग्यौँ ?

म कसैलाई पनि आजको अवस्थाप्रति सन्तुष्ट हुनोस् भन्न सक्दिनँ । म नै सन्तुष्ट छैन, अरूलाई के भन्ने ? तर प्रस्ट छ, म हुर्केको समय र अहिलेको समयकाबिच मानिसको जीवनमा अजङका सकारात्मक परिवर्तनहरू आएको मैले देखेको छु, भोगेकोे छु । मेरो बुझाइ पनि यत्ति हो यो पर्याप्त हुँदै होइन । हामी योभन्दा राम्रो गर्न सक्थ्यौँ । राम्रो गुणस्तरको जीवन बिताउन सक्थ्यौँ । 

आज समाजमा जे जति असन्तोष छ, त्यो यही ‘हुन सक्ने’ र वास्तवमा ‘भएको’ उन्नतिका बिचको खाडलले सिर्जना गरेको हो । मान्छेहरू पुरानो समय पो राम्रो थियो कि भन्ने जुन प्रचार गर्दै छन्, त्यो वास्तवमा विचारधारात्मक र कल्चरल मेनुपुलेसनको प्रभावबाहेक केही होइन । निराश भएका मान्छे आत्महत्या गर्छन्, निराश भएको समाज पनि यस्तै उल्टो विचारबाट प्रभावित हुन्छ र आत्महत्याका लागि लालायित हुन्छ । यता नेपालमा केही समयदेखि सडक र सञ्जालमा जसरी पुरातन कट्टरता देखा परेको छ, त्यसले यही आत्महत्याको प्रवृत्तितिर सङ्केत गर्छ । वीरगन्जमा लागेको कफ्र्युको कारण खोतल्दा पनि र तीनकुनेमा भएको विध्वंशको जरो खोतल्दा पनि त्यही आत्महत्या उन्मुख प्रवृत्ति देखा पर्छन् । अब हामीले २०४७ सालयता के प्राप्त गर्न सक्यौँ भन्ने विषयमा थोरै माथिका दुवै पक्षबाट एउटा पर्यवेक्षकीय टिप्पणीमा केन्द्रित बनेर छलफल गरी हेरौँ । पहिलो हो, स्वतन्त्रताको खोजीको सन्दर्भ; यस पक्षबाट हेर्दा हामीले यो ३० वर्षमा अभूतपूर्व रूपमा फड्को मारेका छौँ । परम्परागत निर्वाहमुखी अर्थतन्त्रले धान्न छाडेर मानिस गाउँबाट सहर र सहरबाट विश्वका अनेक महानगरमा ओइरिँदै गएका छन् । श्रम आप्रवासनदेखि विकसित देशमा स्थायी बसोबासका लागि जाने क्रम बढ्दो छ । कमाइ गरेर आफ्नो परिवार र व्यक्तिगत जीवनमा स्वतन्त्रता र खुसी खोज्न मान्छे १० औँ वर्ष विकसित देशमा अवैध रूपमा बसेको छ, वैध हुन सङ्घर्ष गरेको छ र बिस्तारै उतै आफ्नो परिवार सिफ्ट गरेको छ । कमाइ गर्न जानेहरू कमाएर फर्केका छन्, सन्तानलाई राम्रो शिक्षा दिएका छन्, नगर या उपनगरतिर घरघडेरी जोडेका छन् । पहिलेभन्दा राम्रो लगाएका छन् । देश र समाजसापेक्ष इज्जतिलो जीवन बिताएका छन् । यही पक्ष विकसित हुँदै जाँदा केटाकेटीको बिहेको उमेर बढ्दै गएको छ । आफैँले आफ्ना लागि जीवनसाथी रोज्ने क्रम ह्वात्तै बढेको छ । अब त प्रेम नगरी अर्काले जुराइदिएको बिहे गर्नेको सङ्ख्या निकै घटेको छ । चित्त नबुझ्दा अलगिएर बस्नेको सङ्ख्या बढेको छ । आफ्नो कुल र परम्पराभन्दा बाहिर निस्केर आफ्ना लागि पतिपत्नी छनोट गर्नेको सङ्ख्या बढेको छ । महिला घरको चौघेराबाट बाहिर निस्केका मात्र छैनन्, आफ्नो जीवन आफ्नै कमाइमा धानिनु पर्छ भन्दै बिदेसिएका छन्, कमाएका छन्, आत्मनिर्भर र स्वतन्त्र भएका छन् ।

राजनीतिक रूपमा पहिलेभन्दा अहिले विविधितापूर्ण प्रतिनिधित्व सुनिश्चित भएको छ । आफ्नो प्रतिनिधि छनोटका लागि अनेक विकल्पहरू उपलब्ध छन् । समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि भएका व्यवस्थाका कारण निजामती, सेना र प्रहरीमा समेत महिला, विभिन्न जाति र समुदायको प्रतिनिधित्व ह्वात्तै बढेको छ । पुराना बन्धनहरू चुँडिएका छन् । समाजमा र मानिसको व्यक्तिगत जीवनमा अब मुखिया र प्रधानको, साहु र महाजनको, पण्डित र पुजारीहरूको, पुरुष र सामाजिक सोपानमा माथि रहेका कथित जातिको नियन्त्रण र दमन खुकुलिँदै र कमजोर हुँदै गएको छ । यसले हरेक व्यक्तिलाई एउटा स्वतन्त्र नागरिकका रूपमा विकास हुन सहयोग गरेको छ । आफ्ना मनमा लागेका कुरा भन्न हरेक मान्छेले अवसर पाएको छ । वर्ग विभेद र कतिपय सन्दर्भमा जातीय उँचनिच र विभेद अझै विद्यमान नभएको होइन तर यसको शक्ति बिस्तारै ह्रास हुँदै गएको छ । समाजको ज्ञान र धनमाथि निश्चित समूहको एकाधिकार तोडिएको छ । काठमाडौँको कीर्तिपुरमा जन्मेको र जुम्लामा जन्मेको उही उमेर समूहको युवा अहिले उस्तै काम गर्न खाडी पुगेको होला या उच्च शिक्षा पढ्न युरोप अमेरिका या भारत र चीन पुगेको होला । पण्डितको सन्तान र दलित परिवारको सन्तान अहिले सँगै कतारको निर्माण क्षेत्रमा पसिना बगाउँदै छन् या विश्वका उच्चस्तरका विश्वविद्यालयमा अध्ययन गर्दै छन्, समाजका विभिन्न क्षेत्रको नेतृत्वमा सँगसँगै पुगेका छन् । 

दलित र गरिब परिवारमा जन्मे हुर्केर अहिले सामाजिक जीवनका सबै क्षेत्रमा प्रतिस्पर्धा गर्दै संरचनागत विभेदसँग जुध्दै र प्रतिरोध गर्दै अगाडि बढिरहेको विशाल पङ्क्ति तयार भएको छ । मधेशी र जनजातिमाथिको पहिलेको संरचनात्मक विभेदको मात्रा ओर्लंदै ओर्लंदै गएको छ । यो परिवर्तनले मानिसको स्वतन्त्रताको आकाङ्क्षालाई सहयोग गरेको छ र सँगै गुणस्तरीय जीवन बिताउन पाउने अधिकारको सम्मान गर्दै लगेको छ ।

यस्तो अवस्था ५० वर्षपहिले कल्पना गर्न नै असम्भव थियो । खोजे जति नभएको अवश्य हो । राजनीतिक नेतृत्वको असक्षमता र अदूरदर्शिताका कारण बढेको भ्रष्टाचारले देशले अपेक्षित उन्नति हासिल गर्न नसकेको पनि हो तर अहिले जुम्लाको कुनै बजार र लमजुङ या धनकुटाको बजारका मानिसको जीवनशैली, उनीहरूले उपभोग गर्ने वस्तु तथा सेवा, उनीहरूले उपभोग गर्ने सार्वजनिक सेवाको गुणस्तरमा आधारभूत भिन्नता छैन । सडक सञ्जाल पुगेको छ । उपभोगका सामान पुगेका छन् । सञ्चारले फड्को हानेको छ । यो अवस्था २० वर्षपहिले कल्पनातीत थियो । हामी हुर्कंदै गर्दा अनिकालले सताइएका भोका मान्छेहरूको जुन दयनीय अवस्था देखिन्थ्यो, त्यो अहिले कतै दृष्टिगोचर हुँदैन । मान्छेले जे जस्तो चिथ्रा थोत्रा कपडामा इज्जत ढाकेको देखिन्थ्यो, त्यो पनि अब सम्झनामा मात्र बाँकी छ । 

यद्यपि अझै पनि हाम्रो २० प्रतिशत हाराहारी जनसङ्ख्या गरिबीमा छ तर गरिबको तुलनामा आम रूपमा मध्यम तथा निम्नमध्यम वर्ग नै अहिलेको नेपाली समाजको मुख्य हिस्सा हो, शक्ति हो । यो परिवर्तनलाई अनदेखा गर्दै गयो भने केही पनि उपलब्धि देखिने छैन । 

परिवर्तन मात्र स्थायी हो 

अहिलेको नेतृत्वसँग, अहिले चलिरहेको प्रणालीसँग हाम्रा असन्तुष्टिहरू छन् । सँगै सुधार गर्न सकिने, बदलिन सकिने क्षेत्र हुन् यी । अहिलेका नेता पाँच/सात वर्षमा भूमिकाविहीन हुने छन् र नयाँ आउने छन् । अहिले नेतृत्व गरेका दललाई हराएर अर्को शक्ति आउने छ । नयाँ कानुनी सुधार हुने छन् । अहिले ठुलो देखिएको समस्या समाधान हुने छ । हाम्रा आकाङ्क्षालाई तगारो हाल्ने क्षमता न अहिलेको नेतृत्वसँग छ न समयसँग छ । सबै बन्धन तोडेर स्वतन्त्र हुने मानिसको आकाङ्क्षाले अहिलेको गतिरोधको प्रतिरोध गर्ने छ । निरन्तर रूपमा अवनतिबाट उन्नतितिर, दुःखबाट सुखतिर, पुरानो प्रविधिबाट नयाँ प्रविधितिर, पुरानो संस्कृतिबाट नयाँ संस्कृतितिर र उन्मुक्तितिर मानिसको यात्रा जारी रहने छ । जसले यसमा बाँध हाल्न छेक्न खोज्छ, त्यसलाई भत्काएर तोडेर मान्छे अगाडि बढ्ने नै छ । जसरी हामीले २००७ साल, २०३६ साल, २०४६ साल, २०६३ साल र २०६५ सालमा इतिहासका यी बाँधहरू भत्काएका थियौँ र आफूलाई क्रमशः स्वतन्त्र बनाएका थियौँ । नयाँ पुस्ताले आफ्नो यात्रालाई रोक्न खोज्ने बाँध होस् या पहाड भत्काएर अघि बढ्ने छ ।  जसले यो बाटोबाट मान्छेलाई पछि फर्काउन खोज्छ, त्यसलाई त इतिहासको भेलले बौरेठो बनाएर मिल्काउने छ । हाम्रो गन्तव्यको रोजाइ स्वतन्त्र नागरिक र उन्नत जीवन हो, हामी त्यसको प्राप्तिमा अगाडि बढिरहेका छौँ तर लक्ष्य भेटिएको छैन । यो यात्रा निरन्तर जारी रहने छ ।

  

Author

झलक सुवेदी